१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ भदौ २३ सोमबार ०६:४१:००
Read Time : > 6 मिनेट
मुख्य समाचार

के गर्दै छ विप्लव नेकपा ?

प्रतिबन्धपछिको ६ महिनामा विप्लवका ७६१ नेता–कार्यकर्ता पक्राउ १८६ अझै सरकारको नियन्त्रणमा, प्रहरीबाट मारिए दुई जिल्ला इन्चार्ज

Read Time : > 6 मिनेट
२०७६ भदौ २३ सोमबार ०६:४१:००

प्रहरीले दुई वर्षयता नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका आठ सय ४६ नेता/कार्यकर्ता पक्राउ गरेको छ । गत २९ फागुनमा पार्टीमाथि प्रतिवन्ध लगाइएपछि देशभरबाट सात सय ६१ जना पक्राउ परेका छन् । त्यसअघि ८५ नेता/कार्यकर्ता पक्राउ परेका थिए । 

प्रहरीकाअनुसार पक्राउ गरिएकामध्ये सात सय ९२ विरुद्ध मुद्दा चलेको छ । एक सय २४ पुर्पक्षका लागि जेलमा छन् । ६२ माथि अनुसन्धान जारी छ । सबैगरि विप्लवका एक सय ८६ नेता/कार्यकर्ता सरकारको नियन्त्रणमा छन् । बाँकी तारेखमा रिहा भएका छन् ।

सरकारले प्रतिबन्ध लगाएयता विप्लव समूहका नौजना नेता–कार्यकर्ताको मृत्यु भइसकेको छ । तीमध्ये तीनजना प्रहरी कारबाहीमा मारिएका हुन् भने ६ जनाले आफैँले बोकेको बम विस्फोटमा ज्यान गुमाएका थिए ।

प्रहरीको गोलीबाट ७ जेठमा भोजपुरमा तीर्थराज घिमिरे, ५ असारमा सर्लाहीमा कुमार पौडेल र २५ असारमा भोजपुरमा नीरकुमार राईको मृत्यु भएको थियो । पौडेल विप्लवका सर्लाही इन्चार्ज हुन् भने भोजपुरमा मारिएका राई ओखलढुंगा इन्चार्ज हुन् । प्रहरीले दोहोरो भिडन्तमा मारिएको भने पनि पक्राउ गरी आफ्ना नेता–कार्यकर्ताको हत्या गरिएको विप्लव समूहले दाबी गरेको छ । 

आफैँले बनाएको टाइम बम विस्फोट भएर १२ जेठमा उपत्यकामा पाँच विप्लव कार्यकर्ताको मृत्यु भएको थियो । यस्तै ३ साउनमा कैलालीको धनगढीमा बोकेको बम विस्फोट हुँदा एकजनाको ज्यान गएको थियो । यो पार्टीले राखेको बम विस्फोट हुँदा एनसेल कार्यालय नख्खुमा एकजना सर्वसाधारणको मृत्यु भएको थियो ।

विप्लवको प्रभाव  सबैभन्दा धेरै प्रदेश ४ र ५ मा 
विप्लव नेकपाले पछिल्लो समय प्रदेश ४ र ५ मा आफ्नो प्रभाव विस्तार गरेको देखिएको छ । सरकारले विप्लव समूहमाथि २९ फागुनबाट प्रतिबन्ध लगाएको थियो । त्यसलगत्तै प्रहरीले सो समूहविरुद्ध चलाएको कारबाही पनि प्रदेश ४ र ५ मै केन्द्रित देखिन्छ ।

प्रहरीको तथ्यांकअनुसार गत ६ महिनामा प्रदेश ४ मा मात्रै विप्लव समूहका एक सय ५५ नेता–कार्यकर्ता पक्राउ परेका छन् । जसमध्ये एक सय ३३ विरुद्ध मुद्दा दर्ता भएको छ । १४ जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।

२२ जनालाई सोधपुछपछि छाडिएको छ भने एक सय ६ जनालाई तारेखमा छाडिएको छ । बाँकी १३ जना माथि भने अनुसन्धान जारी छ । सोही अवधिमा प्रदेश ५ मा एक सय ४७ पक्राउ परेका छन् । जसमध्ये चारजना सोधपुछपछि छुटे । बाँकी एक सय ४३ विरुद्ध मुद्दा दर्ता भएको छ । तीमध्ये २७ जना पुर्पक्षका लागि जेलमा छन् । १६ जनामाथि अनुसन्धान जारी छ । एक सयजना भने तारेखमा छुटेका छन् । 

