मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ भदौ २६ बिहीबार ०६:४२:००
Read Time : < 1 मिनेट
प्रदेश

प्रदेशको सहयोगमा प्रहरी चौकी बन्दै

Read Time : < 1 मिनेट
२०७६ भदौ २६ बिहीबार ०६:४२:००

प्रदेश सरकारको आर्थिक सहयोगमा चितवनको भरतपुर महानगरपालिका–८ सीताराममा इलाका प्रहरी कार्यालयको भवन निर्माण हुने भएको छ । बुधबार जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दानबहादुर मल्ले नयाँ बन्ने भवनको शिलान्यास गरे । 

आफ्नै भवन अभावमा विगत १० वर्षदेखि भाडाको भवनमा इलाका प्रहरी कार्यालय सञ्चालन हुँदै आएको छ । आफ्नै भवन निर्माण गर्न प्रदेश सरकारले दुई करोड तीन लाख ५९ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । भवन अत्याधुनिक, अपांगमैत्री र भूकम्प प्रतिरोधी हुने जानकारी दिइएको छ । 

चौकी बनाउन स्थानीयको सहयोग
माडीठोरी हुलाकी सडकखण्डनजिकै पर्ने प्रहरी चौकी समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत बन्नेछ । भवन बनाउन स्थानीयहरूले स्थानीय सुरक्षा समन्वय समिति गठन गरेका छन् ।

समितिका अध्यक्ष ऋषिराम पौडेलका अनुसार यसअघि स्थानीयले घरदैलो कार्यक्रम गरेर ०७१ सालमा २० लाख रुपैयाँ संकलन गरेर प्रहरी भवन बनाउनकै लागि एक कट्ठा जमिन खरिद गरेका थिए । अहिले नेपाल सरकारले थप एक कट्ठा जग्गा खरिद गरेपछि भरतपुर महानगरपालिका वडा नम्बर ६ मा २ कट्ठा क्षेत्रफलमा भवन बन्न लागेको हो । हाल इलाका प्रहरी कार्यालय सीताराम चोकमा प्रहरी सायक निरीक्षक विष्णु शाहको नेतृत्वमा ५ जना प्रहरी छन् । 

पाँच ठाउँमा प्रहरीको नयाँ भवन
चालू आर्थिक वर्षमा निर्माण सक्ने गरी प्रदेश ३ सरकारले चितवनका विभिन्न पाँच ठाउँमा प्रहरी चौकी भवन आर्थिक सहायता प्रदान गरेको छ । भरतपुरको सीताराम चौकीबाहेक  माडीको सोमेश्वर र कल्याणपुर चौकी, खैरहनी मातहतको चैनपुर चौकी र रत्ननगरमातहतको पञ्चकन्या चौकीको भवन शिलान्यास भई निर्माण कार्य चलिरहेको छ ।