१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ भदौ २६ बिहीबार ०७:१९:००
Read Time : > 1 मिनेट
अर्थ

अन्नपूर्ण पदमार्गका होटेल व्यवसाय संकटमा

Read Time : > 1 मिनेट
२०७६ भदौ २६ बिहीबार ०७:१९:००

बेँसीसहर–चामे सडक बनेपछि यस क्षेत्रमा वर्षौंदेखि सञ्चालनमा रहेका होटेल, व्यवसायको अभावमा बन्द हुने अवस्थामा

अन्नपूर्ण चक्रीय पदमार्ग विश्वकै उत्कृष्ट पदमार्गमा पर्ने नाम हो । तर, यही पदमार्गमा जताततै कच्ची सडक निर्माण हुँदा अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रा छोटिँदै गएको छ । बेसीसहरदेखि हिमाली जिल्ला मनाङको चामेसम्म सीधै मोटर सञ्चालन भएपछि पदमार्गमा सञ्चालनमा आएका होटेल व्यवसाय संकटमा परेका छन् । 

मर्स्याङ्दी गाउँपालिका–६ बाहुनडाँडाका दिनेश घिमिरेले गाउँमै २५ वर्षदेखि होटेल माउन्टेन भ्यु सञ्चालन गर्दै आएका छन् । अन्नपूर्ण पदमार्गमा पर्ने उनको होटेलमा ८ वर्षअघिसम्म पर्यटकको चहलपहल निकै थियो, तर अहिले उनको होटेलमा पर्यटक कम मात्रामा आउने गर्छन् । पहिले उनका होटेलमा वास बसेर यात्रा गर्ने पर्यटक यतिवेला सीधै जिपबाट मनाङ पुग्ने गर्दछन् ।

नौ लाखको आम्दानी एक लाखमा झर्‍यो
२० वर्षदेखि बाहुनडाँडामै होटेल सुपरभ्यु सञ्चालन गर्दै आएकी पारु कतिला पनि होटेल चलाउने कि नचलाउने भन्ने दोधारमा छिन् । ७ वर्षअघि पर्यटक अट्न नसक्ने उनको होटेलमा अहिले दैनिक २–३ जना मात्र पर्यटक आउँछन् । सिजनको समयमा एकै सिजनमा ९ लाख रुपैयाँसम्म कमाउने उनको होटेलमा अहिले वर्षमा १ लाख कमाउन मुस्किल छ । उनी भन्छिन्, ‘पहिले र अहिलेको व्यवसायलाई दाँज्नै मिल्दैन ।’ उनी मात्र होइन, मस्र्याङ्दी गाउँपालिका–४ ताघ्रिङ घट्टेघोलास्थित होटेल वाटरफल भ्युका सञ्चालक आशबहादुर विकका अनुसार सिजनकै समयमा पनि पर्यटक होटेलमा नबसी जिपमा सीधै चामे मनाङ जान्छन् । पहिले पहिले दिनमै चार सयसम्म पर्यटक आउँथे । अहिले पर्यटक आउन छाडेपछि व्यवसाय नै सुक्यो । होटेल सञ्चालन गरेकाले व्यवसाय छोडेका छन् । ‘अब आफूले पनि छोड्नुपर्ने बाध्यता आयो,’ उनले भने । 

मर्स्याङ्दी गाउँपालिका–५ घेर्मु थानीगाउँका होटेल पिसफुलका सञ्चालक दीर्घ गुरुङ पनि व्यवसाय गर्ने कि नगर्ने दोधारमा छन् । उनको होटेलमा केही वर्षअघि सिजनका वेला होटेलमा पर्यटक अट्ने ठाउँ हुन्नथ्यो । ‘अफसिजनमा पनि १०–१२ जना दैनिक हुन्थे, अहिले पर्यटक आउन छाडे,’ उनले भने । अन्नपूर्ण पदमार्गमा आउने पर्यटक पहिले खुदी, भुलभुले, ङादी र बाहुनडाँडामा बस्थे । घेर्मु, ताघ्रिङ हुँदै पर्यटक पदमार्गको अर्को गन्तव्य मनाङ जाने थिए । अहिले पदमार्गमा सडक बनेपछि व्यवसाय संकटमा परेको होटेल व्यवसायीको भनाइ छ । 

मोटरबाटो बनेपछि आफ्ना क्षेत्रमा आउने पर्यटकको संख्यामा ७० प्रतिशतले कमी आएको मस्र्याङ्दी गाउँपालिका–४ स्यागेस्थित होटेल वाटरफलका सञ्चालक नरबहादुर गुरुङले बताए । उनले भने, ‘पदमार्गमा सडक नबन्दा पाँच दिनमा पर्यटक मनाङको चामे पुग्थे, अहिले काठमाडाैं अथवा पोखराबाट आएका पर्यटक एकै दिनमा चामे पुग्ने गरेका छन् ।’ 

अन्नपूर्ण पदमार्ग संकटमा
होटेल व्यवसायी नरबहादुर गुरुङका अनुसार बेसीसहरदेखि मनाङ, मुस्ताङ, म्याग्दी हुँदै पोखरा पुगेर टुंगिने २१ दिने चक्रीय अन्नपूर्ण पदमार्ग यतिवेला संकटमा परेको छ । अहिले चक्रीय अन्नपूर्ण पदमार्ग, पर्यटकले एक सातादेखि १० दिनसम्म सजिलै पार गर्न सक्छन् । म्याग्दीदेखि मुस्ताङको मुक्तिनाथसम्म सडक निर्माण भइसकेको छ । चक्रीय पदमार्ग संकटमा परेपछि वैकल्पिक पदमार्ग निर्माणका लागि होटेल व्यवसायी जुटेका छन् । बेसीसहरदेखि ६५ किलोमिटरको चामे र चामेदेखि २५ किलोमिटरको मनाङ र ३१ किलोमिटरको खाङसरसम्म दैनिक जिप पुग्नेछ । मनाङलाई सडक सञ्जालमा जोड्न नेपाली सेनाले ५ वर्षअघि बेसीसहर–चामे सडकको ६५ किलोमिटर ट्रयाक खोलेको हो । 

ट्र्याक खोलेदेखि नै यस रुटमा दैनिक जिप सञ्चालन हुँदै आएको छ । पहिले–पहिले पर्यटक पैदल यात्रा गर्ने हुँदा होटेलमा वास बस्थे भने अहिले जिपमा एकै दिनमा मनाङको चामे पुग्ने हुँदा होटेलमा पर्यटक पुग्दैनन् । यसको सोझो असर बर्षौंदेखि होटेल चलाएर बसेकामाथि परेको हो । त्यसैले यस क्षेत्रका होटेल सिजनमा समेत सुक्खा हुने गरेका हुन् ।