मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २५ बुधबार १६:१७:००
Read Time : < 1 मिनेट
समाचार

चाड पर्वलाई लक्ष्य गरी मिठाई पसलमा अनुगमन सुरू

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २५ बुधबार १६:१७:००

सरकारले काठमाडौंमा रहेका मिठाई पसलहरुको अनुगमनको कामलाई तीव्रता दिएको छ । दसै, तिहारजस्ता चाड पर्वलाई लक्षित गरेर कृषि विकास मन्त्रालयको अग्रसरतामा बुधबारबाट काठमाडौंको मिठाई पसलहरुको अनुगमनको कामलाई तीव्रता दिइएको हो । कृषि राज्यमन्त्री रामकुमारी चौंधरी नेतृत्वको बजार अनुगमनमा निस्केको सरकारी टोलीले काठमाडौंको त्रिपुरेश्वरस्थित आँगन, गुलाव र सजन गोथ मिठाई पसलको अनुगमन ग¥यो । गुणस्तरीय खाद्य बस्तुको उत्पादन र बिक्री वितरणका लागि सम्बन्धित निकायलाई सचेत गराउन अनुगमनको कामलाई तीव्रता दिइएको कृषि राज्यमन्त्री चौंधरीले जानकारी दिए । उनले अनुगमनको क्रममा तीनवटै पसलहरुको व्यवस्थापकीय पक्ष कमजोर देखिएकाले उनीहरुले उत्पादन गरेका मिठाई र मिठाईका परिकारहरुको गुणस्तर चेकजाँचका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाइएको बताए । सरकारले सबै खाद्य बस्तु उत्पादन तथा बिक्री वितरण केन्द्रहरुमा अनुगमनको कामलाई तीव्रता दिने योजना बनाएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक मनिता बैद्यले खाद्य बस्तुको गुणस्तरीयता र स्वच्छता कायम गराउन बजार अनुगमनको कामलाई जोड दिइएको बताइन् । उनले अनुगमनका क्रममा सफाईमा धेरै कमजोरी भेटिएको पनि बताइन् । मिठाई पसलमा प्रयोग गरिएका घ्यू, रंगको गुणस्तरीयतामाथि प्रश्न उठेकाले त्यसको परीक्षणका लागि लगिएको विभागले जनाएको छ ।

यसैबीच, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुज्ञा–पत्र लिएर मात्रै खाद्य बस्तुको बिक्री वितरण गर्न व्यापारीलाई निर्देशन दिएको छ । विभागकी महानिर्देशक बैद्यले अनुज्ञा पत्र लिएर मात्रै खाद्य बस्तुको बिक्री वितरण गर्न सम्बन्धित सबै निकायलाई सचेत गराइएको जानकारी दिए । सरकारले खाद्य बस्तुको गुणस्तरीयता र स्वच्छता कायम गराउन बजार अनुगमनको लागि काठमाडौं उपत्यकामा मात्रै दैनिक ९ वटा टोली परिचालन गर्ने दावी गर्दै आएको छ ।