मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ भदौ २५ बुधबार ११:२८:००
Read Time : > 1 मिनेट
खेलकुद

विश्वकप छनोट : नेपालको ऐतिहासिक जित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ भदौ २५ बुधबार ११:२८:००

नेपालले फिफा विश्वकप २०२२ अन्तर्गत जारी एसियाली छनोट प्रतियोगितामा पहिलो जित हात पारेको छ । समूह बीमा रहेको नेपालले मंगलबार भएको खेलमा चाइनिज ताइपेईलाई २–० गोलले पराजित गरेको हो । विश्वकप छनोटमा यो नेपालको पहिलो ‘अवे विन’ हो । नेपालले विश्वकप छनोटअन्तर्गत घरबाहिर भएका खेलमा यसअघि जित हात पार्न सकेको थिएन ।

विश्वकप छनोटको दोस्रो चरणमा नेपालको यो पहिलो जित पनि हो । नेपालले यसपटक अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)को वरीयताअनुसार सीधै दोस्रो चरणमा प्रतिस्पर्धाको अवसर पाएको हो । यो जितसँगै नेपालले तीन वर्षपछि (२०२२) कतारमा हुने विश्वकप र चार वर्षपछि (२०२३) चीनमा हुने एसिया कप छनोटको सम्भावना पनि जीवित राखेको छ । जारी छनोट प्रतियोगितालाई फिफा र एसियाली फुटबल महासंघ (एएफसी) ले विश्वकपसँगै एसियाकपका लागि पनि छनोट प्रतियोगिता मानेका छन् । समूहको विजेता टोली विश्वकप र एसियाकप छनोटमा अघिल्लो चरणमा प्रवेश गर्नेछ । साथै, समूहमा दोस्रो हुनेमध्ये उत्कृष्ट चार टोली पनि अघिल्लो चरणमा प्रवेश गर्नेछन् । नेपालले समग्रमा ३२औँ विश्वकप छनोट खेल खेलेको हो ।

१२ महिना र ९ खेलपछि पहिलो जित
नेपाली टोलीले अन्तर्राष्ट्रिय फुटबलमा १२ महिनापछि जित हात पारेको छ । नेपालले यसअघि सन् २०१८ सेप्टेम्बर ८ मा साफ च्याम्पियनसिपअन्तर्गत भएको खेलमा बंगलादेशलाई २–० ले पराजित गरेको थियो । त्यसयता १२ महिनाको अवधिमा नेपालले मैत्रीपूर्ण र विभिन्न प्रतियोगितामा गरी १० खेलमा प्रतिस्पर्धा गरेको छ । यद्यपि, १०औँ खेलमा आएर मात्रै नेपालले जित हात पारेको छ । प्रशिक्षक योहान कालिनले नेपाली टिमलाई ६ अन्तर्राष्ट्रिय खेलमा सहभागी गराउँदा पहिलो जित निकाल्न सफल भए । 

अञ्जनको पहिलो अन्तर्राष्ट्रिय गोल
नेपाली टोलीको जितमा दुवै गोल स्ट्राइकर अञ्जन विष्टले गरे । सिनियर राष्ट्रिय टोलीबाट उनको यो पहिलो गोलसमेत हो । सिनियर राष्ट्रिय टोलीबाट २९औँ खेल खेल्दा अञ्जनले पहिलो गोल गरेका हुन् । २१ वर्षीय विष्टले खेलको चौथो मिनेटमै नेपाललाई १–० ले अघि बढाएका थिए । सुजल श्रेष्ठले प्रहार गरेको फ्रिकिकमार्फत आएको बललाई अञ्जनले गोलमा परिणत गराएका थिए । 

त्यसपछि खेलको ६२औँ मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दा नेपालको ऐतिहासिक जित पक्का भएको थियो । रवि पासवानले क्रस गरेको बललाई सुजलले नै हेडिङमार्फत अञ्जनलाई ‘ब्याक पास’ दिएका थिए । सोही बललाई अञ्जनले सिक्स यार्ड बक्सनजिकबाट गोलमा परिणत गराएका थिए ।

उत्कृष्ट पुनरागमन
नेपाली टोलीले जारी विश्वकप तथा एसियाकप छनोट प्रतियोगितामा उत्कृष्ट पुनरागमन जनाएको छ । नेपाल प्रतियोगिताको आफ्नो पहिलो खेलमा कुवेतसँग ७–० ले पराजित भएको थियो । त्यसपछि भएको दोस्रो खेलमा नेपाल फिफा वरीयतामा आफूभन्दा ४१ स्थान माथि रहेको चाइनिज ताइपेविरुद्ध २–० को प्रभावशाली जित हात पार्न सफल रह्यो । नेपाली टोलीले विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा अक्टोबर १० मा बलियो प्रतिद्वन्द्वी अस्ट्रेलियासँग उसकै मैदानमा प्रतिस्पर्धा गर्दै छ । नेपालको समूहमा चाइनिज ताइपे र अस्ट्रेलियासहित जोर्डन र कुवेत रहेका छन् ।