मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ भदौ २५ बुधबार ०७:१०:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

एक अर्ब ५५ करोडमा नेपाल प्रहरीका तीन अत्याधुनिक भवन

Read Time : > 2 मिनेट
२०७६ भदौ २५ बुधबार ०७:१०:००

नेपाल प्रहरीले एकै दिन एक अर्ब ५५ करोड रुपैयाँ लागतमा तीनवटा अत्याधुनिक भवन निर्माण सुरु गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौं, अपराध अनुसन्धान महाशाखाको कार्यालय र अन्तर्राष्ट्रियस्तरका सेमिनार तथा खेलकुद प्रतियोगिता गर्न भवन निर्माण सुरु गरेको प्रहरीले जानकारी दिएको छ ।  तीनवटै भवन ०७८ भदौसम्ममा तयार भइसक्नेछन् ।

नेपाल प्रहरीको भौतिक पूर्वाधार निर्देशनालयका प्रमुख डिआइजी लोकेश सिंहले निर्माण आरम्भ गरिएका तीनवटा भवन अल्ट्रा मोर्डन शैलीका भएको बताए । उनले भने, ‘हामीले एकै दिन करिब एक अर्ब ५५ करोडको लागतमा तीनवटा भवन निर्माण सुरु गरेका छौँ । अबको दुई वर्षभित्र निर्माण सकिनेछ । यो भवन मोडर्न होइन, अल्ट्रा मोडर्न शैलीमा निर्माण हुनेछ । जसले नेपाल प्रहरीलाई हेर्ने परम्परागत दृष्टिकोण नै बदल्नेछ ।’

प्रहरीका अनुसार काठमाडौं परिसरका लागि सर्वोच्च अदालतसामुन्ने भद्रकालीस्थित १५ रोपनी जग्गामा अत्याधुनिक भवन निर्माण सुरु भएको छ । ८० करोड रुपैयाँमा बनाउन लागिएको सो भवन २२ महिनामा तयार भइसक्नेछ । 

अपराध महाशाखाका लागि टेकुस्थित नौ रोपनी जग्गामा भवन निर्माण सुरु भएको छ । ३५ करोड रुपैयाँमा बन्न लागेको भवनको निर्माण १८ महिनामा पूरा हुनेछ । अन्तर्राष्ट्रियस्तरका सेमिनार तथा खेलकुद प्रतियोगिता हल भने भृकुटी मण्डपस्थित नेपाल पुलिस क्बलमा बन्नेछ । यसको लागत रकम ४० करोड रुपैयाँको छ । २४ महिनाभित्र निर्माण कार्य पूरा हुने प्रहरीले जनाएको छ । 

डिआइजी सिंहले भने, ‘भृकुटी मण्डपस्थित बन्न लागेको हलमा एकैपटकमा ८ सयजना अटाउन सक्नेछन् । यो अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रपछिको अर्को आकर्षक र सुविधा सम्पन्न हल हुनेछ । हलकै आडमा अत्याधुनिक मिनी स्पोर्टस् स्टेडियम पनि बन्नेछ । यसमा नेपाल प्रहरीको अलावा अन्य निकायले समेत टुर्नामेन्ट गर्न सक्नेछन् । पार्किङका लागि उचित प्रबन्ध गरिएको छ । यी सबैको डिजाइन यसरी गरिएको छ, जुन नेपालमा अहिलेसम्म भएकै थिएन ।’

 यस्तो बन्दै छ काठमाडौं परिसर

६ रोपनीमा काठमाडौं परिसरको भवनको जग बस्नेछ । भवन आठ तलाको हुनेछ । जसमा प्रहरीको मुख्य कार्यालय रहनेछ । मुख्य कार्यालयको ठीक बायाँतर्फको भागमा प्रहरीको ब्यारेक रहनेछ । जुन चार तलाको हुनेछ । कार्यालयको दायाँतर्फको भागमा भने हिरासत कक्ष रहनेछ । सो कक्ष पनि चार तलाकै हुनेछ । कार्यालयको बायाँतर्फका अर्का दुई तलामा प्रहरीका लागि व्यायाम कक्ष रहनेछ । दायाँतर्फको अर्को दुई तला भने सर्वसाधारणको उजुरी लिने कक्षका लागि प्रयोग गरिनेछ । 

