Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
समिता बज्राचार्य
प्रविता श्रेष्ठ काठमाडाैं
२०७६ भदौ १९ बिहीबार ०७:३४:००
Read Time : > 2 मिनेट
सप्तरंग

‘जीवित देवी’को सामाजिक जीवन

Read Time : > 2 मिनेट
प्रविता श्रेष्ठ काठमाडाैं
२०७६ भदौ १९ बिहीबार ०७:३४:००

पाटनकी कुमारीबाट अवकाश पाएको दिन समिता बज्राचार्यलाई केही असहज लाग्यो । आठ वर्षको उमेरमा कुमारी छानिएकी उनले त्यसपछिका चार वर्ष जमिनमा पाइला टेक्न पाइनन् । ‘अवकाश पाएपछि सुरुका दिनमा जमिनमा टेक्न र हिँडडुल गर्न साह्रै गाह्रो भयो,’ उनी भन्छिन् । कुमारी रहुन्जेल उनलाई बोकेरै भित्र–बाहिर गराइएको थियो ।

पढाउन घरमै शिक्षक बोलाइन्थ्यो । अवकाश पाएको दिनदेखि उनको दैनिकी फेरियो । अब उनी अन्य किशोरीझैँ सामान्य जीवनमा थिइन् । ‘एक हिसाबले मलाई राम्रो पनि लाग्यो, तर जीवनबाट केही छुटेजस्तो पनि महसुस भयो,’ उनी भन्छिन्, ‘कुमारीबाट अवकाश पाएका सबैको साझा भोगाइ हो, यो ।’ समय बित्दै जाँदा उनले सामाजिकीकरणका विभिन्न पाटा सिक्दै गइन् ।

कुमारी छउन्जेल उनले रातो पहिरन मात्र लगाउनुपथ्र्यो । पहिलोपटक स्कुल ड्रेस लगाउँदा शरीर नै अर्कैजस्तो महसुस भयो, उनलाई । समिता पढाइका अलावा ‘सरोद’ बजाउन पनि रुचि राख्छिन् । कक्षा ५ पढ्दैदेखि उनले सरोद बजाउन सिकेकी हुन् ।

अवकाश पाएपछि सुरुका दिनमा जमिनमा टेक्न र हिँडडुल गर्न साह्रै गाह्रो भयो । एक हिसाबले राम्रो पनि लाग्यो, तर जीवनबाट केही छुटेजस्तो पनि महसुस भयो ।

उनीभन्दा अगाडिकी कुमारी चनिरा बज्राचार्य पनि अवकाश पाएको दिन सामान्य किशोरीजस्तै भएकी थिइन् । कुमारीको पहिरन र शृंगार छुटेको थियो । उनलाई पनि केही दिन घरबाहिर कदम राख्न गाह्रो भयो । ‘बुबा–आमाले निकै काउन्सेलिङ गर्नुपरेको थियो,’ उनी भन्छिन्, ‘कुमारीको रूपमा दसैँमा मैले नै परिवारका सबैलाई टीका लगाइदिन्थेँ । कुमारीबाट हटेपछि बिस्तारै अब त्यो अधिकार बाँकी नरहेको बुझेँ र छाडेँ ।’

‘कुमारी हुन पाउनु अहोभाग्य’
कुमारी बन्न पाउनुलाई समिताले आफ्नो जीवनको अहोभाग्य ठानेकी छिन् । ‘एकै जन्ममा मैले दुईवटा जीवन बाँच्न पाएँ,’ उनी भन्छिन् । घरभित्रै दर्शन गर्न आउने भक्तजनको भीड लाग्थ्यो । ‘सिंहासनमा बसेपछि खुसी, रिस सबै हराउँथ्यो, कसैसँग बोल्न मन लाग्दैनथ्यो,’ उनी भन्छिन्, ‘एक प्रकारको भावशून्य अवस्थामा पुगिन्थ्यो ।’ जात्रा र पर्वमा भने उनको खुसीको सीमा हुँदैनथ्यो । दसैँ र रातो मच्छिन्द्रनाथको जात्रामा कुमारीलाई रथमा राखेर बजार परिक्रमा गराइन्छ । ‘त्यतिवेला आफू कुमारी हुनुको गर्व महसुस हुन्थ्यो,’ समिता भन्छिन् ।

