१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ भदौ १९ बिहीबार १०:५५:००
Read Time : > 1 मिनेट
प्रदेश

बारा र पर्साका हुरीपीडितलाई घर हस्तान्तरण

Read Time : > 1 मिनेट
२०७६ भदौ १९ बिहीबार १०:५५:००

गत चैत १७ गते बारा र पर्सामा आएको विनाशकारी हावाहुरीबाट पूर्ण रूपमा प्रभावित घरहरूको पुनर्निर्माण सकिएको छ । हुरी प्रभावितका लागि घर निर्माण गर्न बनाइएको जनता आवास कार्यदलले आयोजना गरेको कार्यक्रममा बुधबार कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई नमुना घर हस्तान्तरण गरे । मुख्यमन्त्री राउतले सम्बन्धित स्थानीय तहका प्रमुखहरूलाई प्रमाणपत्र प्रदान गर्दै औपचारिक रूपमा घर हस्तान्तरण गरेका हुन् । 

कार्यदलका अनुसार बारा र पर्सा जिल्लाका कुल आठ सय ६९ घरको निर्माण कार्य सकिएको छ । कार्यक्रममा रक्षामन्त्री पोखरेलले कार्यकुशलता र दक्षताले काम सम्पन्न भएको भन्दै सेनाको प्रशंसा गरे । उनले भने, ‘देश संघीयतामा गएको र तीन तहको सरकार निर्माण भएको अवस्थामा घर पुनर्निर्माणको काम कसले र कसरी गर्ने भन्ने अन्योल थियो । यसका बीचसमेत तीनैवटा सरकारको समन्वयमा काम हुनु सकारात्मक कुरा हो ।’  

मुख्यमन्त्री राउतले पुनर्निर्माणका क्रममा प्रशासनले त्रुटि गरेका कारण जनतामा असन्तुष्टि देखिएको बताए । उनले भने, ‘बारा जिल्लामा जिल्ला प्रशासन कार्यालयबाट केही कमी–कमजोरी भएको देखिएको छ, पूर्ण क्षति भएका प्रभावितको घर पनि छुटेका गुनासा हामीकहाँ आएका छन् ।’ छुटेका पीडितको पनि चाँडै घर बन्नुपर्ने बताउँदै उनले प्रदेश सरकारले सकेको सहयोग गर्ने आश्वासनसमेत दिए । 

  ११ प्रतिशत लागत बचत
सेनाले जनता आवासको डिजाइनअनुसार दुई कोठा एक भान्साघर र एक शौचालयसहितको घर निर्माण गरेकोे हो । सरकारले प्रतिघर पाँच लाख ४५ हजार नौ सय ८५ रुपैयाँ ८८ पैसाका दरले रकम निकासा गरेको थियो । सोही परिधिभित्र रहेर प्राप्त डिजाइनअनुसार कम लागतमा आकर्षक घर निर्माण गर्ने योजना बनाएको सेना सरकारले तोकेको रकममा समेत ११.१९ प्रतिशत बचत गर्न सफल भएको छ । 

कन्टिन्जेन्सी र निर्माण समाग्रीबाट प्रतिघर ६१ हजार ९७ रुपैयाँ २५ पैसा बचत भएको कार्यदलका इन्जिनियर सेनानी महेन्द्र सिजापति थापाले जानकारी दिए । उनका अनुसार निर्माणमा प्रतिघर जम्मा चार लाख ८४ हजार आठ सय ८८ रुपयाँ खर्च भएको छ ।

 घर प्राकृतिक प्रकोपप्रतिरोधी
हुरीले घरबारविहीन भएकाको पुनर्वासका लागि बनाइँदै गरेका घर प्राकृतिक प्रकोपप्रतिरोधी रहेको दाबी सेनाले गरेको छ । उत्कृष्ट निर्माण सामग्री प्रयोगबाट प्राकृतिक प्रकोपप्रतिरोधी, वातावरणमैत्री र आकर्षक डिजाइनमा घर निर्माण भएको कार्यदलका इन्जिनियर सेनानी थापाले बताए ।

निर्माण भएका घर भूकम्प र हुरीबतासप्रतिरोधी, अविरल वर्षाले असर नगर्ने, सजिलै आगो नलाग्ने र तराईको गर्मीबाट नतात्ने किसिमका रहेको दाबी गर्दै उनले भने, ‘घरको खपत अवधि ५० वर्ष रहनेछ ।’ त्यस्तै, वनविनाश नगरी पर्यावरण जोगाउने उद्देश्यले युपिभिसीका झ्याल–ढोका प्रयोग गरेर घर निर्माण गरिएको थापाले बताए । ‘हामीले पर्यावरण जोगाउने उद्देश्यले युपिभिसीका झ्याल–ढोका प्रयोग ग-यौँ,’ उनले भने, ‘यसले हामीलाई काम गर्न पनि केही सहज बनायो ।’