मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ भदौ २६ बिहीबार ०६:४७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

भरतपुर अस्पताल परिसरभित्रै फोहोरको डंगुर र पानीको आहाल

लामखुट्टेको टोकाइले कुरुवा नै बिरामी हुन थाले

Read Time : > 1 मिनेट
२०७६ भदौ २६ बिहीबार ०६:४७:००

भरतपुर केन्द्रीय अस्पतालमा डेंगु र ज्वरोका बिरामीको चाप दैनिक बढ्दो छ । ज्वरोका बिरामी धेरै हुँदा अस्पतालमा शड्ढया नपाएर बिरामीहरू निजी अस्पताल जान बाध्य छन् । तर, सरकारी अस्पतालकै सेवामा भर परेर बसेकाहरू पनि अस्पतालमा सुरक्षित छैनन् । हाल फैलिएको ज्वरो र डेंगुका कारक लामखुट्टेको उत्पादन केन्द्र नै भरतपुर अस्पताल बनेको छ । जसले गर्दा बिरामी कुरुवा पनि लामखुट्टेको टोकाइको सिकार बनेका छन् ।

अस्पतालको सबैभन्दा संवेदनशील कक्ष आइसियूनजिकै पानी जमेर तलाउ बनेको छ । जमेको पानी र पानीका बोतलहरूले त्यस क्षेत्र फोहोर र दुर्गन्धित छ । ‘दुर्गन्ध आइसियूसम्म नै पुग्छ,’ एक चिकित्सकले भने, ‘अस्पतालपछाडिको भागमा जताततै समस्या छ ।’ पोस्टमार्टम गृहनजिक पनि अनेक थरी फोहोर छन् ।

अस्पताल प्रशासन फोहोर व्यवस्थापनमा चुकेको स्पष्टै देखिन्छ । ‘बाहिर बाहिर डेंगु सचेतना फैलाएर के गुर्न ? बिरामी भएर अस्पताल आउँदा यहाँको फोहोरले कुरुवा नै बिरामी हुने अवस्था छ,’ रत्ननगरका रमेश विकले नयाँ पत्रिकासँग भने, ‘अस्पताल सफा, चिटिक्क हुनुपर्नेमा जताततै फोहोरै फोहोर देखिन्छ ।’ 

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले फोहोर व्यवस्थापन चुनौतीपूर्ण बनेको बताए । ‘जमेको पानी व्यवस्थापन गर्न पहल सुरु भइसकेको छ,’ डा. तिवारीले भने, ‘त्यसका लागि भरतपुर महानगरको सहयोग मागिएको छ ।’ 

सेवा अवरोधले बिरामी समस्यामा
अस्पतालमा कार्यरत करार र  ज्यालादारी कर्मचारीहरूले बुधबार बिहान एक घन्टा अस्पताल प्रशासन घेराउ गर्दा बिरामी मर्कामा परे । आफूहरूका माग सम्बोधन गर्न व्यवस्थापन पक्ष तयार नभएपछि बाध्य भएर आन्दोलनमा उत्रनुपरेको आन्दोलनकारीको भनाइ छ ।

अस्पताल व्यवस्थापन पक्षले भने २५ भदौमै कर्मचारीको करार नवीकरण गर्ने जनाइसकेको छ । कर्मचारीले भने नयाँ सम्झौता गरी सेवा करार नवीकरण गर्नुपर्ने माग राख्दै आएका छन् । 

डेंगुको महामारी नै फैलिएका वेला अनेक बहानामा अस्पतालभित्रै आन्दोलन हुनु दुर्भाग्यपूर्ण रहेको भन्दै आपत्ति जनाएका छन् । संवेदनशील हुनुपर्ने समयमा गैरजिम्मेवार भएको भन्दै बिरामी स्वास्थ्यकर्मीप्रति आक्रोशितसमेत बनेका छन् ।

डेंगुका बिरामी दैनिक बढ्दै
चितवनमा डेंगुका बिरामी दैनिक बढिरहेका छन् । गत मंगलबार एक हजार तीन सयजनामा डेंगु देखिएकामा बुधबार थप एक सय ६० जनामा डेंगु संक्रमण पाइएको छ । सबै अस्पतालबाट सूचना नआएकाले यो संख्या अझ बढ्न सक्ने जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । 

  प्रदेश ३ का ८ जिल्लामा डेंगुका बिरामी

 प्रदेश ३ मा हालसम्म तीन हजार सात सय ६६ जनामा डेंगु संक्रमण फेला परेको छ । सामाजिक विकास मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी प्रदेश ३ मा डेंगु संक्रमितको संख्या सार्वजनिक गरेको हो । 

प्रदेश ३ का १३ जिल्लामध्य सबैभन्दा बढी चितवनमा एक हजार चार सय ६० जना डेंगुका बिरामी रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मकवानपुरमा सात सय २८, काठमाडौंमा एक हजार तीन सय ४५, ललितपुरमा एक सय पाँच, भक्तपुरमा ९६, काभ्रेमा ६, धादिङमा २३, नुवाकोटमा दुई र सिन्धुपाल्चोकमा एकजना बिरामी फेला परेका छन् । सिन्धुली, दोलखा, रामेछापमा हालसम्म डेंगु संक्रमण नदेखिएको मन्त्री युवराज दुलालले जानकारी दिए ।

मन्त्री दुलालले डेंगु नियन्त्रण गर्न प्रदेशका एक सय १९ वटै स्थानीय तहमा अभियान सञ्चालन गरिने बताए । उनले प्रत्येक साता हरेक स्थानीय तह र जिल्लामा अभियान सञ्चालन गर्ने मन्त्रालयले तयारी गरेको जानकारी दिए ।

प्रदेश तहका अस्पतालमा डेंगु परीक्षण गर्ने कीट अभाव नभएको दाबी गर्दै मन्त्री दुलालले प्रदेश सरकारमातहतका ६ वटा जिल्ला अस्पतालमा पनि डेंगुका बिरामीका लागि संघीय सरकारको सहयोगमा तीन सयवटा झुल वितरण गरिएको बताए । डेंगु नियन्त्रण गर्न सोमबारको प्रदेश सभा बैठकमा सरकारले जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गर्दै सांसदबीच छलफल चलाएको थियो ।