मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
विजयराज खनाल काठमाडाैं
२०७६ भदौ २६ बिहीबार ०७:१३:००
Read Time : > 1 मिनेट
अर्थ

सेयर बेच्न झन्–झन् कठिन 

Read Time : > 1 मिनेट
विजयराज खनाल काठमाडाैं
२०७६ भदौ २६ बिहीबार ०७:१३:००

सेयर बिक्रीको सहजता देखाउने सेयर कारोबार अनुपात सूचक झन्–झन् घट्दै गएको छ । तीन वर्षअघि १५.४९ प्रतिशत रहेको अनुपात आव ०७५/७६ मा घटेर ९.८० मा आइपुगेकाले सेयर कारोबार झन्–झन् कठिन हुँदै गएको देखिएको हो । 

आन्तरिक र बाह्य कारणले केही वर्षयता सेयर बजार कारोबारमा खरिद–बिक्री गर्न झन्–झन् गाह्रो पर्दै गएको छ । सेयर बिक्रीको सहजता देखाउने ‘अनुपात सूचक’ झन्–झन्  ओरालो लागेकाले सेयर कारोबार कठिन हुँदै गएको देखिएको हो । 

दुई वर्षअघि आर्थिक वर्ष ०७३/७४ मा सेयर कारोबार अनुपात १५ दशमलव ४९ प्रतिशत थियो । आव ०७५/७६ मा यो सूचक घटेर ९ दशमलव ८० प्रतिशतमा सीमित भएको छ । आव ०७४/७५ मा भने यस्तो सूचक ८ दशमलव ९५ थियो । ‘यो सूचक दुई वर्षयता घटेको देखिए पनि समग्रमा एसियाली मुलुकसँगको तुलनामा औसतमै छौँ,’ नेपाल स्टक एक्सचेन्जका कायममुकायम प्रबन्धक निरञ्जन फुँयालले भने । घट्दो बजारमा यस्तो सूचक घट्नु सामान्य नै मानिन्छ । नेपालको यस्तो सूचक अन्य मुलुकसँगको तुलनामा भने कमजोर नै छ । 

‘यो सूचकले बजारको समग्र पक्षलाई हेर्दैन,’ सेयर विश्लेषक प्रकाश तिवारी भन्छन्, ‘तर यसले कुनै पनि मुलुकको सेयर बजार कति प्रभावकारी चलेको छ भन्ने देखाउँछ ।’ 

यस्तो सूचक उच्च भएको मुलुकहरूका बजारमा सेयर तरल (किनबेच गर्न सजिलो) रहेको मानिन्छ । त्यस्तै, त्यस्ता मुलुकका बजारमा वित्तीय उपकरणहरूको उपलब्धता भएको र लगानीकर्ता सूचित रहेकोसमेत मानिन्छ । विश्व बैंककै तथ्यांकअनुसार इटालीको सूचक ३ सय ५० प्रतिशत छ । टर्कीको यस्तो सूचक २ सय ४७, बेलायतको १ सय ४६ र अमेरिकाको १ सय ८ प्रतिशत छ ।

दक्षिण एसियामा नेपाल औसतमा 
विश्व बैंकको तथ्यांकअनुसार गत वर्ष दक्षिण एसियाली मुलुकमा भारतको सबैभन्दा उच्च ५८.१ प्रतिशत छ । दक्षिण एसियाली मुलुकमध्ये भुटान, माल्दिभ्स र अफगानिस्तानको सूचक उपलब्ध छैन भने केहीको पुरानो अवधिको तथ्यांक राखिएको छ । नेपालको यस्तो सूचक भने औसत रहेको ती मुलुकहरूसँगको तुलनाले देखाउँछ । 

उच्च कारोबार हुनेमा नेपाल बैंक 
गत आवमा सेयर कित्ताको आधारमा कारोबार भएका प्रमुख ५ कम्पनीमा नेपाल बैंकको यो सूचक सबैभन्दा धेरै छ । यसको अर्थ तुलनात्मक रूपमा नेपाल बैंकको सेयर अन्यको तुलनामै सहजै किनबेच गर्न सकिन्छ ।

 कसरी निकालिन्छ सेयर कारोबार सूचक ? 
यो सूचकांक गणना गर्दा कुनै निश्चित अवधि लिइन्छ । त्यसमा बजारमा सुरुमा कति कित्ता सेयर सूचीकृत थिए र अन्तिमा कति कित्ता पुगेको छ, तिनको आसत निकालिन्छ । सो अवधिभरमा कति कित्ता सेयर कारोबार भयो, त्यसको कुल संख्या लिइन्छ । कारोबार भएको कुल सेयर संख्यालाई औसत सूचीकृत संख्या (माथि गणना गरेअनुसारको औसत) ले भाग गरिन्छ । र, १ सयले गुणन गरेर प्रतिशत निकालिन्छ । यस्तो प्रतिशत जति धेरै भयो त्यति राम्रो मानिन्छ ।

उदाहरणका लागि आर्थिक वर्ष ०७५/७६ को सुरुमा नेपाल स्टक एक्सचेन्जमा ३ अर्ब ६९ करोड कित्ता सेयर सूचीकृत भएको थियो । सो आव अन्त्यमा ४ अर्ब २० करोड कित्ता सेयर पुग्यो । यी दुईको औसत ३ अर्ब ९५ करोड हुन्छ । त्यस अवधिमा बजारमा ३८ करोड ७५ लाख कित्ता सेयर कारोबार भयो । कारोबार भएको सेयर (३८ करोड ७५ लाख) लाई औसत सूचीकृत सेयर (३ अर्ब ९५ करोड) ले भाग गरेर १ सयले गुणन गर्दा ९ दशमलव ८० हुन्छ । नेपालको सेयर कारोबारअनुपात सूचक यही ९ दशमलव ८० प्रतिशत हो । यही तरिकाले सूचीकृत कम्पनीहरूको पनि यस्तो अनुपात निकाल्न सकिन्छ ।