मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
प्रविता श्रेष्ठ काठमाडाैं
२०७६ भदौ २५ बुधबार १०:४४:००
Read Time : > 2 मिनेट
नयाँCity

भिन्टेज सिटीका भिन्टेज कार

Read Time : > 2 मिनेट
प्रविता श्रेष्ठ काठमाडाैं
२०७६ भदौ २५ बुधबार १०:४४:००

नेपाली भाषामा ‘भ्यागुते गाडी’ भनिन्छ, ‘भिन्टेज’ कारलाई । यस्ता गाडी सडकमा गुडिरहेको देखिए जोकोही फर्कीफर्की हेर्छन् । भक्सवागनको ‘बिटल’ कार वेलावेलामा नेपालका सडकमा पनि देखिन्छन् । यस्ता कारले इतिहास मात्र बोकेका छैनन्, निजी सवारीसाधनको विकासक्रम पनि साथमा लिएर हिँडेका छन् । ‘ओल्ड इज गोल्ड’को उक्ति यी कारका लागि उपयुक्त शब्दावली हुन सक्छ ।

पुष्परत्न शाक्य पेसाले बुटिक व्यवसायी हुन् । त्यसबाहेक उनको अर्को प्यासन पनि छ, अटो मोडिफिकेसनको । उनका लागि यस्ता कार ‘गोल्ड’ मात्र होइनन्, ‘डाइमन्ड’ नै हुन् । ‘अटो मोडिफिकेसन’को सिलसिलामा उनी भारत पुग्ने गर्छन् । सधैँ सामान्य कफीका लागि बोलाउने गरेका उनका भारतीय मित्रले एकपटक डिनरमा आमन्त्रण गरे । कारण थियो– उनीसँग रहेका तीनवटा भिन्टेज कारबारे बुझ्नु ।

नेपालमा यस्ता कार देख्दा विदेशीहरू अचम्ममा पर्ने गरेको उनी बताउँछन् । शाक्यसहितका सौखिनहरू मिलेर ‘एसोसिएसन अफ नेपाल बिटल्स युजर्स ग्रुप’ नै गठन गरेका छन् । संसारभर यस्ता कारलाई माया गरेर राख्ने गरिएको उनको भनाइ छ । त्यही माया उनले पनि दिएका छन्, बाबु–बाजेले चढेका कारलाई । उनका अनुसार थाइल्यान्डमा यस्ता कारलाई ‘रिच म्यान टोए’ अर्थात् धनीको खेलौना भन्ने गरिन्छ । ‘त्यसैले हामीसँग भिन्टेज कार हुनु चानचुने कुरा होइन,’ शाक्य भन्छन् ।

रेस्टुराँ व्यवसायी हुन्, उमेश गुरुङ । वेलावेलामा उनी आफ्नो भिन्टेज कारमा बिजुलीबजारस्थित ‘दी लास्ट कल लाउन्ज एन्ड स्पोर्टस् बार’ पुग्छन् । बारमा आएका ग्राहक उनको कारसँग तस्बिर खिच्न लालायित हुन्छन् । यस्तै, किशोर नकर्मीको पुख्र्यौली पेसा मेकानिक्स हो । खेलौना बनाउने र कार मर्मत गर्ने गर्छन्, उनी । उनको ग्यारेज अरूभन्दा भिन्न छ ।

काठमाडौंमा भिन्टेज कार सडकमा निकाल्न पाइँदैन, तर थाइल्यान्डमा पर्यटकले सहर घुम्न त्यस्तै गाडी रोज्छन् । विकसित मुलुकमा यस्ता गाडीलाई कर मिनाहा गर्ने गरिएको छ ।

ग्यारेजको भित्तामा टाँगिएका विदेशी र पुराना गाडी अनि हजुरबुबा र बुबाका तस्बिरहरूले ‘भिन्टेज’ कारसँगको उनको नाता प्रस्ट्याउँछन् । ग्यारेजमा भक्सवागनको बिटल कार राखेका छन् ।

०००
बिटल जर्मनीमा बनेको कार हो । फर्डिनान्ड पोर्साले अन्वेषण गरेको यस कारको आइडिया भने एडोल्फ हिटलरले ल्याएका थिए । हिटलरले आफ्नो देशमा हरेक घरमा यो कार हुनुपर्ने उर्दी नै जारी गरेका थिए । नेपालमा राजा त्रिभुवनको पालामा ‘डेम्लर बेन्ज’ कार भित्रिएको थियो ।

