मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ भदौ १८ बुधबार ०९:१८:००
Read Time : > 3 मिनेट
सेयर बजार

लाभकर विवाद अन्त्य हुने अपेक्षाले बढ्यो सेयर बजार

Read Time : > 3 मिनेट
२०७६ भदौ १८ बुधबार ०९:१८:००

निरन्तर ओरालो लागेको नेप्से परिसूचक मंगलबार १ दशमलव ७६ प्रतिशत बढेर बन्द भएको छ । नेप्से उकालो लागेसँगै कारोबार रकम पनि अघिल्ला दिनहरूको तुलनामा बढेको छ । नेप्से र कारोबार रकम दुवै बढेपछि लगानीकर्ता उत्साहित भएका छन् । सिडिएस एन्ड क्लियरिङ लिमिटेडले सेयरको लागतको भारित औसत गणना ‘मेरो सेयर’ सफ्टवेयरमार्फत गर्न मिल्ने गरी नयाँ सुविधा थप गरेर परीक्षणमा ल्याएसँगै लगानीकर्ताको मनोबल बढेको हो । लगानीकर्ताले लामो समयदेखि लाभकर गणनाको विवाद समाधान गर्न नियामक निकायलाई दबाब दिँदै आएका थिए । ‘मेरो सेयर’मा थपिएको नयाँ सुविधाले पुँजीगत लाभकर विवाद अन्त्य हुने अपेक्षा लगानीकर्ताले गरेका छन् । यसका साथै नेपाल राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिमार्फत गरेको स्प्रेड गणना विधिलाई पहिलो त्रैमासको समीक्षामा सच्याउने हल्लाले पनि यस दिनको बजार बढाउन टेवा पु¥याएको एक लगानीकर्ताले बताए । कम्पनीहरूले गत आवको मुनाफाबाट घोषणा गरेको लाभांश पनि यस दिन बजार बढ्नुको एक प्रमुख कारण भएको उनको भनाइ छ ।

 बजार सारांश
नेप्से परिसूचक यस दिन २० दशमलव ५७ अंक बढेर १ हजार १ सय ९० दशमलव ९० बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन ३ दशमलव ९३ अंक बढेर २ सय ६० दशमलव २३ बिन्दुमा पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स यस दिन १ दशमलव ६४ अंक बढेर ८७ दशमलव ८२ बिन्दुमा पुगेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ४५ अंक बढेर ८३ दशमलव १८ बिन्दुमा पुगेको छ । यस दिन १ सय ७१ कम्पनीको ७ हजार ८ सय १७ पटकको कारोबारमा ५१ करोड ५ लाख ५२ हजार ४१ रुपैयाँबराबरको २१ लाख ८४ हजार २ सय ७१ कित्ता सेयर खरिद–बिक्री भएको छ । 

 प्राविधिक विश्लेषण
आरएसआई : नेप्सेको १४ दिने आरएसआई यस दिन ३५ दशमलव २२ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ । 

एडी रेसियो : नेप्सेको एडी रेसियो यस दिन ९ रहेको छ । यसले बजार बुलिस प्रवृत्तिमा रहेको संकेत गर्छ । यस दिन कारोबारमा आएका १ सय ७१ कम्पनीमध्ये १ सय ३५ कम्पनीको सेयरमूल्य बढेको छ भने १५ कम्पनीको मात्र सेयरमूल्य घटेको छ । बाँकी १५ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ । 

यस दिन नेप्सेको पिभट बिन्दु १ हजार १ सय ७९ दशमलव ६३ रहेको छ । आगामी कारोबार दिन नेप्से ओरालो लागे १ हजार १ सय ६७ दशमलव ९५ बिन्दुमा पहिलो र १ हजार १ सय ४५ बिन्दुमा दोस्रो टेवा पाउने देखिन्छ । त्यसैगरी, बजार उकालो लागे १ हजार २ सय २ दशमलव ५८ बिन्दुमा पहिलो र १ हजार २ सय १४ दशमलव २६ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ ।
 
