मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ भदौ २६ बिहीबार ०६:२४:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

इन्द्रजात्रा अवलोकन गर्न ४८ विदेशी पाहुना काठमाडौं आउँदै

Read Time : > 2 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ भदौ २६ बिहीबार ०६:२४:००

इन्द्रजात्रा अवलोकनका लागि बिहीबार विदेशी पाहुना काठमाडौं आउने भएका छन् । काठमाडौं महानगरपालिकाको निमन्त्रणमा इन्द्रजात्रा अवलोकन गर्न पहिलोपटक विदेशी पाहुन आउन लागेका हुन् ।

महानगरपालिकाले बुधबार पत्रकार सम्मेलन गरेर इन्द्रजात्रालाई अन्तर्राष्ट्रिय महत्व प्रदान गर्न लागिएको जानकारी गराएको छ । पत्रकार सम्मेलनमा मेयर विद्यासुन्दर शाक्यले इन्द्रजात्रा अवलोकन गर्न पहिलोपटक अन्तर्राष्ट्रिय नगरका मेयर र प्रतिनिधिलाई सहभागी गराउन लागिएको जानकारी दिए । 

उनले आमन्त्रित सबै पाहुना बिहीबार काठमाडौं आइपुग्ने बताए । शाक्यले पाहुनाले चार रात पाँच दिन काठमाडौंमा बिताउने जानकारी दिए । ‘उहाँहरू नेपाल आइपुगुन्जेलको खर्च उहाँहरू आफैँको हो ।

यहाँ आइपुगिसकेपछि आवास, खानपान र भ्रमण अवलोकनको व्यवस्था महानगरले मिलाउनेछ,’ उनले भने, ‘अवलोकनमा आउने पाहुनालाई ललितपुर महानगरसँगको समन्वयमा पाटन दरबार स्क्वायर, भक्तपुर नगरपालिकाको सहयोगमा भक्तपुर दरबार स्क्वायर र चन्द्रागिरि नगरपालिकाको समन्वयमा चन्द्रागिरि क्षेत्रको अवलोकन भ्रमण गराउने योजना छ ।’ 

काठमाडौं उपत्यकालाई एकीकृत पर्यटन प्रवर्धन गरे मात्र धेरै लाभ हुने बताउँदै शाक्यले महानगरको निम्तामा आएका प्रतिनिधि मण्डललाई महानगरसँगै उपत्यकाका महत्वपूर्ण सम्पदा क्षेत्रको भ्रमण अवलोकन गराउने लक्ष्य राखिएको बताए । ‘पर्यटन प्रवर्धनका लागि महानगरको लगानीस्वरूप पहुनाको सत्कारमा खर्च गर्नेछौँ । यो लगानीबाट भोलि उपत्यकावासीले लाभ पाउनेछन्,’ उनले भने, ‘अन्तर्राष्ट्रिय जगतमा इन्द्रजात्राको मौलिक र दार्शनिक पक्षको उजागर गर्न मात्र होइन, नगरवासीको सभ्यता चिनाउने कामका लागि पनि सबै मिलेर पर्वलाई सभ्य, भव्य र सुसंस्कृत बनाउनुपर्छ । नेवार समुदायको मात्र होइन, यो सबै नेपालीको राष्ट्रिय पर्व हो भन्ने भावना जागृत गराउनुपर्छ ।’ 

विदेशी पाहुनालाई शुक्रबार हनुमान ढोका आसपास कुमारी रथयात्रा हुने तल्लो र माथिल्लो टोलको स्थलगत भ्रमण अवलोकन गराइनेछ भने मध्याह्न्न राष्ट्रप्रमुखको उपस्थितिमा हुने रथ यात्राको अवलोकन गराइनेछ । २८ भदौमा चन्द्रागिरि, छाउनीको प्राकृतिक संग्रहालय र स्वयम्भूको अवलोकन गर्ने योजना छ ।

