डेंगु नियन्त्रण गर्न सांसदद्वारा सरकारको ध्यानाकर्षण

२०७६ भदौ २५ बुधबार १७:१३:००

सांसदहरुले डेंगु संक्रमणको प्रभावकारी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले डेंगुको संक्रमण बढ्दै जाँदा जनमानसमा त्रास फैलिएकाले तत्काल नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद विना देवी बुढाथोकीले डेंगु नियन्त्रण चुनौतिपूर्ण बनेको र संक्रमण फैलिदै जाँदा  जनता पनि आतंकित भएको भन्दै प्रभावकारी रुपमा नियन्त्रणका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराइन् । 

सांसद सुजाता परियारले डेंगुको संक्रमण बढ्दै गएको भन्दै सदनमा दैनिक कुरा उठिरहदा पनि सरकार गम्भीर नबनेको भन्दै तत्काल प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराइन् । संघीय संसदका दुवै सदनमा शून्य र विशेष समयमा बोल्दै सांसदहरुले दैनिक जसो डेंगु संक्रमण फैलिन नदिन प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।

त्यसैगरी आ-आफ्नो क्षेत्रगत समस्याका विषयमा पनि सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद लालकाजी गुरुङले पर्वत सदरमुकाम कुश्मादेखि दक्षिणको बाटो कालोपत्रे नहुँदा त्यस क्षेत्र र वरपरका वासिन्दाले अन्त्यन्तै जोखिम र सास्ती व्यहोर्नुपरेको भन्दै तत्काल कालोपत्रे गरि विकासको प्रतिफल चाख्ने अवसर मिलाउन सम्बन्धीत निकायको ध्यानाकर्षण गराए । सांसद बिमला विश्वकर्माले गत १७ भदौमा रसुवाको टिमुरेमा प्रहरीको सवारी साधनलाई बाटो नछोडेको निहुँमा असई र हवल्दारले सार्वजनिक स्थानमा चालक मजदुर आशिष तामाङ्गलाई निर्मम कुटपिट गरेको घटना प्रति सरकारको ध्यानाकर्षण गराइन् । उनले घटनामा संलग्नको नाम सार्वजनिक गरि कारबाही गर्न पनि माग गरिन् ।

सांसद सत्यनारायण शर्मा खनालले शिक्षा निःशुल्क भनिएपनि अंग्रेजी भाषा भन्दै शुल्क लिने गरिएको तथा केही विद्यालयमा अंग्रेजी भाषाको शिक्षण नै हुन नसकेको उल्लेख गर्दे शिक्षाक्षेत्रमा देखिएको भद्रागोल अवस्थाको अन्त्य गर्न माग गरे । सांसद सञ्जय कुमार गौतमले १० कात्तिक २०६६मा सम्पन्न नेपाल भारत वाणिज्य सन्धि अन्र्तगत गुलेरिया बुर्तिया नाका पारस्परिक व्यापारका लागि तत्काल संचालन गर्नुपर्ने मञ्जुरी भएपनि सन्धि भएको ९ वर्ष भइसक्दा पनि सो नाका संचालनमा नआएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

सांसद हरिराज अधिकारीले गोर्खाका केही गाउँमा बाँदरले आतंक मच्चाएको र फुजेल गाउँमा मात्रै एक वर्षमा ३२ जना घाइते भएको उल्लेख गर्दै बादर संरक्षण केन्द्र निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए । बाँदरको आक्रमणबाट स्थानीय घाइते हुनुको साथै खेतमा लगाएको अन्नबाली तथा फलफूलमा पनि क्षति पुगेको उल्लेख गरे । उनले सामाजिक सञ्जालको दुरुपयोग भएको भन्दै व्यवस्थित गर्न पनि माग गरे ।

सम्बन्धित समाचार