मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ भदौ २० शुक्रबार ०७:५१:००
Read Time : > 1 मिनेट
अर्थ

आयात रोकेर होइन, निर्यात बढाएर व्यापार घाटा घटाउँछौँ : अर्थमन्त्री 

Read Time : > 1 मिनेट
२०७६ भदौ २० शुक्रबार ०७:५१:००

अर्थमन्त्री डा. युवराज खतिवडाले उच्च आर्थिक वृद्धिका क्रममा व्यापार घाटा बढ्नु स्वाभाविक भएको बताएका छन् । १ अर्ब पुँजीगत खर्च गर्दा ५० करोडको आयात बढ्ने उल्लेख गर्दै अर्थमन्त्रीले आर्थिक वृद्धिको चाप व्यापारमा परेकाले धेरै चिन्तित हुनुनपर्ने बताएका हुन् ।

‘हामीलाई ठूलो लगानी गरेर उच्च आर्थिक वृद्धि पनि गर्नुपरेको छ, बाह्य क्षेत्र सन्तुलनमा राख्नु पनि परेको छ,’ बिहीबार आर्थिक पत्रकारसँग छलफल गर्दै उनले भने, ‘यही अवस्थामा व्यापार घाटालाई शून्यमा झार्न वर्षौँ लाग्न सक्छ ।’ 

सरकारले व्यापार घाटा न्यूनीकरणका लागि आयात रोक्नेभन्दा पनि निर्यात बढाउने विषयलाई प्राथमिकतामा राखेको उनले जानकारी दिए । ‘आयातलाई रोक्ने, संकुचित गर्ने वा नियन्त्रण गर्ने कुनै मनासाय वा नीति छैन,’ उनले भने, ‘अहिलेको मुख्य एजेन्डा भनेको निर्यात वृद्धि हो, त्यसैले नै होला, १० वर्षपछि पहिलोपटक आयातभन्दा निर्यातको वृद्धिदर बढी भएको छ ।’ उच्च आर्थिक वृद्धि पनि हुने र व्यापार घाटा पनि नहुने अवस्था रहेकाले निर्यातलाई नै प्राथमिकतामा राखेको उनले बताए । 

सरकारले वस्तु र सेवाको निर्यात वृद्धिलाई मुख्य प्राथमिकतमा राखे पनि अनावश्यक वस्तुको आयातलाई भने निरुत्साहित गर्ने उनले बताए । ‘अहिले निर्माण सामग्रीको आयात प्रतिस्थापन भएको छ, अब तामाकोसी जलविद्युत् आयोजना सञ्चालनमा आएपछि विद्युत् आयात रोकिनुका साथै पेट्रोलियम आयातमा कमी आउनेछ,’ उनले भने, ‘यसरी क्रमैसँग व्यापारलाई सन्तुलनमा लैजाने हाम्रो योजना हो ।’

बाह्य क्षेत्र चिन्ताजनक छैन, चनाखो हुुनुपर्छ 
नेपालको बाह्य क्षेत्र अहिले बजारमा हल्ला भएजस्तो चिन्ताजनक नभएको अर्थमन्त्री डा. खतिवाडाले जिकिर गरे । ‘कुल गार्हस्थ उत्पादनको ५ प्रतिशतको हाराहारीमा चालू खाता घाटा हुनु स्वाभाविक हो,’ उनले भने, ‘हाम्रो अर्थतन्त्रको आकार ४० खर्ब हारहारी पुगेको अहिलेको सन्दर्भमा २ खर्ब ६५ अर्बको चालू खाता घाटा चिन्ताजनक होइन, चनाखोचाहिँ हुनुपर्छ ।’ सरकारले चालू खाता घाटालाई २ खर्बभन्दा तल राख्ने लक्ष्य लिएको उनले बताए । ‘विदेशका महँगा सामान उपभोग गर्ने तथा छोराछोरीलाई विदेशमा पढ्न पठाउने वा घुम्न जानेले नै बढी मात्रामा बाह्य क्षेत्रको चिन्ता लिएको देखिन्छ,’ उनले भने, ‘आर्थिक अवस्थाको विषयमा अस्वाभाविक चिन्ता लिनुपर्दैन, दौडिन खोज्दा केही पसिना आएको छ, अवस्था बिग्रिएको छैन, हामी चनाखो छौँ ।’

‘साइबर सेक्युरिटीबारे १८ दिनअघि पत्राचार गरेको थिएँ’
अर्थमन्त्री खतिवडाले साइबर सेक्युरिटीका बारेमा राष्ट्र बैंकलाई १८ दिनअघि नै पत्राचार गरेको बताएका छन् । तर, पत्रमा के थियो भन्नेबारे उनले प्रस्ट्याएनन् । ‘साइबर सेक्युरिटी अहिलेको चुनौती र चिन्ताको विषय हो,’ उनले भने, ‘मैले १८ दिनअघि नै साइबर सेक्युरिटीका बारेमा राष्ट्र बैंकलाई पत्र पठाएको थिएँ ।’ उनले साइबर सेक्युरिटीको विषय अन्तर्राष्ट्रिय भएकाले यसले स्थानीयस्तर र विश्वव्यापी रूपमै सचेत हुनुपर्ने बताए ।