ललितपुर महानगरपालिका–२७ कला, संस्कृति, सम्पदा, कृषि र पर्यटकीय हिसाबले सम्पन्न मानिन्छ । वडामा मिश्रित समुदायको बसोवास छ । तर, नेवारी समुदायको बाहुल्य छ । विकास निर्माण, समस्या, योजनालगायत विषयमा वडाध्यक्ष बाबुराज श्रेष्ठसँग नयाँ पत्रिकाका विजय कार्कीले गरेको संवाद ।
जनतासँग गरेका प्रतिबद्धता कति पूरा गर्नुभयो ?
हामीले जनतासँग छलफल गरेर प्राथमिकता निर्धारण गरेका छौँ । जनसहभागिमा योजना तर्जुमा गरेका छौँ । गत आर्थिक वर्षमा ८० प्रतिशत पुँजीगत खर्च ग¥यौँ । चालू आर्थिक वर्षमा पनि सोही हाराहारीमा खर्च हुनेछ । हामीले प्रतिवद्धताअनुसार नै काम गर्ने गरेका छौँ । वडाको काममा जनता सन्तुष्ट छन् ।
विकास निर्माणका काम कसरी अगाडि बढेका छन् ?
हामीले सम्पदा संरक्षण, शिक्षाको विकास, स्तरीय स्वस्थ्य सेवा, सडक विस्तार र कालोपत्रे, ढल (पाइप) बिछ्याउने, पार्क निर्माण गर्ने योजना अघि सारेका छौँ । जनताले निर्धारण गरेको आवश्यकताको प्राथमिकताका आधारमा काम अगाडि बढेका छन् । हामी बालकुमारी चौरमा पार्क बनाउने र अस्पताल बनाउने योजनामा छौँ ।
जनताले अनुभूति गर्ने गरी हामीले काम गरेका छौँ । विकास निर्माणका कामले गति लिँदैछन् । जनतासँग गरेका प्रतिबद्धता पूरा भइरहेका छन् । विकास निर्माणकको काम गर्न वडा समिति गठन गरेर प्रक्रिया अघि बढाएका छौँ । योजना सम्झौता कार्यान्वयन गर्न केही ढिला भएको छ । योजना सम्झौत गर्न महानगर जानुपर्ने बाध्यता छ । त्यो सम्झौता गर्न केही समय लाग्छ । त्यसैले योजना कार्यान्वयनमा ढिलासुस्ती भएको छ । तर, प्रत्येक योजनमा वडा समिति गठन गरेर कार्यान्वयन गरेका छौँ ।
खानेपानी समस्या कसरी समाधान गर्ने योजना छ ?
हाम्रो वडामा खानेपानीको समस्या छ । अहिले जनताले प्राचीन कुवा, ढुंगेधारा र इनारबाट पानीको व्यवस्थापन गरेका छन् । हामी निर्वाचित भएपछि हप्तामा एकपटक पानी आउने गर्छ । तर, पहिलाभन्दा जनता सन्तुष्ट छन् । अन्य ठाउँमा जस्तै बिल आउने पानी नआउने समस्या यहाँ पनि छ । केही स्थानीय बासिन्दाले जार, इनार र ट्यांकरको पानी किनेर प्रयोग गरिरहेका छन् । हामीले बोरिङबाट पानीको समस्या समाधान गर्ने प्रयास गरिरहेका छौँ ।
ढल व्यवस्थापन कसरी गरिरहनुभएको छ ?
हाम्रो वडा भर्खरै महानगरमा गाभिएकाले विकासका हिसावमा अग्रसर छौँ । अधिकांश ठाउँमा ढलको व्यवस्थापन घरमै भएको छ । केही आवश्यक ठाउँमा हामीले हिम पाइप बिछ्याएका छौँ । ढलको त्यति धेरै समस्या छैन ।
फोहोरको समस्याबाट स्थानीयले कहिले मुक्ति पाउँछन् ?
