मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ भदौ २६ बिहीबार ०७:३८:००
Read Time : > 3 मिनेट
सेयर बजार

नेप्से घट्यो, कारोबार रकम बढ्यो

Read Time : > 3 मिनेट
२०७६ भदौ २६ बिहीबार ०७:३८:००

नेप्सेले ओरालो लाग्ने क्रमलाई बुधबार पनि निरन्तरता दिएको छ । यस दिन नेप्से शून्य दशमलव ३० प्रतिशत घटेर बन्द भएको छ । नेप्से ओरालो लागे पनि यस दिनको कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ । अघिल्लो दिन करिब २४ करोडको सेयर कारोबार भएको बजारमा यस दिन ३४ करोडभन्दा बढीको सेयर खरिद–बिक्री भएको छ । केही दीर्घकालीन लगानीकर्ता सस्तोमा सेयर खरिद गर्न बजार पसेका कारण कारोबारमा सुधार भएको एक ब्रोकरले बताए । अहिले बजारमा अल्पकालीन लगानीकर्ता घटेका कारण कारोबारमा सुस्तता आएको उनको भनाइ छ । पछिल्लो समयमा बजार सुस्त हुँदा अल्पकालीन लगानीकर्ताले नाफा आर्जन गर्न सकिरहेका छैनन् । सोही कारण अहिले अल्पकालीन लगानीकर्ता घटेका हुन् । अधिकांश लगानीकर्ता अहिले ‘पर्ख र हेर’ को रणनीति अपनाएर बसेका छन् । ३७ कम्पनीले लाभांश घोषणा गरिसक्दा पनि बजारले सकारात्मक दिशा नलिएपछि सो रणनीति अपनाउन बाध्य भएको एक लगानीकर्ताले बताए । 

 बजार सारांश
बुधबार नेप्से परिसूचक ३ दशमलव ४६ अंक घटेर १ हजार १ सय ६३ दशमलव २१ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन शून्य दशमलव ७९ अंक घटेर २ सय ५४ दशमलव ७८ बिन्दुमा पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स यस दिन शून्य दशमलव २२ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव २३ अंक घटेको छ । यस दिन १ सय ७१ कम्पनीको ५ हजार ४ सय ३० पटकको कारोबारमा ३४ करोड १७ लाख ४५ हजार १ सय ३६ रुपैयाँबराबरको १५ लाख ३ हजार ९ सय २८ कित्ता सेयर खरिद–बिक्री भएको छ । 

प्राविधिक विश्लेषण
आरएसआईः नेप्सेको १४ दिने आरएसआई यस दिन २७ दशमलव १२ स्केलमा पुगेको छ । ओभरसोल्ड जोनमा रहेको यस आरएसआईले बजारमा सेयर बिक्री चाप बढी रहेको संकेत गर्छ । 

एडी रेसियो : नेप्सेको एडी रेसियो यस दिन शून्य दशमलव ४५ रहेको छ । यसले बजार बियरिस प्रवृत्तिमा रहेको संकेत गर्छ । कारोबारमा आएका १ सय ७१ कम्पनीमध्ये यस दिन ४२ कम्पनीको सेयरमूल्य बढेको छ भने ९३ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी ३६ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ । 

बुधबार नेप्सेको पिभट बिन्दु १ हजार १ सय ६४ दशमलव ४१ रहेको छ । आगामी कारोबार दिन नेप्से ओरालो लागे १ हजार १ सय ६० दशमलव ७४ बिन्दुमा पहिलो टेवा पाउनेछ भने १ हजार १ सय ५८ दशमलव २७ बिन्दुमा दोस्रो टेवा पाउने देखिन्छ । त्यसैगरी, बजार उकालो लागे १ हजार १ सय ६६ दशमलव ८८ बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्नेछ । सो बिन्दुलाई तोडेर उकालो लागे १ हजार १ सय ७० दशमलव ५५ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ । 

