मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २६ बिहीबार ०८:०१:००
Read Time : > 1 मिनेट
सम्पादकीय

महामारीमा मुनाफा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २६ बिहीबार ०८:०१:००

देश डेंगुको महामारीमा छ । देशमा सरकार भएको छनक भने आमनागरिकले खासै अनुभूति गर्न पाएका छैनन् । जनताले यस्तो भय सिर्जना गराइरहेको रोगको उपचारमा स्वास्थ्य मन्त्रालयको सीधा साथ पाएका छैनन् । सरकारले केही गर्दै गरेन भन्नेचाहिँ होइन, कतिपय प्रभावित क्षेत्रमा लामखुट्टे नियन्त्रणका लागि औषधि छर्ने, चेतनामूलक सूचनाचाहिँ जारी गरेकै हो । तर, रोगले जसरी झन्डै देशव्यापी रूप लिएर हजारौँलाई प्रभावित गरिरहेको छ, त्यसको सापेक्षतामा सरकारका प्रयास बिरक्तलाग्दो गरी न्यून छन् ।

कुनै एउटै रोगले देशभर प्रभाव पार्छ, दैनिक सयौँको संख्यामा नयाँ–नयाँ बिरामी यही रोगबाट प्रभावित हुन्छन् भने त्यो संकटकालीन अवस्था हो । बिफर उन्मूलन हुनुअघिको नेपालको जस्तो यो अवस्थाको अर्को जोखिम के छ भने यसपालि फैलिएर रोगको प्रभाव अर्को वर्ष पनि दोहोरिन्न भन्ने केही छैन । यसपालि संक्रमणको प्रतिरोध गरेको व्यक्तिमा अर्को वर्ष पनि संक्रमण भयो भने उसको प्रतिरोध क्षमता झन् कमजोर भएर जाने निश्चित छ ।

यसै पनि सबै उमेर समूहका मानिस यसको सिकार भइरहेका छन् । यसले परिवारको आर्थिक अवस्था र समाजको उत्पादन क्षमतालाई नकारात्मक असर पारिरहेको छ । सामान्यतया यस्तो वेला सरकारले आपत्कालीन उपाय अपनाएर देशभर स्रोत र साधन परिचालन गर्दै प्रतिरोधात्मक उपाय अवलम्बन गर्छ । उपचारका आपत्कालीन व्यवस्था गर्छ ।

नेपालमा डेंगुको महामारी फैलिएसँगै सबैजसो निजी क्षेत्रका अस्पतालले यसलाई मुनाफा कमाउने होइन, कुम्ल्याउने मौकाका रूपमा उपयोग गरेका छन्

केही दिनअघि स्वास्थ्यमन्त्रीले नै सरकार डेंगुसँग हारिसकेको बुझिने अभिव्यक्ति दिएका थिए । तर, मन्त्रिपरिषद्ले यसबारे अहिलेसम्म कुनै औपचारिक सरोकार देखाएको छैन । यो रोग नेपालको मात्र समस्याचाहिँ होइन, भूमध्यरेखीय र शीतोष्ण प्रदेशआसपासका सबैजसो देशको हो । सिंगापुर पनि यसबाट सताइएको देश हो । समस्या के हो भने नेपाल सरकारले यसको रोकथाम, नियन्त्रण र उपचारमा अपनाएका उपाय धेरै कम छन् ।

डेंगु उपचारको अर्को अर्थराजनीतिक पक्ष पनि छ, मुनाफा । पुँजीवादी समाजको अस्तित्व निजी क्षेत्रको लगानी र त्यसले आर्जन गर्ने मुनाफामा अडेको हुन्छ, त्यसलाई अन्यथा लिन मिलेन  । तर, जब कसैको जीवन मृत्युको खेलमा पनि मुनाफा हेरिन्छ अनि त्यो नैतिक दृष्टिले पतनशील समाजको प्रतिबिम्ब बन्छ । यतिवेला नेपालमा डेंगुको महामारी फैलिएसँगै सबैजसो निजी क्षेत्रका अस्पतालले यसलाई मुनाफा कमाउने होइन, कुम्ल्याउने मौकाका रूपमा उपयोग गरेका छन् ।

चितवनको पछिल्लो समाचारअनुसार निजी अस्पतालले डेंगुको उपचारका लागि तीन सय ५० रुपैयाँमा पाइने परीक्षण कीटको मूल्य आठ गुणा बढाएर २६ सयसम्म बिरामीबाट असुल्ने गरेका थिए । पूर्वी तराईका जिल्लामा पनि यसै गरिएको थियो । भयग्रस्त बिरामीबाट उसको विवशताको फाइदा उठाउँदै अत्यधिक मूल्य लिनु नाफा लिनु होइन, लुट्नु हो ।

लुटेर धन कमाउनु  अपराध कर्ममै पर्छ । न नैतिक दृष्टिले, न बजार सिद्धान्तका दृष्टिले नै यसरी मानिसको जीवनप्रतिको लालसा र मृत्युको भयसँग नाफा साट्ने कर्मलाई समर्थन गर्न मिल्छ । यसरी त चोरी, डकैती, मिटर ब्याजी, मानव तस्कर र अस्पताल सेवाबीच भिन्नता छुट्याउनै गाह्रो हुँदै जान्छ । दलाल पुँजीवाद, आसपासे पुँजीवाद, रेन्ट सिकर हुँदै यो मुनाफाखोरी लुटाहा पुँजीवादको सिकार नेपालीले कहिलेसम्म भइदिनुपर्ने हो भन्ने प्रश्न पनि स्वाभाविक रूपमा उठिरहनेछ ।