हाम्रो वडामा स्थानीय बासिन्दा आफैँ फोहोर व्यवस्थापनमा लाग्नुभएको छ । महानगरभित्रकै वडा भए पनि महानगरको गाडी भने हाम्रो वडासम्म आइपुग्दैन । त्यसैले फोहोर व्यवस्थापनको केही समस्या भए पनि ठूलो समस्या छैन । जनताले घरको फोहोर घरमै व्यवस्थापन गरेका छन् ।
सडक बिग्रिएकै कारण धुलोको समस्या भएको स्थानीय बताउँछन् । तपाईंलाई के लाग्छ ?
हाम्रो वडामा पर्ने मुख्य सडकमा समस्या छ । तर, यो समस्या वडास्तरबाट समाधान हुन सक्दैन । सर्वोच्च अदालतको निर्णयअनुसार जनताले घरजग्गाको मुआब्जा माग्छन् । तर, सरकारले मुआब्जा दिन सक्ने अवस्थामा छैन । त्यसैले समस्या भएको हो । हामीले वडाको पहलमा धुलो न्यूनीकरण गर्न गिट्टी बिछ्याएका छौँ । त्यसले केही राहत भएको छ । तर, यो दीर्घकालीन समाधान होइन ।
वडामा स्वास्थ्य सेवाको अवस्था कस्तो छ ?
हाम्रो वडामा एउटा स्वास्थ्यचौकी छ । जहाँबाट प्राथमिक स्वास्थ्य सेवा प्रदान हुन्छ । स्तरीय स्वास्थ्य सेवाका लागि एउटा अस्पताल निर्माणको योजना छ । डेंगु नियन्त्रणका लागि टोल–टोलमा अन्तक्र्रिया र चेतनामूलक कार्यक्रम सञ्चालन गरेका छाैँ ।
तपाईंहरूले निर्वाचनका वेला सिंहदरबारको अधिकार घर–घरमा पुगेको बताउनुभएको थियो । जनताले त्यो महसुस गरेका छन् त ?
घर–घरमा सिंहदरबार भन्ने नारा पूरा भएको छैन । योजना स्वीकृत गर्न वडाबाट महानगर जानुपर्ने बाध्यता छ । वडाध्यक्षलाई एउटा कलम किन्ने अधिकारसम्म दिएको छैन । कतिपय विषयमा महानगरले वडालाई दिने अधिकारमा हस्तक्षेप गरेको छ । त्यसैले, जनताले सिंहदरबारको अधिकार घर–घरमा पुगेको आभास गरेका छैनन् । सिंहदरबारको अधिकार जनताको घरमा पुगेको छैन, तर पुग्नुपर्छ । यसअघि सुनाकोठी गाविस हुँदा स्वतन्त्र निर्णय गर्न पाइन्थ्यो । अहिले त पहिलाको गाविस जति पनि स्वतन्त्र भएर काम गर्न पाइएको छैन ।
जग्गाको खण्डीकरण रोक्ने काम कहाँ पुग्यो ?
हामीले नीति, नियमअनुसार धेरै प्रयास गरेका छौँ । तर, सफल हुन सकेका छैनौँ । भूमाफियाले कुनै ठाउँमा धेरै व्यक्तिको नाममा जग्गा किन्ने र पछि प्लटिङ गर्ने प्रवृत्ति छ । कानुनी रूपमै चलाखी गरेर भुखण्डीकरण भएको छ । यो विषय मैले मालपोत कार्यलय र महानगरमा समेत राखेको छु ।
सांस्कृतिक सम्पदा संरक्षणको क्षेत्रमा के गरिरहनुभएको छ ?
यमरी पुर्णिमा, चैत पुर्णिमा , गाईजात्रालगायत चाडपर्वको सम्वर्द्धन गर्न वडा र महानगरले बजेट विनियोजन गरेका छौँ । लोप हुन लागेका भजनको संरक्षण गरेका छौँ । भिङग्याश्वरी महादेव शिखर शैलीमा बनेको छ । यो वास्तविकस्वरूप होइन । त्यसैले यसलाई वास्तविक स्वरूपमा ल्याउन बजेट विनियोजन गरेका छौँ । यो पशुपतिभन्दा पनि पुरानो भन्ने मान्यता छ । पाटी, पौवा, सतल मर्मत संहार र संरक्षणको काम भएको छ । हामी मूर्त अमूर्त सम्पदा संरक्षणमा प्रतिबद्ध छौँ ।
वडाका योजना
वडाका समस्या