१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ भदौ २४ मंगलबार ०७:१६:००
Read Time : > 3 मिनेट
सेयर बजार

घट्यो सेयर बिक्री आदेश

Read Time : > 3 मिनेट
२०७६ भदौ २४ मंगलबार ०७:१६:००

नेप्से निरन्तर ओरालो लागेसँगै बजारमा सेयर बिक्री आदेश दिने लगानीकर्ता घट्न थालेका छन् । अहिले कम्पनीहरूको सेयरमूल्य निकै सस्तो भइसकेको छ । बजार बढ्नुपर्ने समयमा पनि निरन्तर ओरालो लागेपछि लगानीकर्ता तत्काल सेयर बिक्री नगर्ने निर्णयमा पुगेका हुन् । सूचीकृत कम्पनीहरूको गत आवको मुनाफाबाट लाभांश घोषणा गर्नुका साथै सो लाभांश पारित गर्न साधारणसभाको मिति तय गर्न थालिसकेका छन् । सस्तो मूल्यमा सेयर खरिद गरी छोटो अवधिमा नै प्रतिफल प्राप्त गर्ने समयमा पनि बजार नबढेपछि लगानीकर्ता ‘पर्ख र हेर’को रणनीति अपनाउन थालेको एक ब्रोकरले बताए । गत सातासम्म केही त्रसित लगानीकर्ता सेयर बिक्री गरिरहेका थिए । तर, यस दिन बिक्री आदेश दिने लगानीकर्ता नै घटेको उनको भनाइ छ । अहिले लगानीकर्ताको कमजोर मनोबलका कारण बजार बढ्न नसकेको एक विश्लेषकले बताए । नेप्से निरन्तर घटेका कारण लगानीकर्ता निराश भइसकेको उनको भनाइ छ । लगानीकर्ताले कम्पनीहरूको सही विश्लेषण गरी मनोबल बढाएर लगानी गर्नतर्फ लागे बजार सकारात्मक दिशातर्फ लाग्ने उनले बताए ।  

बजार सारांश
सोमबार नेप्से परिसूचक ९ दशमलव ५४ अंक घटेर १ हजार १ सय ६८ दशमलव ९१ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन १ दशमलव ७७ अंक घटेर २ सय ५५ दशमलव ३५ बिन्दुमा पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स यस दिन शून्य दशमलव ६३ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ४८ अंक घटेको छ । यस दिन १ सय ७३ कम्पनीको ७ हजार ८ सय ३६ पटकको कारोबारमा ५९ करोड ९२ लाख ७ सय ६४ रुपैयाँबराबरको १४ लाख २८ हजार ८ सय ३८ कित्ता सेयर खरिद–बिक्री भएको छ । 

प्राविधिक विश्लेषण
आरएसआई : नेप्सेको १४ दिने आरएसआई यस दिन २८ दशमलव ८१ स्केलमा पुगेको छ । ओभरसोल्ड जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद चापको तुलनामा बिक्री चाप बढी रहेको संकेत गर्छ । 

एडी रेसियो : नेप्सेको एडी रेसियो यस दिन शून्य दशमलव २५ रहेको छ । यसले नेप्से बियरिस प्रवृत्तिमा रहेको संकेत गर्छ । यस दिन कारोबारमा आएका १ सय ७३ कम्पनीमध्ये ३० कम्पनीको मात्र सेयरमूल्य बढेको छ भने १ सय २० कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी २३ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ । 

सोमबार नेप्सेको पिभट बिन्दु १ हजार १ सय ७१ दशमलव ७७ रहेको छ । यस दिनको पिभट विश्लेषण गर्दा मंगलबार नेप्से ओरालो लागे १ हजार १ सय ६३ दशमलव २४ बिन्दुमा पहिलो टेवा पाउने देखिन्छ । सो टेवा बिन्दुबाट पनि तल ओर्लिए नेप्सेले १ हजार १ सय ५७ दशमलव ५६ बिन्दुमा टेवा पाउने देखिन्छ । त्यसैगरी, भोलि बजार उकालो लागे नेप्सेले १ हजार १ सय ७७ दशमलव ४५ बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्नेछ । सो बिन्दुभन्दा माथि गए नेप्सेले १ हजार १ सय ८५ दशमलव ९८ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ ।

