Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
राजु सिंह, संगीतकार
२०७६ भदौ २५ बुधबार १०:४८:००
Read Time : > 1 मिनेट
सप्तरंग

सांगीतिक कोणबाट सिनेमा हेर्छु : राजु सिंह

फिल्म संवाद

Read Time : > 1 मिनेट
२०७६ भदौ २५ बुधबार १०:४८:००

म ‘सेलेक्टेड’ फिल्म बढी हेर्छु, जसका लागि ‘ब्याकग्राउन्ड’ संगीत कसको छ भन्ने चासो हुन्छ । फिल्ममा पनि सांगीतिक कोणबाट चासो लिन्छु । संगीतकार भएकाले त्यस्तो भएको होला । फिल्ममा‘एक्टर’ले भन्दा ‘एक्टिङ’ले तान्छ । 

मैले पछिल्लोपटक हेरेको फिल्म दयाहाङ राई अभिनीत ‘कबड्डी कबड्डी’ हो, जुन निकै राम्रो लाग्यो । नेपाली फिल्म उद्योग प्राविधिक हिसाबमा एकदमै सबल भइसकेको छ । पटकथामा सुधार गरियो भने अझै अब्बल नेपाली फिल्म बनाउन सकिने देखेको छु । मैले हेरेको पछिल्लो हिन्दी फिल्म शाहरूख खानको ‘जिरो’ हो, जसमा नयाँ कथाको प्रयोग भएको छ र सांगीतिक हिसाबमा पनि एकदमै राम्रो छ ।

राज कपुरको फिल्म ‘राम तेरी गंगा मैली’ अहिलेसम्म हेरेकामध्ये उत्कृष्ट सिनेमा हो । त्यो सांगीतिक दृष्टिबाट पनि उत्कृष्ट छ । त्यो फिल्म मैले दोहोर्‍याइ–तेहेर्‍याई हेरेको छु । शिव श्रेष्ठ अभिनीत फिल्म ‘कान्छी’ पनि मलाई धेरै मन परेको थियो । त्यसमा शुद्ध नेपालीपनका साथै गोपाल योञ्जनको उत्कृष्ट संगीत छ ।

हिन्दी फिल्म ‘ब्ल्याक’मा रानी मुखर्जीको अभिनयले मलाई रुवायो । त्यो फिल्म हेर्न नरेश भट्टराई, वसन्त बित्यासी र म हलमा गएका थियौँ । फिल्मको कथावस्तुले हामीलाई ‘साइलेन्ट मुड’मा लगिदियो । फिल्म हेर्दै गर्दा मेरा आँखाबाट निरन्तर आँसु झरिरहे ।

नीर शाह, मिथिला शर्मालगायत नेपाली कलाकार र हिन्दीमा रेखाको अभिनय मलाई मन पर्छ । हिन्दीमै काजोल र सोनम कपुरको अभिनयले पनि छुन्छ । नेपाली कलाकारहरू रेखा थापा, करिश्मा मानन्धर, साम्राज्ञीराज्यलक्ष्मी शाह पनि मलाई मन पर्छन् । दिलीप रायमाझी, विपिन कार्की, सौगात मल्ल, दयाहाङ राई र खगेन्द्र लामिछानेको प्राकृतिक अभिनयले अभिनयको मूल्य बढाएको छ ।

मैले ‘मालती’, ‘युगदेखि युगसम्म’, ‘रे’ लगायत फिल्ममा संगीत गरेको छु । मैले ‘जज’को रूपमा ‘स्वर’ फिल्ममा अभिनय पनि गरेको छु । केकी अधिकारी, राजबल्लभ कोइरालालगायत कलाकारले त्यस फिल्ममा अभिनय गर्नुभएको थियो । यस्तै, ‘नबोलेनी हाँसिराख न’ लगायत धेरै फिल्ममा ‘जज’को रूपमै अभिनय गरेको छु ।