प्रदेश ३ र प्रदेश १ मा पनि ठूलै प्रभाव, उपत्यकामा मात्र १३३ पक्राउ
प्रदेश ४ र ५ पछि विप्लव समूहको गतिविधि काठमाडौं उपत्यका र प्रदेश १ मा ज्यादा देखिन्छ । धप्रतिबन्धपछि उपत्यकाबाट मात्रै विप्लवका एक सय ३३ कार्यकर्ता पक्राउ परे । जसमध्ये तीनजनालाई सोधपुछपछि छाडिएको छ । बाँकी एक सय ३० लाई मुद्दा चलाइयो । १४ जना अहिले पुर्पक्षका लागि जेलमा छन् । दुईजनामाथि अनुसन्धान नै बाँकी छ । बाँकी एक सय १४ लाई भने तारेखमा छाडियो । 

यो अवधिमा प्रदेश १ मा एक सय १३ जना समातिए । ६ जनालाई सोधपुछपछि छाडेर एक सय सातजनाविरुद्ध मुद्दा चलाइएको छ । जसमध्ये २५ पुर्पक्षका लागि जेलमा छन् । १६ माथि अनुसन्धान जारी छ । ६६ जना तारेखमा छुटेका छन् ।

कर्णालीमा ८१ र प्रदेश ७ मा ९१ पक्राउ
कर्णालीमा २९ फागुनयता विप्लव समूहका ८१ र प्रदेश ७ मा ९१ जना पक्राउ परेका छन् । जसमध्ये कणालीमा र प्रदेश ७ मा क्रमशः ७२ र ८७ जनामाथि मुद्दा दर्ता गरिएको छ । पुर्पक्षका लागि जेल जाने कर्णालीमा आठ र प्रदेश ७ मा १७ जना छन् । दुवै प्रदेश गरी ६ जनालाई अनुसन्धानमा राखिएको छ । बाँकीलाई भने तारेखमा छाडिएको छ । 

प्रदेश २ र ३ मा कम प्रभाव
प्रहरीको कारबाही तथ्यांक हेर्दा विप्लव समूहको प्रभाव प्रदेश २ र ३ कम देखिन्छ । प्रदेश २ मा पक्राउ परेका ४४ जनामध्ये ४२ विरुद्ध मुद्दा चल्यो । जसमध्ये नौजना कारागारमा छन् । तीनजनामाथि अनुसन्धान जारी छ । बाँकीलाई तारेखमा छाडिएको छ । त्यस्तै, प्रदेश ३ मा पक्राउ परेका ८२ मध्ये ७८ विरुद्ध मुद्दा चल्यो । १० जना कारागारमा छन् । ६ विरुद्ध अनुसन्धान जारी छ । बाँकी तारेखमा छुटेका छन् ।

कर्णाली र सुदूरपश्चिममा भन्दा प्रदेश ४ र ५ मा विप्लवको प्रभाव बढी छ : एसएसपी उमेशराज जोशी, सहप्रवक्ता, नेपाल प्रहरी 
प्रहरीको काम आपराधिक गतिविधि नियन्त्रण गर्ने हो । गतिवधि जहाँ धेरै हुन्छ, त्यहाँ प्रहरीको कारबाही बढी हुनु स्वाभाविक हो । उनीहरूविरुद्ध सबैभन्दा धेरै कारबाही प्रदेश ४ र ५ मा भएका छन् । उनीहरूको गतिविधि धेरै भएरै यस्तो गरिएको हो । विप्लव समूहविरुद्धको कारबाही विश्लेषण गर्दा कर्णाली र सुदूरपश्चिमममा भन्दा प्रदेश ४ र ५ मा उनीहरूको प्रभाव बढी देखिन्छ । 

प्रदेश ४ र ५ मा विप्लवको प्रभाव किन बढी ?
सैद्धान्तिक रूपमा आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक र लैंगिक हिसाबले सीमान्त मानिएको कर्णाली र प्रदेश ७ मा विप्लव समूहको प्रभाव बढी हुनुपर्ने हो । तर, प्रदेश ४ र ५ मा यो समूहको गतिवधि बढी छ । अझ त्यसमा पनि सहरी क्षेत्रमा यो समूहको उपस्थिति बाक्लो देखिन्छ । यस्तो किन भयो त ?

