मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ भदौ २६ बिहीबार ०७:०३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

उपनिर्वाचनमा चार लाख ४७ हजार सात सय ९२ मतदाता

दाबी विरोधका लागि आयोगले तोक्यो १० दिन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ भदौ २६ बिहीबार ०७:०३:००

१४ मंसिरमा हुने उपनिर्वाचनका लागि चार लाख ४७ हजार सात सय ९२ मतदाताले नाम दर्ता गराएका छन् । निर्वाचन आयोगले मतदाताको नामावली दाबी विरोधका लागि सम्बन्धित जिल्लामा पठाएको छ । 

मतदाता नामावलीमा दाबी विरोधका लागि १ देखि १० असोजसम्मको समय छुट्याएको छ । मतदाता नामावली ऐन २०७३ को दफा १३ बमोजिम दाबी विरोधको कार्यतालिका सार्वजनिक गरिएको आयोगका प्रवक्ता सहसचिव शंकरप्रसाद खरेलले जानकारी दिए । 

प्रतिनिधिसभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहका पदाधिकारीसमेत ५१ पदका लागि ३७ जिल्लाका एक सय ५४ वडामा उपनिर्वाचन हुँदै छ । ती वडा कार्यालयमा रहने सहायक नाम दर्ता अधिकारीको कार्यालयमा मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने आयोगले जनाएको छ ।

आयोगले सम्बन्धित वडाका मतदातालाई आ–आफ्नो वडा कार्यालयमा सम्पर्क गरी मतदाता नामावलीमा रहेका त्रुटि सच्याउने, उजुरी दिने, दोहोरो नाम हटाउने, मृत्यु भएका, नागरिकता रद्द÷त्याग गरेका मतदाताका नाम हटाई शुद्ध मतदाता नामावली तयार गर्ने कार्यमा सहयोग गर्न आग्रहसमेत गरेको छ । 

१४ मंसिरमा प्रतिनिधिसभाको १ (कास्की–२), प्रदेश सभाको ३ (दाङ–३ (ख), भक्तपुर–१(क) र बाग्लुङ–३(ख), उपमहानगरपालिका प्रमुख १ (धरान) गाउँपालिका अध्यक्ष ३, गाउँपालिका उपाध्यक्ष १ र ३७ जिल्लाका ४२ वडाध्यक्षको गरी ५१ पदका लागि निर्वाचन हुँदै छ । 

कसरी गर्ने दाबी विरोध ?
आयोगका अनुसार दाबी विरोधका लागि १ असोजमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सहायक नाम दर्ता अधिकारीको कार्यालयमा मतदाता नामावली प्रकाशन गरिनेछ । प्रकाशित मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन आवश्यक प्रमाण पु-याई २ असोजदेखि ५ असोजसम्म कार्यालय समयमा दरखास्त दिन सकिन्छ ।

सार्वजनिक बिदाका दिन पनि सहायक नाम दर्ता अधिकारीको कार्यालय खुला रहने प्रवक्ता खरेलले बताए । प्रमाण पु-याई परेका निवेदनउपर आवश्यक छानबिन गरी असोज ६ र ७ मा आयोगले अभिलेखमा अद्यावधिक गर्नेछ ।

हटाइएका नामबारेको सूचना सम्बन्धित गाउँपालिका तथा नगरपालिकाको वडा कार्यालयमा ८ असोजको बिहान १० देखि दिउँसो २ बजेसम्म टाँस गरिनेछ । त्यही दिन साँझ ५ बजेसम्म गाउँपालिका तथा नगरपालिकाको वडा कार्यालयमा अद्यावधिक गरिएको नामावली प्रकाशन गरिनेछ ।

अद्यावधिक गरिएको नामावली असोज ९ र १० गते जिल्ला निर्वाचन कार्यालयमा बुझाइनेछ । जिल्ला निर्वाचन कार्यालयले अद्यावधिक भएका मतदाता नामावली आयोगको केन्द्रीय कार्यालयमा पठाउनेछन् ।

अद्यावधिक भएर आएका मतदाता नामावली विवरण तयार पारेपछि यकिन मतदाता नामावली तयार गरिने प्रवक्ता खरेलले जनाए । त्यो कार्य असोज मसान्तसम्म पूरा हुने उनको भनाइ ।