१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २० शुक्रबार ०७:५०:००
Read Time : > 1 मिनेट
सम्पादकीय

डुंगाविहीन माझी बालिकाहरू

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ २० शुक्रबार ०७:५०:००

हाम्रो राजनीतिक संस्कृतिमा कहीँ न कहीँ खोट छ र सुन्नु नपर्ने समाचार पनि सुनिरहनुपर्छ । हाम्रो समाज व्यवस्थामा पनि कहीँ न कहीँ खोट छ र मानिसले एकबारको जुनीमा पाउनु नपर्ने दुःख व्यहोर्नु परिरहेको छ ।

राजनीतिक संस्कृतिको पानी माथिबाट तल बग्ने स्वभावको हुन्छ । माथि अर्थात् राजनीतिक शक्तिको उँचनिचका सिँढीगत तहमा जो माथिल्लो सिँढीमा छ, उसले अपनाएको जीवनशैली, कार्यशैली, जनतासँग संवाद नगर्ने शैली, विकास चिन्तनको शैली, उत्तरदायित्व वहन गर्ने शैली नै तल्लो सिँढीमा बस्नेले अँगाल्ने हो ।

एक समय थियो, कांग्रेसीहरू बिपीले जस्तो चुच्चे भादगाउँले टोपी लगाएर हिँड्दा मात्र आफू सक्कली कांग्रेस भएको ठान्थे । केही वर्षपहिले भर्खर खुला भएका नेकपा माओवादीका नेता–कार्यकर्ता आफ्नो बोलीमा ‘मने’ मिसाउने र कुम हल्लाउने गर्थे प्रचण्डले जस्तै । भ्रष्टाचार माथिबाटै तल जाने अपसंस्कार हो । माथिकाले करोडमा गरे तलकाले लाख या हजारमा गर्लान् । माथिकाले नगरे तलकाले गर्ने आँट गर्दैनन् ।

जनताप्रति उत्तरदायित्वबोध गर्ने पनि माथिबाट तलतिर सर्ने हो । यसरी हेर्दा हाम्रो समाज र राजनीतिमा सत्ता र शक्ति तथा धनका अगाडि झुक्ने र आफूभन्दा तलकालाई हेप्ने, बेवास्ता गर्ने एउटा परम्परागत मूल्य प्रणाली प्रभावशाली देखिन्छ । र, यसलाई यतिवेलै चाहिँ सबैभन्दा बढी सिन्धुलीको झाँगाझोलीमा रहेको श्री माविमा पढ्न जाने रामेछापको खाँडादेवी गाउँपालिका कोथवेका माझी समुदायका १३ बालिकाले गिज्याइरहेका छन् ।

स्थानीय सरकार या विद्यालय सञ्चालक समितिले माझी समुदायका १३ जना छात्रालाई एउटा सामूहिक आवास, सुरक्षित घर या छात्रावासको व्यवस्था गरिदिन किन चासो देखाउँदैन ?

यी बालिका कोसीपारि पर्ने कोथवेकोे घरबाट दैनिक झाँगाझोली आउँदा कोसी नदी तर्नुपर्छ । तर, कोसीमा झोलुंगे पुल छैन । केही वर्षपहिलेसम्म कोसीको भेल उनीहरूको बस्तीभन्दा उत्तर थियो । अहिले कोसी दक्षिण स-यो र विद्यालय कोसीपारि पर्न गयो । श्री माविमा पढ्न जानुको विकल्प छैन ।

माझी समुदाय यसै पनि आर्थिक रूपले विपन्न छ । त्यहाँबाट शिक्षाका सबै कक्षा उक्लनेहरू कम छन् । यतिवेला १३ जना बालिका कोसीपारि पर्ने आफ्नै पाखोमा बनाइएको कटेरोमा बस्छन् र त्यहीँबाट विद्यालय आऊ–जाऊ गर्छन् । कटेरो जंगलको नजिक छ । उनीहरूलाई गुहार दिने पनि नजिकै कोही छैन । राति सुत्नसमेत डराई–डराई सुत्नुपर्छ । तर, तिनको उद्धार कसैले गर्न सक्ने अवस्था छैन ।

यो कस्तो मावि हो, जसले आफ्ना छात्राको यो असुरक्षित वासबारे वास्ता गर्दैन । शिक्षक कस्ता हुन्, जसले यसको सोधीखोजी गरेर विकल्प दिन सक्दैनन् । स्थानीय सरकार या विद्यालय सञ्चालक समिति कस्ता हुन्, जसले यी पछाडि पारिएका जातिको जम्मा १३ जना छात्रालाई एउटा सामूहिक आवास या सुरक्षित घर या छात्रावासको व्यवस्था गरिदिन चासो देखाउँदैन ?

त्यता हालै निर्वाचित गाउँ सरकार पनि होलान् । माझी बस्तीमा मत माग्न जाने दलका नेता पनि होलान् । सबैले यी बालिकालाई किन यसरी भयमा बस्न बाध्य पारेका हुन् ? स्थानीय सरकारले यिनका लागि सामान्य लगानी गरिदिन सक्दैन ? झोलुंगे पुल पनि बनाऊ, तर पहिले त एउटा छात्रावासको व्यवस्था गर र यी १३ जना बालिकाको पढ्ने इच्छाको सम्मान गर । समाजमा न्याय पनि छ, सहयोगी हात पनि छन् भन्ने पनि त स्थापित हुनुप-यो । अन्यथा सीमान्तकृत मानिसलाई गाँज्ने निराशाले हामी सबैलाई जिउँदै नर्कतिर धकेल्नेछ ।