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ विप्लव समूहको प्रभाव विस्तार सामाजिक–आर्थिक कारणले भन्दा पनि राजनीतिक असन्तुष्टिका कारण बढेको बताउँछन् । यसका दुई मुख्य कारणमध्ये एउटा पूर्वमाओवादीमा गएर जोडिने र अर्को सरकारप्रतिको असन्तुष्टिमा गएर टुंगिने उनको धारणा छन् । 

‘एक त पूर्वमाओवादीबाट असन्तुष्ट भएर धेरै लडाकुको बहिर्गमन भए । उनीहरू पुरानै आधारक्षेत्रमा फर्किए । त्यो भनेको प्रदेश ४ र ५ नै हो,’ उनले भने, ‘अर्को सरकारप्रतिको असन्तुष्टि हो । प्रदेश ३ मा विप्लवका गतिविधि बढ्नुको कारण यही हो । यो समूह सोसियो–इकोनोमिक बेसबाट भन्दा पनि राजनीतिक असन्तुष्टिका कारण विद्रोही भएको देखिन्छ ।’
सुरक्षाविद् तथा नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्ल पनि यो तर्कमा सहमत छन् ।

सरकारसँग असन्तुष्ट युवा विप्लवमा लागेका छन् : हेमन्त मल्ल, पूर्वडिआइजी
कम्युनिस्ट विचारधारा भएको पार्टीको बेस विपन्नता नै हो । जहाँ राज्यको पहुँच पुग्दैन । नेपालमा यस्तो क्षेत्र कर्णाली हो । अर्को सुदूरपश्चिम क्षेत्र नै हो । तर, यी क्षेत्रमा विप्लवको गतिवधि कम छन् । तर, सहरमा ज्यादा छन् । यस्तो हुुनुमा दुईवटा कारण देखिन्छ । एउटा पूर्वमाओवादी र अर्को सरकार ।

तत्कालीन माओवादीबाट अयोग्य भएर धेरै लडाकु बाहिरिए । तीमध्ये धेरै प्रदेश ४ र ५ कै थिए । उनीहरू नै अहिले विप्लव समूहमा पुगे । अहिले जति पनि गतिविधि भएका छन् ती उनीहरूबाटै भएका हुन् । अर्को केही फ्रेस युवा पनि यसमा सामेल भएको देखिन्छ । काठमाडौंमा भएको विस्फोटमा मरेकाहरू यसैका उदाहरण हुन् । यीचाहिँ सरकारको कामकारबाहीप्रति असन्तुष्ट भएर लागेका हुन् ।


वार्ताबारे विप्लवको रणनीति 
–संसदीय व्यवस्थाको विकल्पमा छलफल गर्ने गरी मात्रै वार्तामा बस्ने । 
–मुद्दा लगाइएका नेता–कार्यकर्तालाई जेल तथा हिरासतबाट मुक्त गरी वार्तालाई उपयोग गर्ने । यसबीचमा शक्ति सञ्चय गर्ने ।
–आफूप्रति सरकारको कामकारबाहीको मूल्यांकन गर्दै आगामी रणनीति तय गर्ने ।
सरकारको रणनीति 
–प्रतिबन्धित विप्लव नेतृत्वको पार्टीलाई हिंसाको बाटो छोड्न बाध्य गराउने र संसदीय राजनीतिमा सहभागी गराउने । अन्यथा नियन्त्रणमा लिने ।
–विप्लवका ठूला नेतालाई नेकपामै प्रवेश गराएर महत्वपूर्ण जिम्मेवारी दिने ।

– सरकारको काम प्रभावकारी नहुँदा विप्लव समूहले फाइदा लिने हुँदा सत्ताधारी नेकपाले आफ्ना कमजोरी सच्याई विप्लवमाथिको प्रतिबन्ध कायम राख्ने ।

हिंसा छोड्ने सर्तमा वार्तामा बस्न तयार छौँ : गोकुल बाँस्कोटा, सरकारका प्रवक्ता 
उहाँहरू (विप्लव) पार्टी र राजकीय सत्तामा खेल्न नखोजे हुन्छ । यदि उहाँहरू वार्ता गर्न तयार हो भने हिंसा छोड्न तयार हुन हुनुपर्छ । हिंसा छोड्न तयार हुनुभयो भने जुनसुकै विषयमा वार्ता गर्न तयार छौँ । वार्ताका लागि उहाँले के–के विषयमा छलफल गर्न खोज्नुभएको स्पष्ट पार्नुप-यो । छलफलका लागि आधिकारिक रूपमा प्रतिनिधित्व हुनुप-यो ।

संविधानमा टेकेर गणतन्त्र, संघीयतालगायत मुद्दामा सैद्धान्तिक तथा व्यावहारिक रूपमा सहमत हुने हो भने वार्ताका लागि जहिल्यै ढोका खुला छ । हामी वार्ताबाटै समस्या समाधान होस् भन्ने पक्षमा छौँ । वार्ता नगर्ने हामीले कहिल्यै भनेका छैनौँ ।

सरकार र वार्ताबारे विप्लवको पछिल्लो भनाइ
मुखले वार्ता भनेर सरकारले हामीलाई सिध्याउन खोज्यो 

हामीले वार्ता होइन, क्रान्ति गर्न पार्टी बनाएका हौँ । तर, सरकार अत्तालिएर हामीलाई प्रतिबन्ध लगायो र वार्ता गरौँ भन्यो । सरकार इमानदारीपूर्वक जनताको समस्यालाई लिएर छलफल गर्न चाहन्छ भने हामी पनि वार्ताविरोधी होइनौँ, छलफल गर्न तयार छौँ भन्यौँ ।

अनौपचारिक भेटघाट भए । तर, के महसुस भयो भने राज्यले एकातिर वार्ताको कुरा गर्ने र अर्कोतिर संगठनात्मक काममा गएका हाम्रा जिम्मेवार कमरेडहरूलाई हत्या गर्ने, जेल हाल्ने गर्न थाल्यो । सरकारमा या त दुई–तीनवटा प्रवृत्ति छ । केपी ओली वार्ता गर्न चाहने अरू शक्तिले सेबोटेज गर्न खोज्ने वा असफल बनाउन लागेको देखिन्छ । होइन भने कूटनीतिक ढंगले वार्ताको कुरा गर्ने र व्यवहारमा दमनबाट सिध्याउने खोजेको प्रस्ट देखिन्छ ।

(पार्टीको आधिकारिक अनलाइन इरातोखबर डटकममा १५ भदौमा प्रकाशित अन्तर्वार्ताबाट)

सरकारका प्रवक्ता गोकुल बाँस्कोटा भन्छन्–
विप्लवले हाम्रो पार्टी र राजकीय सत्तामा खेल्न नखोजे हुन्छ

उहाँ(विप्लव)हरूले वार्ताका नाममा हाम्रो पार्टी र राजकीय सत्तामा खेल्न नखोजे हुन्छ । यदि उहाँहरू वार्ता गर्न तयार हो भने हिंसा छोड्न तयार हुनुप-यो । हिंसा छोड्न तयार हुनुभयो भने जुनसुकै विषयमा वार्ता गर्न तयार छौँ ।

वार्ताका लागि उहाँले के–के विषयमा छलफल गर्न खोज्नुभएको स्पष्ट पार्नुप-यो । छलफलका लागि आधिकारिक रूपमा प्रतिनिधित्व हुनुप¥यो । संविधानमा टेकेर गणतन्त्र, संघीयतालगायत मुद्दामा सैद्धान्तिक तथा व्यावहारिक रूपमा सहमत हुने हो भने वार्ताका लागि जहिल्यै ढोका खुला छ । हामी वार्ताबाटै समस्या समाधान होस् भन्ने पक्षमा छौँ । वार्ता नगर्ने हामीले कहिल्यै भनेका छैनौँ ।

 शक्ति केन्द्रीकरण गर्दै विप्लव
स्थायी समिति र पोलिटब्युरो विघटन, १८ केन्द्रीय सदस्य निष्कासित, सबै निर्णय चारजनाको हेडक्वार्टरबाट

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टीको सम्पूर्ण शक्ति हेडक्वार्टरमा केन्द्रीकृत गर्दै लगेका छन् । आफू शक्तिशाली हुनेगरी उनले पार्टीको संरचना बदलेका छन् ।

विप्लवले पार्टीको पोलिटब्युरो र स्थायी समिति विघटन गरेर सम्पूर्ण शक्ति चारसदस्यीय हेडक्वार्टरमा केन्द्रित गरेका छन् । हेडक्वार्टरमा उनीबाहेक खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, धर्मेन्द्र बास्तोला र सन्तोष बुढामगर मात्रै छन् । स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ जेलमा भएकाले हेडक्वार्टरमा समावेश छैनन् । अहिले पार्टीको सम्पूर्ण निर्णय यही चारजनाको समितिले गर्दै आएको छ । 

केन्द्रीय समितिलाई पनि छरितो बनाउन भन्दै जेलमा परेका र निष्क्रिय भई बसेका १८ जनालाई जिम्मेवारीबाट हटाइएको छ । हाल केन्द्रीय समितिमा ३५ सदस्य मात्रै छन् । एक वर्षदेखि केन्द्रीय समिति बैठक बसेको छैन भने दुई वर्षदेखि बैठकै नबसी पोलिटब्युरो विघटन भएको छ । ०७४ को पुसमा चितवनमा पोलिटब्युरो बैठक बसेको थियो । विप्लव समूहको यो नै पहिलो र अन्तिम पोलिटब्युरो बैठक थियो ।

 हेडक्वार्टरमातहत चार कमाण्ड
हेडक्वार्टरमातहत चारवटा कमाण्ड निर्माण गरिएको छ । तिनको संरचना पनि विप्लव आफैँलाई निर्णय गर्न सजिलो हुने गरी तयार गरिएको छ । पूर्वीकमाण्डको नेतृत्व सन्तोष बुढामगर, विप्लव आफैँले निगरानी गर्ने गरी मध्यकमाण्डको नेतृत्व प्रकाण्ड, मध्यपश्चिमको नेतृत्व चन्द्रबहादुर चन्द (वीरजंग) र पश्चिम कमाण्डको नेतृत्व धर्मेन्द्र बास्तोलालाई सुम्पेका छन् । मध्यपश्चिम कमाण्ड इन्चार्ज वीरजंग मात्रै हेडक्वार्टर सदस्य होइनन् ।

पाँच केन्द्रीय नेता  पुर्पक्षका लागि कारागारमा
जेलमा रहेका विप्लवका ठूला नेतामध्ये हेमन्तप्रकाश वली ‘सुदर्शन’ तत्कालीन स्थायी समिति सदस्य हुन् । केन्द्रीय सदस्यहरू माइला लामा, बन्धु चन्द, वसन्त श्रेष्ठ ‘प्रज्वलन’ र भरत बम पनि जेलमा छन् । वली र लामालाई ललितपुरको नख्खु कारागारमा राखिएको छ । चन्द धनगढी, बम नेपालगन्ज र श्रेष्ठलाई रूपन्देही कारागारमा राखिएको छ । अरू पक्राउ परेकामा क्षेत्रीय ब्युरो सदस्य, जिल्ला समिति सदस्य र तल्लो तहका कार्यकर्ता छन् । 

विप्लवविरुद्ध सबैभन्दा धेरै कारबाही प्रदेश ४ र ५ माएसएसपी उमेशराज जोशी, सहप्रवक्ता, प्रहरी 

प्रहरीको काम आपराधिक गतिविधि नियन्त्रण गर्ने हो । गतिवधि जहाँ धेरै हुन्छ, त्यहाँ प्रहरीको कारबाही बढी हुनु स्वाभाविक हो । उनीहरूविरुद्ध सबैभन्दा धेरै कारबाही प्रदेश ४ र ५ मा भएका छन् । उनीहरूको गतिविधि धेरै भएरै यस्तो गरिएको हो । विप्लव समूहविरुद्धको कारबाही विश्लेषण गर्दा कर्णाली र सुदूरपश्चिमममा भन्दा प्रदेश ४ र ५ मा उनीहरूको प्रभाव बढी देखिन्छ ।