सेयरमूल्य वृद्धिदर न्यून
यस दिन कम्पनीहरूको सेयरमूल्य वृद्धिदर न्यून रहेको छ । बजार सुस्त भएका कारण कम्पनीहरूको सेयरमूल्यमा सुधार हुन नसकेको हो । घलेम्दी हाइड्रो लिमिटेडको सेयरमूल्य यस दिन ४ दशमलव ४१ प्रतिशत बढेको छ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य यस दिन ४ दशमलव शून्य ४ प्रतिशत बढेको छ । गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स कम्पनी र नयाँ नेपाल लघुवित्त विकास बैंकको सेयरमूल्य यस दिन २ प्रतिशतभन्दा बढी बढेको छ । अन्य कम्पनीहरूको सेयरमूल्य वृद्धिदर ३ प्रतिशतभन्दा कम रहेको छ । नबिल इक्विटी फन्डको इकाइमूल्य यस दिन सर्वाधिक ६ दशमलव ६९ प्रतिशत घटेको छ । लक्ष्मी लघुवित्त वित्तीय संस्था र दिव्यश्वरी हाइड्रोपावरको सेयरमूल्य यस दिन ५ प्रतिशतभन्दा बढी घटेको छ ।

११ समूहको परिसूचक घट्यो
यस दिन कारोबारमा आएको म्युचुअल फन्ड समूहको परिसूचकबाहेक अरू सबै समूहको परिसूचक घटेको छ । सो समूहको परिसूचक यस दिन शून्य दशमलव २ प्रतिशत बढेको हो । होटेल समूहको परिसूचक यस दिन सर्वाधिक १ दशमलव ८ प्रतिशत घटेको छ । निर्जीवन बिमा समूहको परिसूचक यस दिन १ दशमलव शून्य ९ प्रतिशत, जीवन बिमा समूहको शून्य दशमलव ६ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव ३९ प्रतिशत, उत्पादनमूलक समूहको शून्य दशमलव ३५ प्रतिशत र विकास बैंक समूहको शून्य दशमलव ३ प्रतिशत घटेको छ । त्यसैगरी, जलविद्युत् समूहको परिसूचक शून्य दशमलव २७ प्रतिशत, वाणिज्य बैंक समूहको शून्य दशमलव १६ प्रतिशत, व्यापार समूहको शून्य दशमलव १५ प्रतिशत, वित्त समूहको शून्य दशमलव शून्य ६ प्रतिशत र अन्य समूहको शून्य दशमलव शून्य ५ प्रतिशत घटेको छ ।

सोल्टी होटेलको सर्वाधिक कारोबार
यस दिन कारोबार रकम र सेयर संख्याका आधारमा सोल्टी होटेल लिमिटेड अगाडि रहेको छ । सो होटेलको यस दिन ४ करोड ५५ लाख ५१ हजार रुपैयाँबराबरको २ लाख ८ हजार ८ सय ६० कित्ता सेयर खरिदबिक्री भएको छ । लक्ष्मी बैंकको यस दिन १ करोड ९० लाख ४१ हजार रुपैयाँ बराबरको संस्थापक सेयर किनबेच भएको छ । ४४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छिमेक लघुवित्तको यस दिन १ करोड ४२ लाख ७८ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । यस दिन नेपाल बैंक, नेपाल लाइफ इन्स्योरेन्स, प्रभु बैंक र साना किसान विकास बैंकको कारोबार रकम १ करोड नाघेको छ । कारोबार संख्याका आधारमा यस दिन सान्जेन जलविद्युत् कम्पनी लिमिटेड अगाडि रहेको छ । सो जलविद्युत् कम्पनीको यस दिन ५ सय १ पटक सेयर कारोबार भएको छ । 

छिमेकको लाभांश
छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको मुनाफाबाट ४४ दशमलव ३३५४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । भदौ २४ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको २७ दशमलव ११८६ प्रतिशत बोनस सेयर र १७ दशमलव २१६८ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि सहित) वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात् सो लाभांश वितरण गरिनेछ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १८ करोड रुपैयाँ रहेको छ । 

लक्ष्मी लघुवित्तको लाभांश
लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको मुनाफाबाट २६ दशमलव ३२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । भदौ २४ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र ११ दशमलव ३२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि सहित) वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात् सो लाभांश वितरण गरिनेछ । हाल कम्पनीको चुक्ता पुँजी २४ करोड २० लाख रुपैयाँ रहेको छ । 

समताको बुक क्लोज
समता लघुवित्त वित्तीय संस्था लिमिटेडले असोज १ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि सो दिन बुक क्लोज गर्न लागेको हो । कम्पनीले १ बराबर २ अनुपातमा १२ लाख १३ हजार ४ सय ४० कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । कम्पनीको सेयर रजिस्ट्रार एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । २०७५ मंसिर २७ गते सम्पन्न कम्पनीको पाँचौँ वार्षिक साधारणसभाले सो हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो ।