मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ भदौ २६ बिहीबार ०६:१६:००
Read Time : > 1 मिनेट
समाचार

कार्यालय सहयोगीको लुगाभत्ता प्रधानाध्यापकको खल्तीमा

साढे ७ हजारमा काम गर्ने कार्यालय सहयोगीलाई सरकारले दिएको २२ हजारभत्ता प्रधानाध्यापक दीपेन्द्रकुमार खड्काले खाइदिए

Read Time : > 1 मिनेट
२०७६ भदौ २६ बिहीबार ०६:१६:००

कञ्चनपुरको एक सामुदायिक विद्यालयका कार्यालय सहयोगीको प्रोत्साहन र लुगाभत्ता प्रधानाध्यापकले खाइदिएका छन् । कृष्णपुर नगरपालिका–८ रैकवारविचुवास्थित नवज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक दीपेन्द्रकुमार खड्काले कार्यालय सहयोगी डम्बरसिंह भाटको प्रोत्साहन र लुगाभत्ता आफैँले लिएका हुन् ।

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष ०७४/०७५ मा कार्यालय सहयोगीलाई दिएको दुई हजार रुपैयाँ प्रोत्साहन भत्ता, आव ०७५÷०७६ मा प्रदेश सरकारले दिएको प्रोत्साहन र संघीय सरकारले दिएको लुगाभत्ता १०/१० गरी २२ हजार रुपैयाँ प्रअ खड्काले अहिलेसम्म पनि भाटलाई दिएका छैनन् । चालू आर्थिक वर्षको दुई महिना बितिसक्दा पनि अघिल्लो दुई वर्षको लुगा र प्रोत्साहन भत्ता आफूले नपाएको भाटले बताएका छन् । 

‘मैले हेडसरसँग पटक–पटक भत्ताको रकम मागेँ,’ उनले भने, ‘तर, उहाँ भोलिभोलि भन्दै टार्नुहुन्छ ।’ आफ्नो रकम प्रधानाध्यापक खड्काले नै बुझेर खाइदिएको उनको आरोप छ । साढे सात हजार रुपैयाँ तलबमा काम गर्दै आएका भाटले प्रदेश र संघीय सरकारले दिएको रकम पनि प्रअले खाइदिएपछि विद्यालय कर्मचारी परिषद्मा पनि गुनासो गरेका छन् । ‘यहाँ प्रअ खड्काको बदमासी देखिन्छ,’ परिषद्का अध्यक्ष लक्ष्मणदत्त भट्टले भने, ‘मैले पनि प्रअलाई यस विषयमा फोन गर्दा गैरजिम्मेवारीपन देखाए ।’ तुरुन्तै कार्यालय सहयोगीको रकम नदिए कानुनी उपचार खोज्ने अध्यक्ष भट्टले बताए । 

कृष्णपुर नगरपालिकाका स्रोतव्यक्ति हिम्मतराज जोशीले प्रदेश र संघीय सरकारबाट विद्यालय सहयोगीका लागि आएको प्रोत्साहन र लुगाभत्ता विद्यालयमा खाताका समयमै निकासा भएको बताए । स्रोतव्यक्ति जोशीले नगरपालिकाबाट रकम विद्यालयमा निकासा गर्दासमेत प्रअले खर्चिएको भए वा नदिएको भए असुलिने बताए । सो विषयमा थप विद्यालयमा बुझ्ने उनको भनाइ छ ।

यसबारेमा बुझ्न खोज्दा प्रअ खड्काले बोल्न अस्वीकार गरे । कृष्णपुर नगरपालिका–८ का वडाध्यक्ष अमरसिंह बडायकले यसबारेमा बुझेर पीडितलाई न्याय दिलाउने बताए । ‘यस विषयमा दुवै पक्षसँग म बुझ्छु,’ वडाध्यक्ष बडायकले भने, ‘पीडितले पाउने रकम दिलाउँछु ।’