अन्डरग्राउन्डमा अत्याधुनिक पार्किङ रहनेछ । जहाँ एक सय गाडी र दुई सयभन्दा धेरै मोटरसाइकल एकैपटक पार्किङ गर्न सकिनेछ । भवनको मुख्य भागको आठ तलासम्मै पुग्ने अत्याधुनिक लिफ्ट रहनेछ । भवनभित्र एकैपटक दुई सयजना अटाउने अत्याधुनिक कन्फरेन्स हल रहनेछ । एक सयजना अटाउने अर्को बैठक कक्ष पनि भवनभित्रै रहनेछ । प्रहरीका लागि सुविधा सम्पन्न मेस, टेलरिङ कक्ष, नास्ता कक्ष तथा मनोरञ्जन कक्ष पनि भवनभित्र रहनेछन् । 

भवनका प्रत्येक कक्षमा प्रकाशको पहुँच पुग्ने उद्देश्यले नक्सा बनाइएको छ । जसमा वास्तु विज्ञानलाई पनि उत्तिकै ध्यान दिइएको छ । विशेषगरी कार्यालयका प्रमुख, उपप्रमुख तथा विशेष जिम्मेवारीमा रहने अधिकृतको कार्यकक्ष निर्माणमा वास्तु विज्ञानलाई ध्यान दिइएको छ । भवनको प्रवेशद्वार पनि आकर्षक बनाइएको छ ।

 यस्तो बन्दै छ अपराध महाशाखा

टेकुस्थित नौ रोपनी जग्गामा अपराध महाशाखाको ६ तले अत्याधुनिक भवन बन्नेछ । पहिलो तलामा हिरासत कक्ष हुनेछ । महिला, पुरुष र बालबालिकाका लागि फरक–फरक हिरासत कक्ष हुनेछन । कक्षमा सबै गरी तीन सयजना एकैपटक अटाउन सक्नेछन् । दोस्रो तलामा कार्यालय प्रमुखको कोठा रहनेछ । जसमा गोप्यरुम, मिटिङहल, बैठकहल, बाथरुम, पिएरुम रहनेछन् । पाहुना तथा पत्रकार सम्मेलनका लागि पनि यही तलामा हल बन्नेछन् । 

तेस्रो, चौथो, पाँचौँ र छैठौँ तलामा भने अप्रेसनल रुम हुनेछ । महाशाखाका कार्यसम्पादन यहीँबाट हुनेछन् । प्रत्येक तलामा फरक–फरक पिलर रहनेछन् । पिलर प्रमुखका लागि छुट्टाछुट्टै रुम हुनेछन् । प्रत्येक तलामा इट्रोगेसनका लागि विशेष कक्ष हुनेछन् । कक्ष अन्तर्राष्ट्रिय मापदण्डअनुसारका हुनेछन् । प्रत्येक कक्ष सिसिटिभीको निगरानीमा रहेनछन् । प्रहरीका लागि आवश्यक ब्यारेक, क्यान्टिन, व्यायामशाला पनि भवनभित्र अटाउनेछन् । 

महाशाखा प्रमुख एसएसपी सहकुल थापाले भने, ‘भवन अत्याधुनिक खालको बन्नेछ । विश्वका प्रहरीले अपनाएका सम्पूर्ण अनुसन्धान प्रविधि रहने गरी भवनको नक्सांकन भएको छ । यो अन्तर्राष्ट्रिय मापदण्डअनुसारको छ । नेपाल प्रहरीको साइबर ब्युरो पनि यहीँ बस्ने भन्ने छ । त्यसो हुँदा भवन पक्कै पनि सुविधा सम्पन्न हुनेछ ।’