हिटलरले सन् १९३९ मा राजा त्रिभुवनलाई यो कार उपहार दिएका थिए ।  त्यो कार अहिले नारायणहिटी दरबार संग्रहालयमा थन्किएको छ । शाक्यका अनुसार सन् १९६० को दशकमा सडकमार्गबाटै विदेशीहरू नेपाल घुम्न आउँथे । आफू सवार कार यतै बिक्री गर्थे र विमान चढेर फर्किन्थे । ती कार काठमाडौंका रैथाने नेवारहरूले खरिद गर्थे ।
०००
नेपालमा बिटलमा मात्र भिन्टेज कार भन्ने गरिएको छ । तर, क्लासिक फोर्ड, अमेरिकी गाडीहरू, मर्सिडिज, मस्टाङ पनि भिन्टेजकै वर्गीकरणमा पर्छन् । खासगरी, फोर्ड र अस्टिन कम्पनीका गाडी भिन्टेजमा पर्छन् । ती गाडी सन् १९६० ताका बनेका हुन् । सन् १८९६ देखि १९१५ सम्म बनेका गाडी एन्टिक वर्गीकरणमा पर्छन् । सन् १९१९ देखि १९३० सम्म बनेकालाई भिन्टेज नाम दिइएको छ । यस्तै, २० वर्षभन्दा पुराना गाडीलाई क्लासिक भन्ने गरिएको छ ।

सबै वर्गीकरणका गाडी नेपालमा रहेको नकर्मी बताउँछन् । भन्छन्, ‘राणा शासकहरू गाडीका सौखिन थिए, त्यसैले पुराना गाडी नेपाल भित्रिए ।’ उनका अनुसार भिन्जेट कारलाई प्रयोगमा ल्याउने हो भने केही पनि परिवर्तन गर्न पाइँदैन । ‘बिटलको बडी हातले बनाएको हो,’ नकर्मी भन्छन्, ‘दोस्रो विश्वयुद्धमा हिटलरले यो गाडी बनाउन लगाएका हुन् । दोस्रो विश्वयुद्धमा जर्मनीको विजय भएमा हरेक सैनिकलाई एउटा बिटल कार दिने घोषणा उनले गरेका थिए ।’

०००
सरकारले १ चैत ०७३ देखि २० वर्ष पुराना गाडी गुडाउन प्रतिबन्ध लगायो । ‘भिन्टेज’ कार काठमाडौंका सडकमा गुड्न थालेको इतिहास झन्डै आठ दशकको छ । सोही कारण यस्ता कार सडकमा निकाल्न ट्राफिक जाँचका कारण समस्या रहेको शाक्य बताउँछन् । यस्ता कार गुडाउनुपरे वार्षिक ५० देखि ६० हजार रुपैयाँ कर बुझाउनुपर्छ, जुन बर्सेनि १० प्रतिशतका दरले बढ्छ । विकसित मुलुकमा भने यस्ता गाडीलाई कर मिनाहा गर्ने गरिएको छ । ‘एकपटक गाडी लिएर रेस्टुराँ गएको थिएँ । निस्कँदा ट्राफिक प्रहरी ढुकेर बसेका रहेछन्,’ शाक्य भन्छन्, ‘मानौँ, मैले ठूलै अपराध गरेको हुँ ।’

उनका अनुसार जर्मनीको डिडब्लू–१ टेलिभिजन च्यानलले नेपालमा रहेका यस्ता कारहरू खोजीखोजी वृत्तचित्र बनाएको थियो । ‘भिन्टेज कार नेपालका शान हुन्,’ उनी भन्छन्, ‘विदेशी पर्यटकको नजरमा यी कार पर्दै आएका छन् ।’

उनका अनुसार थाइल्यान्ड पुग्ने विदेशी पर्यटक यस्ता कारमा महँगो भाडा तिरेर सहरको अवलोकनमा निस्किन्छन् । नेपालमा भने यस्ता कार कवाडी वा निजी प्रयोगमै सीमित छन् । ‘भिन्टेज’ कारको संवद्र्धनका लागि बिटल युजर्स ग्रुपले बर्सेनि -याली गर्दै आएको छ । सरकारले भने यस्ता गाडीको महत्व बुझ्न नसकेको सौखिनहरू बताउँछन् ।