संस्थागत भ्रष्टाचार आरोप झेल्दै आएको संस्था नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो सम्पत्ति सार्वजनिक गर्दै सेनामा व्यापक सुधारको घोषणा गरेका छन् । नेतृत्व सम्हालेको एक वर्षको अवसरमा मंगलबार सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा थापाले पूर्ण रूपमा आर्थिक अनुशासन कायम गरी संस्थागत सुधारको प्रतिबद्धता व्यक्त गरेका छन् ।
आफ्नो सम्पत्ति सार्वजनिक गरी अन्य सैनिक अधिकारीलाई पनि सम्पत्ति सार्वजनिक गर्न उनले आग्रह गरे । सेनालाई पारदर्शी बनाउने अभियानअन्तर्गत सम्पत्ति सार्वजनिक गरिएको उनको भनाइ छ । सेनाका प्रधानसेनापतिले पहिलोपटक यसरी सम्पत्ति सार्वजनिक गरेका हुन् ।
सञ्चारमाध्यम र सिनियर सैनिक अधिकारीलाई राखेर गरिएको सम्बोधनमा उनले सेनाभित्र पारदर्शिता कायम गरी निश्चित पद्धतिमा अघि बढाउने घोषणा गरे । लोकप्रियताका लागि नभई प्रणालीगत रूपमै सुधारका लागि आफूले कदम चालेको थापाको भनाइ छ ।
सम्पत्ति कति ?
सम्पत्ति कति ?सार्वजनिक विवरणअनुसार काठमाडौं–२६ मा आठ आना दुई पैसा दुई दाम जग्गामा बनेको उनको एउटा घर छ । जुन घर आमाबाट बकसप्राप्त भएको उनले उल्लेख गरेका छन् । काठमाडौं, लमजुङ र नवलपरासीमा गरेर उनका ६ ठाउँमा जग्गा छन् । काठमाडौं–२६ मा थप दुई आना, लमजुङको बेँसीसहरमा १२ रोपनी, काठमाडौं–४ मा चार रोपनी ११ आना चार पैसा जग्गा छ ।
नवलपरासीको कोल्हुवामा १२ कट्ठा, लमजुङको बेँसीसहरमा एक रोपनी एक दाम जग्गा उल्लेख गरेका छन् । उनीसँग करिब ३८ लाख मूल्यबराबरको ५५ तोला सुन र एक लाख रुपैयाँबराबरको ५९० तोला चाँदी, हीरा र सुनका औँठी छन् । सुन, चाँदी पैतृक र श्रीमतीले खरिद गरेको उनले जनाएका छन् ।
उनको बैंक खातामा अमेरिकन डलरसमेत गरेर २३ लाख बचत छ । ऋण करिब ८० लाख रुपैयाँ उल्लेख गरिएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको खातामा १६ लाख ६१ हजार ९९८ रुपैयाँ, सोही बैंकमा पाँच हजार ९७० अमेरिकी डलर, ग्लोबल आइएमई बैंकमा ४२ हजार २९८ तथा मेघा बैंकमा रहेको श्रीमतीको नाममा रहेको खातामा ५० हजार रुपैयाँ छ ।
निवृत्तिभरणको सेवा अवधि १६ वर्ष
‘प्रधानसेनापति रोलक्रम’ कार्यक्रममा तल्लो तहका सैनिकको सबैभन्दा धेरै गुनासो निवृत्तिभरणको सेवाअधि १६ वर्ष बनाउन माग भएपछि सेनाले सोहीअनुसार ऐन संशोधनका लागि रक्षा मन्त्रालयलाई पत्राचार गरेको छ । हाल पेन्सन लिएर निवृत्तिभरणका लागि २० वर्ष सेवा अवधि पुग्नुपर्ने प्रावधान छ ।
सरकारले सबै निकायमा सेवा अवधिको उमेर एकरूपता बढाई २० बनाएको थियो । सेना तथा प्रहरीमा पेन्सनको अवधिलाई १६ बनाउन माग हुँदै आएको छ । आफूले रक्षा मन्त्रालयमा त्यससम्बन्धी पत्राचार गरेको जानकारी प्रधानसेनापति थापाले मंगलबार गराएका छन् ।