१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका
२०७५ पौष २३ सोमबार १३:२३:००
Read Time : > 1 मिनेट
समाचार

वाईडवडी विमान खरिद प्रकरण : वायुसेवा निगमका महाप्रवन्धक कंसाकारलाई कारबाही गर्न समितिको निर्देशन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २३ सोमबार १३:२३:००

सार्वजनिक लेखा समितिले वाईडवडी विमान खरिद अनियमिततामा मुख्य दोषी रहेको भन्दै नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कारबाही गर्न सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।


समितिले तत्कालिन पर्यटन सचिव हालका गृह सचिव प्रेम कुमार राईलाई सफाई दिएको छ । यसअघि समिति अन्र्तगतको उपसमितिले विमान खरिद प्रक्रियाको राईबाट सुरु भएको भन्दै कारबाहीको सिफारिस गरेको थियो । प्रतिवदेनमाथिको छलफलको क्रममा राई संलग्न भएको भनिएको वायुसेवा निगमबाट प्राप्त जानकारी नै गलत भेटिएपछि समितिले राईलाई कारबाहीको सिफारिस गर्नुपर्ने नदेखिएको भन्दै सफाई दिएको हो ।  


समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका हालका सचिव कृष्ण प्रसाद देवकोटालाई विमान खरिद नियम संगत नभएको देखिएको अवस्थामा पनि अन्तिम किस्ता भुक्तानी गरेको भन्दै निलम्बन गरि अख्तियारको दुरुपयोग र भ्रष्टाचार गरेको सम्बन्धमा थप छानबिन गरि हदैसम्मको सजाय गर्न नेपाल सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । त्यसैगरी तत्कालिन पर्यटन सचिव शंकर प्रसाद अधिकारीलाई पनि हदै सम्मको दण्ड सजायको निर्देशन दिईएको छ ।
मन्त्रीहरुको सवालमा भने समितिले अलि लचिलो हुँदै नैतिक जिम्मेवारी र कानुनसम्मत कारबाहीको निर्देशन गरेको छ । बेरुजु फस्र्यौैट गर्ने मुख्य जिम्मा लेखा उत्तरदायी अधिकृतको हुने भएकाले समितिले बहालवाला पर्यटन मन्त्री रविन्द्र अधिकारी, पूर्व–पर्यटनमन्त्रीहरु जीवन बहादुर शाही र जितेन्द्र नारायण देवलाई समान रुपमा नैतिक जिम्मेवारी लिँदै कानुनी कारबाहीको निर्देशन दिएको हो ।


यसअघि छलफलको क्रममा समितिले मन्त्रीहरुको सवालमा नैतिक जिम्मेवारी मात्रै लिनुपर्ने उल्लेख गरेपछि समिति सदस्यहरुले कानुन सम्मत कारबाही थप्नुपर्ने माग गरेका थिए । समिति सदस्य अमनलाल मोदीले भ्रष्टाचार अन्त्य गरि सुशासन कायम गर्ने सवालमा समितिले ठोस निर्णय लिनै पर्ने भन्दै वाईडवडी खरिद प्रक्रियामा पूर्वपर्यटन मन्त्रीहरु शाही, देव र पर्यटनमन्त्री अधिकारीलाई पनि अनियमिततामा संलग्न देखिएकाले कानुनी कारबाही गरिनुपर्ने धारणा राखे ।
समिति सदस्य प्रदिप यादवले मन्त्रीलाई नैतिक जिम्मेवारी र कर्मचारीलाई कारबाहीको सिफारिस गर्दा साना माछालाई जाक्ने र ठुलालाई बचाउने काम भएको भन्दै मन्त्रीलाई पनि कानूनसम्मत कारबाही गर्न माग गरे । त्यस्तै चन्दा चौधरीले मन्त्रीलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने माग गरिन् ।