समाचारले ल्याएको परिवर्तन
१ चैत ०६६ मा एसएलसी परीक्षा सुरु भएको समाचार सबै पत्रपत्रिकामा प्रकाशित भएको थियो । सबैजसो अखबारका समाचारमा चनिरा बज्राचार्यले विशेष स्थान पाएकी थिइन् । ०५७ देखि ०६७ सालसम्म १० वर्ष पाटनकी कुमारी बनेकी उनी पनि त्यस वर्षको परीक्षामा सहभागी थिइन् ।

चनिराभन्दा पहिले सुमिका बज्राचार्य पाटनकी कुमारी थिइन् । चनिरापछि समिता बज्राचार्य सिंहासनमा बसिन् । सुमिकाले अनौपचारिक मात्र अध्ययन गर्न पाइन् । त्यसअघिका कुमारीहरूले त त्यो पनि पाएनन् । तर, चनिरा नै त्यस्ती भाग्यमानी कुमारी थिइन्, जसले औपचारिक अध्ययन गर्न पाइन् ।

कुमारीलाई पढाउनुपर्ने मान्यताले नै समाजमा जित्यो । अझ, चनिराले एसएलसी दिँदै गरेको पत्रपत्रिकाका समाचारले कुमारीहरूलाई निःशुल्क अध्ययनको व्यवस्थासम्म डो-यायो ।

‘खुसी लाग्छ, मैले एसएलसी दिएको समाचारका कारण शैक्षिक संस्थाहरूको ध्यान तान्यो र मपछिका कुमारीहरूले अझ सहज रूपमा पढ्न पाउनुभयो,’ उनी भन्छिन् । चनिराले शुल्क तिरेरै पाटनको भास्सरा माविमा पढिन् । उनीपछिकी समितालाई सेन्ट जेभियर्स स्कुलले निःशुल्क पढाइदियो ।

चनिरा बज्राचार्यले एसएलसी दिएको समाचारले शैक्षिक संस्थाहरूको ध्यान तान्यो र उनीपछिका कुमारीहरूले अझ सहज रूपमा पढ्न पाए । त्यसले कुमारीहरूलाई निःशुल्क अध्ययनको व्यवस्थासम्म डो-यायो ।

समितापछिकी युनिका बज्राचार्यले पनि भास्सरा माविमा निःशुल्क पढ्न पाइन् । हालकी निहिरा बज्राचार्यलाई होराइजन इंग्लिस स्कुलले निःशुल्क पढाइरहेको छ । तर, उनीहरू कुमारी छउन्जेल विद्यालय जान पाउँदैनन्, कुमारीघरमै शिक्षकहरू आएर पढाउँछन् ।

चनिराको औपचारिक अध्ययन थाल्न उनका बाबुआमाले कम्ती सास्ती खेप्नुपरेन । गुठीबाट प्राप्त हुने मासिक १५ सय रुपैयाँ उनको पढाइका लागि पर्याप्त थिएन । दैनिक पूजाविधिका लागि मात्र तीन सय रुपैयाँ खर्च हुन्थ्यो । उनको पढाइका लागि न त गुठी संस्थानले सहयोग ग-यो, न कुनै शैक्षिक संस्था नै अग्रसर देखिए ।

चनिरा बज्राचार्य 

समाजले पढ्न छुट दिए पनि त्यसका लागि अनुकूल वातावरण बनाउन बाबुआमा धेरैतिर धाए । पछि परिवारले नै मासिक चार हजार रुपैयाँ तिरेर उनलाई पढायो । एसएलसीपछि भने उनलाई डिएभी सुशील केडिया स्कुलले निःशुल्क पढाइदियो ।

हाल उनी काठमाडौं विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टमा एमबिए अध्ययनरत छिन् । यसबीचमा आफूले पढेको भास्सरा माविमा करिब आठ वर्ष स्वयंसेवा पनि गरिन् । ‘कुमारी बन्न पाउनु मैले ठूलो मौकाका रूपमा लिएकी छु,’ चनिरा भन्छिन्, ‘अर्को जन्म हुन्छ वा हुँदैन, तर मैले एकै जन्ममा दुईवटा जीवन जिउन पाएँ ।’