मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ भदौ २४ मंगलबार ०९:४०:००
Read Time : > 1 मिनेट
खेलकुद

विश्वकप छनोट : नेपाललाई खेलमा फर्कने मौका

Read Time : > 1 मिनेट
२०७६ भदौ २४ मंगलबार ०९:४०:००

सन् २०२२ को कतार विश्वकप फुटबल छनोट अभियानमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले मंगलबार चाइनिज ताइपेईको सामना गर्दै छ । पहिलो छनोट खेलमा कुवेतसँग ७–० ले पराजित भएको नेपालका लागि आफ्नो साख रक्षा गर्न र छनोटमा उत्कृष्ट पुनरागमन अवसरका रूपमा ताइपेईविरुद्धको खेल महत्वपूर्ण छ । नेपाली टोलीका प्रमुख प्रशिक्षक योहान कालिनमाथि नेपाललाई प्रतियोगितामा फर्काउने दबाब पनि उत्तिकै छ । 

 एक मात्र खेल
नेपाली राष्ट्रिय फुटबल टोलीले ताइपेईविरुद्ध अहिलेसम्म एकपटक मात्र प्रतिस्पर्धा गरेको छ । गत ६ जुनमा काओसिउन्जस्थित नेसनल रंगशालामा भएको खेलमा नेपालले १–१ गोलको बराबरी खेलेको थियो । तत्कालीन समयमा नेपालका लागि अभिषेक रिजालले बराबरी गोल गर्दै हार टारेका थिए । त्यसैले पनि नेपालले ताइपेईको मैदानमा कम्तीमा बराबरीका लागि प्रतिस्पर्धा गर्नेछ । फिफा वरीयतामा ताइपेई नेपालभन्दा निकै अघि छ । ताइपेई वरीयताको १२५औँ स्थानमा छ भने नेपाल १६६औँ स्थानमा छ । वरीयतामा नेपालभन्दा ताइपेई ४१ स्थान माथि छ । 

 डिफेन्सदेखि फिनिसिङसम्म सुधार्नुपर्ने
कुवेतसँगको प्रतिस्पर्धामा नेपालको केही चलेको थिएन । डिफेन्सदेखि फिनिसिङसम्म नेपाली खेलाडी कमजोर देखिएका थिए । कुवेतले गरेका सातै गोल नेपालको कमजोर डिफेन्स र गल्तीमा भएका थिए । दोस्रो खेलमा नेपालले ताइपेईलाई कडा चुनौती दिन यी सबै पक्षमा सुधार गर्नु आवश्यक छ । कुवेतको काउन्टर र आक्रामक खेलमा नेपालका खेलाडीले अगाडि बढ्ने मौकै पाएनन् । कुवेतविरुद्ध नेपाली खेलाडीले आक्रामकभन्दा पनि रक्षात्मक रणनीति अपनाएका थिए । यद्यपि, प्रशिक्षकले नेपाली टोलीको संरचना आक्रामक बनाएका थिए । 

२०२२ को विश्वकप छनोट खेलमा कुवेतसँग ७–० ले पराजित भएको नेपालले दोस्रो खेलमा मंगलबार चाइनिज ताइपेईको सामना गर्दै

पछिल्ला कमजोरी सुधार्छौं : प्रशिक्षक कालिन
नेपालका मुख्य प्रशिक्षक कालिनले कुवेतविरुद्धको निराशाजनक नतिजालाई सुधार्ने बताएका छन् । ताइपेईमा सोमबार आयोजित प्रिम्याच पोस्टकन्फरेन्समा प्रशिक्षक कालिनले कुवेतविरुद्ध अप्रत्याशित गोल खाएको समेत जनाए । ‘कुवेतविरुद्ध हामी अप्रत्याशित रूपमा सुरुमै गोल खान पुग्यौँ, सो खेलमा भएका कमजोरी ताइपेईविरुद्ध सुधार्नेछौँ,’ कालिनले भने । ताइपेई कमजोर टोलीका रूपमा नरहेको उनले बताए । ‘धेरैले ताइपेईलाई कमजोर रूपमा लिने गरेका छन्, तर वरीयता र प्रदर्शन नेपालको भन्दा उत्कृष्ट रहेको छ,’ विपक्षीको प्रशंसा गर्दै कालिनले भने, ‘हामी विपक्षीलाई कमजोर आँकेर मैदानमा प्रवेश गर्नेछैनौँ, आफ्नो खेलको ट्र्याकमा फर्कंदै अंक लिने लक्ष्यमा हुनेछौँ ।’

तयारी कम भयो :  चेम्जोङ
नेपालका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले ताइपेईविरुद्धको खेलका लागि तयार रहेको बताए । यद्यपि, उनले नेपालले ताइपेईविरुद्धको खेलका राम्रो तयारी गर्न भने नपाएको बताए । गत शुक्रबार कुवेतविरुद्ध प्रतिस्पर्धा गरेको नेपाल शनिबार नै ताइपेईतर्फ लागेको थियो । यसकारण दोस्रो खेलका लागि नेपाली खेलाडीले राम्रोसँग अभ्यास गर्ने अवसर नपाएको चेम्जोङको भनाइ रह्यो । ‘हामीले सामान्य अभ्यास गरेका छौँ, ताइपेईविरुद्धको खेलका लागि नै भनेर खास तयारी गरेका छैनौँ,’ उनले भने, ‘कुवेतपछि हामीले ताइपेईविरुद्धको खेललाई महत्वका साथ लिएका छौँ ।’

 जित्नैपर्ने खेल :  लुइस
ताइपेईका प्रशिक्षक लुइस लन्कास्टरले नेपालविरुद्धको खेल जित्नुको विकल्प नभएको बताएका छन् । उनले भने, ‘हामीले आफ्नो तर्पmबाट उत्कृष्ट प्रदर्शन गर्नुपर्नेछ । यदि हामीले जित निकाल्न सकेनौँ भने छनोटबाट बाहिरिएबराबर हुनेछ ।’ पहिलो खेलमा पराजित भएकाले दोस्रो खेल महत्वपूर्ण भएको उनले बताए । ‘अब हामीसित पछि फर्कने समय छैन, आगामी खेलमा नतिजा निकाल्नुको विकल्प हामीसँग हुन्न,’ उनले भने ।