कमाउनेमा आँधीखोला लघुवित्त अगाडि
यस दिन सेयरमूल्य बढेका ३० कम्पनीहरूको सूचीमा सबैभन्दा अगाडि आँधीखोला लघुवित्त वित्तीय संस्था लिमिटेड अगाडि रहेको छ । यस दिन सो कम्पनीको सेयरमूल्य ५ दशमलव १८ प्रतिशत बढेको छ । अघिल्लो दिन सकारात्मक सर्किट लागेको यस कम्पनीको सेयरमूल्य यस दिन २३ रुपैयाँ बढेर ४ सय ६७ रुपैयाँमा अन्तिम कारोबार भएको छ । हिमालयन ऊर्जा विकास कम्पनीको सेयरमूल्य यस दिन ४ दशमलव ३९ प्रतिशत र महिला सहयात्रा माइक्रो फाइनान्सको ४ दशमलव शून्य ४ प्रतिशत बढेको छ । युनाइटेड इन्स्योरेन्सको सेयरमूल्य यस दिन सर्वाधिक ५ दशमलव ३१ प्रतिशत घटेको छ । ग्लोबल आइएमई समुन्नत स्किम १ को इकाइमूल्य यस दिन ५ दशमलव शून्य ४ प्रतिशत र नेपाल हाइड्रो डेभलोपर्सको सेयरमूल्य ४ दशमलव ८५ प्रतिशत घटेको छ । 

 ११ समूहको परिसूचक रातो
यस दिन कारोबारमा आएका १२ वटा समूहमध्ये ११ समूहको परिसूचक घटेर रातो भएको छ भने १ समूहको परिसूचक बढेर हरियो भएको छ । यस दिन उत्पादनमूलक समूहको परिसूचक शून्य दशमलव २२ प्रतिशत बढेको छ । होटेल समूहको परिसूचक यस दिन सर्वाधिक २ दशमलव २९ प्रतिशत घटेको छ । व्यापार समूहको परिसूचक यस दिन १ दशमलव ६८ प्रतिशत, अन्य समूहको १ दशमलव ६३ प्रतिशत, निर्जीवन बिमा समूहको १ दशमलव ४६ प्रतिशत, म्युचुअल फन्ड समूहको १ दशमलव ३३ प्रतिशत र जीवन बिमा समूहको १ दशमलव २२ प्रतिशत घटेको छ । त्यसैगरी, लघुवित्त समूहको परिसूचक यस दिन शून्य दशमलव ९२ प्रतिशत, जलविद्युत् समूहको शून्य दशमलव ८६ प्रतिशत, वाणिज्य बैंक समूहको शून्य दशमलव ६३ प्रतिशत, वित्त समूहको शून्य दशमलव ४३ प्रतिशत र विकास बैंक समूहको शून्य दशमलव १९ प्रतिशत घटेको छ । 

सर्वाधिक कारोबार हुनेमा सिभिलको संस्थापक सेयर अगाडि
यस दिन कारोबार संख्या र सेयर संख्याका आधारमा सिभिल बैंकको संस्थापक सेयर अगाडि रहेको छ । सो वाणिज्य बैंकको यस दिन ४ करोड रुपैयाँबराबरको ४ लाख कित्ता सेयर खरिद–बिक्री भएको छ । यस दिन कुमारी बैंक, एभरेष्ट बैंक, लक्ष्मी बैंक र नेपाल लाइफ इन्स्योरेन्सको कारोबार रकम १ करोड नाघेको छ । कारोबार संख्याका आधारमा अगाडि रहेको आँधीखोला लघुवित्त वित्तीय संस्थाको यस दिन १ हजार ९ सय ६ पटकको कारोबारमा १ करोड ३ लाख ५१ हजार रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको छ । रसुवागढी हाइड्रोपावर कम्पनी र सान्जेन जलविद्युत् कम्पनीको यस दिन क्रमशः ६ सय ४३ पटक र ६ सय ३७ पटक सेयर कारोबार भएको छ । यस दिन पनि कारोबार रकमका आधारमा उत्कृष्ट १० कम्पनीहरूको सूचीमा ८ वाणिज्य बैंक रहेका छन् । वाणिज्य बैंकहरूले लाभांश घोषणा गर्न थालेसँगै लगानीकर्ता सोतर्फ आकर्षित भएका हुन् ।

ग्लोबल आइएमई लघुवित्तको हकप्रद निष्कासन बन्द
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २१ गतेदेखि १ बराबर १ अनुपातमा निष्कासन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन दिने म्याद भदौ २३ गते सकिएको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ११ लाख ४ हजार ५ सय ७५ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी ११ करोड ४ लाख ५७ हजार रहेको छ । हकप्रद सेयर निष्कासन तथा बाँडफाँडपश्चात् कम्पनीको चुक्ता पुँजी २२ करोड ९ लाख १५ हजार पुग्नेछ ।

एनएमबि सुलभको बुक क्लोज
एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड १ ले भदौ २५ गते बुक क्लोज गर्ने भएको छ । यस योजनाले गत आवको मुनाफाबाट १५ प्रतिशत लाभांश वितरण प्रयोजनका लागि सो दिन बुक क्लोज गर्न लागेको हो । यसको योजना व्यवस्थापक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।