१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी  बेइजिङ
२०७६ भदौ २३ सोमबार ०९:१२:००
Read Time : > 1 मिनेट
विश्व

चीन–अमेरिका व्यापारमा भारी गिरावट

Read Time : > 1 मिनेट
एजेन्सी  बेइजिङ
२०७६ भदौ २३ सोमबार ०९:१२:००

अमेरिकासँग चीनको व्यापारमा ठूलो गिरावट आएको छ । दुवै देशले एकअर्का मुलुकका सामानमा लगातार करवृद्धि गरेपछि व्यापारमा गिरावट आएको सर्वेक्षणहरूले देखाएका छन् ।

 घट्यो आयात–निर्यात
अघिल्लो वर्षको तुलनामा यस वर्षको अगस्टमा अमेरिकी सामानको आयातमा २२ प्रतिशतले कमी आएको छ । चिनियाँ करवृद्धिका कारण अगस्ट महिनामा अमेरिकाबाट करिब १० अर्ब डलरबराबरको सामान मात्र आयात भएको छ । चिनियाँ भन्सारका अनुसार अमेरिकातर्फको निकासी पनि १६ प्रतिशतले घटेको छ । करवृद्धिपछि गत अगस्ट महिनामा करिब ४४ अर्ब अमेरिकी डलरबराबरका सामान मात्र अमेरिकातर्फ निकासी भएका छन् ।

 आर्थिक मन्दीको खतरा
अमेरिकाका व्यावसायिक क्षेत्रमा आबद्ध अर्थशास्त्रीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका आर्थिक नीतिका कारण सन् २०२१ को अन्त्यसम्ममा आर्थिक मन्दी हुने अनुमान गरेका छन् ।
अमेरिकी व्यावसायिक अर्थशास्त्री संघले गरेको सर्वेक्षणमा ३४ प्रतिशत अर्थशास्त्रीले सन् २०२१ मा ठूलै आर्थिक मन्दी निम्तिने प्रक्षेपण गरेका छन् ।

गत फेब्रुअरीमा गरिएको अर्को एउटा सर्वेक्षणमा पनि २५ प्रतिशतले आर्थिक मन्दी आउने अनुमान गरिएको छ ।  राष्ट्रपति ट्रम्पले अघि सारेका करवृद्धिको योजना र उच्च बजेट घाटाले अन्ततः अर्थतन्त्रलाई नै नोक्सान गर्ने अर्थशास्त्रीले अनुमान गरेका छन् ।

 वार्ता चाँडै हुने ट्रम्पको विश्वास
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनबीचको व्यापार वार्ता चाँडै सुचारु हुने बताएका छन् । दुवै मुलुकले एकअर्का देशका सामानमा करवृद्धि गरेपछि व्यापार वार्ता अवरुद्ध भइरहेको छ । राष्ट्रपति ट्रम्पले चिनियाँ अधिकारीको भनाइ निकै सकारात्मक रहेको र उनीहरू कुनै सम्झौता गर्न तत्पर रहेको देखिएको बताए । 

 अमेरिका–चीन व्यापार सम्झौतामा संशय
विश्वका दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक चीनसँगको व्यापारमा अमेरिकाको नाटकीय रूपमा कमी आएको छ । राष्ट्रपति ट्रम्पले करिब तीन सय  अर्ब अमेरिकी डलरबराबरका चिनियाँ सामानमाथि पछिल्लोपटक घोषणा गरेको  १० प्रतिशत करवृद्धिको प्रस्तावलाई आगामी डिसेम्बर १५ सम्मका लागि स्थगन गरेका छन् ।

सर्वेक्षणमा अमेरिका–चीनबीचको व्यापार सम्झौता सफल हुनेमा धेरैजसो अर्थशास्त्रीले आशंका व्यक्त गरेका छन् । करिब पाँच प्रतिशत अर्थशास्त्रीले मात्र व्यापार वार्ता सफल हुने अनुमान गरेका छन् । जबकि ६४ प्रतिशतले सम्झौता नाटक मात्र हुने बताएका छन् ।

करिब एकतिहाइले दुवै मुलुकबीच कुनै ठोस सहमति नहुने जनाएका छन् ।  सर्वेक्षणमा कर्पोरेसन र ट्रेड युनियनमा आबद्ध अमेरिकाका करिब २२६ जना अर्थविज्ञका धारणा समेटिएको छ । यो सर्वेक्षण जुलाई १४ देखि अगस्ट १ को अवधिमा गरिएको थियो । 

 साझेधार मुलुकसँग करवृद्धि
राष्ट्रपति ट्रम्पले अमेरिकाका प्रमुख व्यापारिक साझेदार मुलुकबाट भित्रिने सामानमा करवृद्धिको घोषणा गरेका छन् । उनले चीन, युरोपेली मुलुक, मेक्सिको र क्यानडाबाट आउने सामानमा करवृद्धि गरेका छन् । अमेरिकी अधिकारीले आयातमा हुने करवृद्धिले व्यापारमा सहजता आउने विश्वास व्यक्त गरेका छन् । तर, अमेरिकी व्यापारिक साझेदार मुलुकले प्रतिशोधस्वरूप अमेरिकी सामानमा पनि करवृद्धि वा आयात नियन्त्रण गरेका छन् ।