मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका  जुम्ला
२०७६ भदौ २५ बुधबार ०६:५२:००
Read Time : > 1 मिनेट
समाचार

बिजुली नबालेरै थन्कियो डिजेल प्लान्ट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका  जुम्ला
२०७६ भदौ २५ बुधबार ०६:५२:००

जुम्लामा केही महिनादेखि विद्युत् संकट भएपछि नेपाल विद्युत्् प्राधिकरणले उपलब्ध गराएको डिजेल प्लान्ट त्यसै थन्किएको छ । विद्युत्् प्राधिकरणले डिजेल प्लान्ट उपकरण मात्र उपलब्ध गराएको र डिजेल उपलब्ध नगराएपछि मेसिन थन्किएको बताइएको छ ।  

जुम्लाको विद्युत् संकटका विषयमा संसद्मा ऊर्जामन्त्री वर्षमान पुन र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको आलोचना भएपछि २९ साउनमा डिजेल प्लान्ट जुम्ला पुगेको थियो । 

जुम्लाका सांसद गजेन्द्रबहादुर महतले प्रतिनिधिसभाको बैठकमा मन्त्री पुन र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बेवास्ता गरेको बताएका थिए । जुम्ला सदरमुकाम खलंगा महिनौँदेखि विद्युत््विहीन भएको, तर सम्बन्धित व्यक्तिहरूले फोनसमेत नउठाउने गरेको भन्दै सांसद महतले आलोचना गरेका थिए ।

सांसद महतले आलोचना गरेपछि प्राधिकरणले जुम्लाका लागि तीन सय केभीको डिजेल प्लान्ट पठाएको हो । डिजेल प्लान्टसँग एकजना कर्मचारीको व्यवस्था गरे पनि प्राधिकरणले डिजेल उपलब्ध नगराएकाले मेसिन थन्किएको साना जलविद्युत्् उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर बुढ्थापाले बताए । 

‘प्राधिकरणले जुम्लाका सांसदको रिस थाम्नका निम्ति मात्रै  मेसिन दिएको रहेछ,’ उनले व्यंग्य गर्दै भने, ‘प्राधिकरणले उपलब्ध गराएको डिजेल प्लान्ट हरियो घाँस र पानी हाल्दा पनि चलेन । प्रतिघन्टा ५० लिटर डिजेल खर्च हुन्छ । यो खर्च यहाँबाट जुटाउन सकिएन ।’ प्राधिकरण डिजेल उपलब्ध नगराएपछि मेसिन थन्किएको उनको भनाइ छ ।  

अहिले सांसद गजेन्द्रबहादुर महतले स्थानीय पूर्वाधार कोषबाट २४ लाख ६० हजारको लगानीमा डिजेल प्लान्ट मेसिन खरिद गरी बिजुली बालिएको अध्यक्ष बुढ्थापाले बताए । ज्याक्सन कम्पनीको दुई सय केभी (१६० किलोवाट) को मेसिनबाट बिजुली बालिएको उनको भनाइ छ । डिजेलबाट बिजुलीबाट बढी खर्च हुने भएकाले एक दिनमा नौ घन्टा मात्र विद्युत्् आपूर्ति गर्न सकिएको अध्यक्ष बुढ्थापाले बताए ।  

जुम्ला सदरमुकाम बत्तीविहीन भएपछि सरकारी कामकाजदेखि जनतालाई चाडपर्वको वेला अँध्यारो भएको भन्दै सांसद महतको संसद् स्थानीय पूर्वाधार कोषबाट ५० लाख अल्पकालीन बत्ती बाल्नका लागि विनियोजन गरिएको हो । 

तीन दशकअघि निर्माण भएको साना जलविद्युत् आयोजनामा नयाँ मेसिन जडान गर्न गत कात्तिकदेखि विद्युत् आपूर्ति बन्द गरिएको थियो । तर, नयाँ मेसिन जडान गर्ने क्रममा बेरिङ भाँचिएको थियो । जसले गर्दा विद्युत् आपूर्ति सहज हुन सकेको छैन । मेसिन मर्मतका लागि धनगढी पठाएको मेसिन एक–दुई दिनमा जुम्ला पुग्ने र भदौ मसान्तसम्म पानीबाट बिजुली बाल्ने तयारी भइरहेको साना जलविद्युत् उपभोक्ता समिति अध्यक्ष बुढ्थापाले बताए । 

नयाँ मेसिन जडानका लागि नेपालस्थित भारतीय दूतावासले सहयोग गरेको थियो । भारतीय कम्पनी पासी शुभकामना जेभीलाई जडानको ठेक्का दिइएको थियो । जसमा भारतीय दूतावासले दुई करोड ६३ लाख ७७ हजार र साना जलविद्युत् उपभोक्ता समितिको ४५ लाख २२ हजार नौ सय रहेको छ । नयाँ मेसिनको बेरिङ भाँचिएपछि डिजेल प्लान्ट जडान गरिएको छ । उपभोक्ता समितिले स्थानीय पूर्वाधार कोषको २६ लाख ४० हजार खर्च गरेर एक सय ६० किलोवाटको  डिजेल प्लान्ट जडान गरिएको हो ।