२९ भदौमा भक्तपुर र पाटन दरबार स्क्वायरको अवलोकन भ्रमण गराउने काठमाडौं महानगरले जनाएको छ । सोही दिन साँझ बिदाइ समारोह आयोजना गरिनेछ । समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसमेत सहभागी हुने महानगरले जनाएको छ । 

मंगलबार बिहान नौ बजेर १७ मिनेटको साइतमा वसन्तपुर कालभैरव अगाडि विधिपूर्वक इन्द्रध्वज (नेपाल भाषामा यः सीं, नेपालीमा लिंगो) ठड्याएपछि यस वर्ष इन्द्रजात्राका कार्यक्रम विधिवत सुरु भएका छन् । यः सीं ठड्याउनुअघि नेवार समुदायभित्रका मानन्धर थरका थकालीले पूजा गरेका थिए ।

मंगलबार नै नेवार समुदायले काँचो माटोको दियोमा बत्ती बालेर उपाकु पर्व मनाए । मंगलबार नै साँझ गणेश र भैरवलाई कुमारी घरमा ल्याइयो । त्यसपछि कुमारी, भैरव र गणेशलाई तलेजु भवानी मन्दिरको मूलद्वारमा लगेर लसकुस गरी भित्र लगेर तलेजु भवानीलाई निम्तो दिइयो । सरकारले २३ भदौमा एकादशीका दिन आफ्नो तर्फबाट गणेश र भैरवलाई इन्द्रजात्रामा सहभागी हुन निमन्त्रणा दिएको थियो । 

यस वर्ष २७ भदौमा कुमारी रथ यात्रा सुरु गरेर वसन्तपुरबाट तल्लो टोलमा रथ यात्रा गरिनेछ । त्यस क्रममा साँझ साढे चार बजे राष्ट्रपति वसन्तपुरमा पुगेर कुमारीको दर्शन गर्ने कार्यक्रम छ । २८ भदौमा माथिल्लो टोलमा रथ यात्रा हुनेछ ।

यस अवधिमा लाखे, हलचोक भैरव, पुलुकिसी, देवीलगायत तान्त्रिक विद्यामा आधारित नाच र दश अवतारलगायत पौराणिक कथामा आधारित प्रदर्शन हुनेछन् । ३१ भदौमा हुने नानिचा यात्रासँगै त्यसै दिन साँझ ०९ः३५ को साइतमा इन्द्रध्वज ढालेपछि यस वर्षका लागि जात्राका औपचारिक कार्यक्रम समाप्त हुनेछन् । 

 कहाँ—कहाँबाट को–को सहभागिता हुँदै छन् ?

यस वर्षको इन्द्रजात्राको अवलोकन गर्न महानगरको भगिनी सम्बन्ध भएका ६ वटा देशका १३ वटा नगरबाट पाँचजना मेयरसहित ४८ जना पाहुना आउनेछन् । गत सात महिनादेखि इन्द्रजात्रा अवलोकनका लागि भगिनी सम्बन्ध भएका मेयरलाई निमन्त्रणा पठाउन थालिएको थियो ।

यसै निमन्त्रणाका आधारमा अहिलेसम्म चीनको ल्हासाका मेयर गुहेओ गुहेओ, बंगलादेशको ढाका साउथ सिटी कर्पोरेसनका मेयर मोहम्मद सहिद खोकन, भुटानको थिम्पु नगरका मेयर किन्ले दोर्जे, भारत इस्ट दिल्ली म्युनिसिपल कर्पोरेसनका मेयर अन्जु कमलकान्त र नर्थ दिल्ली म्युनिसिपलबाट मेयर सरदार अभतार सिंहको नेतृत्वमा जात्रा अवलोकन टोली आउने पत्र प्राप्त भएको महानगरले जनाएको छ ।

त्यस्तै, चीनबाट सियान, छेन्दु, सेन्जेन, नान्जिन र लान्चाउ नगर, जापानको मात्सुमोतो नगर, संयुक्त राज्य अमेरिकाका फेडेरिकवर्ग र बोल्डर नगरबाट उच्च अधिकारीको नेतृत्वमा जात्रा अवलोकन टोली आउने भएको छ ।