१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ भदौ २६ बिहीबार ०७:०९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

नेकपा सचिवालयमा प्रधानमन्त्रीको ब्रिफिङ : चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण बन्दै

Read Time : > 1 मिनेट
२०७६ भदौ २६ बिहीबार ०७:०९:००

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण सुनिश्चित बन्दै गएको बताएका छन् । बालुवाटारमा बुधबार आयोजित केन्द्रीय सचिवालयको बैठकमा प्रधानमन्त्री ओलीले चिनियाँ विदेशमन्त्रीको भ्रमणपछि राष्ट्रपतिको भ्रमण सुनिश्चित बन्दै गएको ‘ब्रिफिङ’ गरेका थिए । 

‘विदेशमन्त्री वाङ यीको भ्रमणले राष्ट्रपतिको भ्रमण सुनिश्चित बन्दै गएको अध्यक्षले ब्रिफिङ गर्नुभएको छ,’ एक सचिवालय सदस्यले भने, ‘विदेशमन्त्री वाङको भ्रमणमा राष्ट्रपति सीलाई स्वागत गर्न नेपाल आतुर रहेको र त्यसअनुसार तयारी अघि बढाउँछौँ भन्ने जानकारी गराइयो ।

चिनियाँ विदेशमन्त्रीले हाम्रो निमन्त्रणा तथा अपेक्षालाई गम्भीरतापूर्वक लिनुभएको, उहाँले राष्ट्रपति सी पनि नेपाल भ्रमणका लागि सकारात्मक रहेको जानकारी दिनुभएको र त्यसैअनुसार अब दुवैतर्फबाट सम्पर्कमा रहेर गृहकार्य गर्ने समझदारी भएको अध्यक्षले जानकारी गराउनुभयो ।’ 

वरिष्ठ नेता झलनाथ खनालले पनि बैठकमा प्रधानमन्त्री ओलीले राष्ट्रपति सीको भ्रमणको सम्भावना बढ्दै गएको बताएको जानकारी दिए । ‘उहाँले चिनियाँ विदेशमन्त्रीसँग भएको भेटवार्तासँगै राष्ट्रपतिको नेपाल भ्रमणको सम्भावना बढ्दै गएको सकारात्मक ब्रिफिङ गर्नुभयो,’ खनालले नयाँ पत्रिकासँग भने । 

चिनियाँ राष्ट्रपति सी असोज मसान्तछेका नेपाल भ्रमणमा आउने गरी तयारी गर्ने दुई देशबीच समझदारी भएको स्रोतको भनाइ छ । बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्था र नेपाल–भारत पेट्रोलियम पाइपलाइन उद्घाटनबारे पनि ब्रिफिङ गरेका थिए । 

‘उपचार सफल, स्वास्थ्य सामान्य हुँदै’
बैठकमा प्रधानमन्त्री ओलीले स्वास्थ्य अवस्था सामान्य बन्दै गएको बताएका थिए । ‘नियमित काम गर्न सक्ने गरी मेरो स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ, उपचार सफल भएको छ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक नेताले भने । सिंगापुरमा दुई साता लामो उपचार गरेर प्रधानमन्त्री ओली गत शुक्रबार फर्केका थिए ।

प्रदेश–२ को मुद्दामा नेपाल–खनाल एकै ठाउँ 
वरिष्ठ नेता खनाल र माधवकुमार नेपालले पछिल्लोपटक प्रदेश–२ मा देखिएको पार्टीभित्रको समस्या समाधानका लागि बैठकमा छलफलको एजेन्डा बनाउन माग राखेका छन् । दुवै नेताले प्रदेश २ कमिटी र आठवटै जिल्लामा पुराना र योग्य थुप्रै नेता–कार्यकर्तालाई नियोजित रूपमै हटाएर नवागन्तुकलाई ठाउँ दिँदा मंगलबार झडपको अवस्था निम्तिएको बताएका थिए ।

महोत्तरीको बर्दिवासमा आयोजित शपथग्रहण कार्यक्रममा साबिक एमाले र माओवादी दुवैतर्फका असन्तुष्ट नेता कार्यकर्ताले प्रदेश अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेलमाथि हातपात गरेपछि शपथग्रहण कार्यक्रम नै स्थगित भएको थियो । ध्यानाकर्षणपछि अध्यक्षद्वय ओली र प्रचण्डले अर्को बैठकमा नीतिगत रूपमै छलफल गरेर समाधान खोजिने प्रतिबद्धता जनाएको एक नेताले बताए ।

पौडेललाई दल दर्ताको जिम्मा  
सचिवालय बैठकले दल दर्ताको जिम्मेवारी महासचिव विष्णु पौडेललाई दिएको छ । १४ मंसिरमा संघ, प्रदेश र स्थानीय तहको रिक्त स्थानमा उपनिर्वाचन हुँदै छ । निर्वाचन आयोगले भदौ मसान्तभित्र दल दर्ता गरिसक्न सूचना प्रकाशित गरेको छ ।

बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दल दर्तासम्बन्धी सबै प्रक्रिया पूरा गर्ने जिम्मेवारी बैठकले महासचिव पौडेललाई दिएको बताए । तत्कालीन एमाले र माओवादी केन्द्रको एकीकरणपछि बनेको नेपाल कम्युनिस्ट पार्टी(नेकपा) निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता थिएन ।