मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका  सिन्धुपाल्चोक
२०७६ भदौ २६ बिहीबार ०६:५५:००
Read Time : < 1 मिनेट
प्रदेश

पुल निर्माणमा हिनामिनाको आरोप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका  सिन्धुपाल्चोक
२०७६ भदौ २६ बिहीबार ०६:५५:००

लिसंखुपाखर गाउँपालिकाको अत्तरपुर र ठूलो धादिङ जोड्ने गौरीखोला पुल निर्माणमा आधाभन्दा बढी रकम हिनामिना भएको आरोप स्थानीयले लगाएका छन् । 
गाउँपालिकाबाट ह्युमपाइप र कजबे निर्माण गर्न २७ लाख विनियोजन गरेको थियो । जसमा चार लाख जनश्रमदानबाट पूर्ति गर्ने सम्झौता भएको थियो ।

०७६ जेठ २८ मा सम्झौता भएर १५ असारमा काम सम्पन्न भएको अस्थायी पुल निर्माणमा व्यापक घोटाला भएको जनप्रतिनिधिहरूले नै बताएका छन् । स्थानीयले हिनामिना छानबिन गर्न अख्तियारमा उजुरीसमेत दिएका छन् । 

गौरीखोला ह्युमपाइप तथा कजबे निर्माण समितिका अध्यक्ष नेत्रबहादुर श्रेष्ठले २७ लाख रकम विनियोजन भए पनि उपभोक्ता समितिले २० लाख मात्रै पाएको दाबी गरे । स्थानीयको भनाइअनुसार ह्युमपाइप र कजबे निर्माण गर्दा बढीमा १० लाख लागेको छ । बाँकी रकम सबैजनाले मिलेर लिएको उनीहरूको आरोप छ । समितिका अध्यक्ष श्रेष्ठले भने आठवटा ह्युमपाइप र मजदुर परिचालन गर्दा २० लाख खर्च भएको दाबी गरे । 

६ सय ५० जनसंख्यालाई फाइदा पुग्ने उक्त पुल निर्माणमा हिनामिना गरेर उल्टै एक सातासम्म श्रमदान गर्न लगाएको भन्दै स्थानीय आक्रोशित छन् । अनियमितता छानबिन गर्न माग गर्दै स्थानीयले गाउँपालिकाका जनप्रतिनिधिलाई बारम्बार गुनासो राख्दा पनि सुनुवाइ भएको छैन ।