युनिभर्सल पावरको सकारात्मक सर्किट
यस दिन युनिभर्सल पावर कम्पनी लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सो कम्पनीको सेयरमूल्य यस दिन ७ रुपैयाँ बढेर ८१ रुपैयाँमा अन्तिम कारोबार भएको छ । कम्पनीले गत आवको मसान्तसम्ममा ४ करोड १४ लाख खुद नाफा आर्जन गरेको वित्तीय विवरण प्रकाशित गरेको थियो । यो अघिल्लो आवको सोही अवधिको तुलनामा करिब साढे २ गुणा बढी हो । उल्लेख्य नाफा वृद्धि गर्न सफल भएका कारण लगानीकर्ता सो कम्पनीतर्फ आकर्षित भएका हुन् । सूर्या लाइफ इन्स्योरेन्स र महिला सहयात्रा माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडको सेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ । सेन्ट्रल फाइनान्सको सेयरमूल्य यस दिन ४ दशमलव ८५ प्रतिशत घटेको छ ।
  
९ समूहको परिसूचक हरियो
यस दिन कारोबारमा आएका ११ समूहमध्ये ९ समूहको परिसूचक बढेर हरियो भएको छ भने बाँकी २ समूहको परिसूचक घटेर रातो भएको छ । जीवन बिमा समूहको परिसूचक यस दिन सर्वाधिक २ दशमलव ७७ प्रतिशत बढेको छ । त्यसैगरी, निर्जीवन बिमा समूहको परिसूचक २ दशमलव ७४ प्रतिशत, लघुवित्त समूहको २ दशमलव २७ प्रतिशत, जलविद्युत् समूहको २ दशमलव २४ प्रतिशत र उत्पादनमूलक समूहको १ दशमलव ९८ प्रतिशत बढेको छ । वाणिज्य बैंकको परिसूचक यस दिन १ दशमलव ७८ प्रतिशत, विकास बैंक समूहको १ दशमलव ३८ प्रतिशत, होटेल समूहको १ दशमलव २० प्रतिशत र वित्त समूहको १ दशमलव १४ प्रतिशत बढेको छ । यस दिन म्युचुअल फन्ड समूहको परिसूचक शून्य दशमलव शून्य ६ प्रतिशत र अन्य समूहको शून्य दशमलव शून्य १ प्रतिशत घटेको छ । 

वाणिज्य बैंकहरूको सर्वाधिक कारोबार
यस दिन वाणिज्य बैंकहरूको सेयर सर्वाधिक कारोबार भएको छ । कारोबार रकमका आधारमा उत्कृष्ट १० कम्पनीहरूमध्ये ८ वाणिज्य बैंक रहेका छन् । यस दिन पनि कारोबार रकम र सेयर संख्याका आधारमा नेपाल बंगलादेश बैंक लिमिटेडको संस्थापक सेयर अगाडि रहेको छ । सो वाणिज्य बैंकको यस दिन ५ करोड ७२ लाख ३० हजार रुपैयाँबराबरको ४ लाख ८५ हजार कित्ता सेयर खरिद–बिक्री भएको छ । नेपाल बैंक लिमिटेडको यस दिन ३ करोडभन्दा बढीको सेयर कारोबार भएको छ भने नेपाल लाइफ इन्स्योरेन्स र एनआइसी एसिया बैंकको कारोबार रकम २ करोड नाघेको छ । 

सानिमा बैंक, कृषि विकास बैंक, मेगा बैंकको संस्थापक सेयर, कुमारी बैंक, प्रभु बैंक र शिवम् सिमेन्ट्सको कारोबार रकम १ करोड नाघेको छ । सेयर संख्याका आधारमा यस दिन सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड अगाडि रहेको छ । सो लघुवित्त कम्पनीको यस दिन ८ सय ३५ पटक सेयर कारोबार भएको छ ।

सिटिजन्स म्युचुअल फन्ड–२ को एनएभी घट्यो
असार मसान्तको तुलनामा साउन मसान्तमा सिटिजन्स म्युचुअल फन्ड–२ को प्रतिइकाइ खुद सम्पत्ति मूल्य (एनएभी) घटेको छ । असार महिनामा ९ दशमलव ९२ रुपैयाँ रहेको यस योजनाको एनएभी साउन महिनामा घटेर ९ दशमलव ७७ रुपैयाँमा सीमित भएको छ । 

सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित यस योजनाको कुल आय सो अवधिमा ९१ लाख ६५ हजार ऋणात्मक रहेको छ । साउन मसान्तसम्ममा योजनाको प्राप्त नभइसकेको आम्दानी ८० लाख ७१ हजार ऋणात्मक रहेको छ भने प्राप्त भइसकेको आम्दानी १ लाख ५९ हजार रहेको छ । सो अवधिसम्म यस योजनाले ३३ करोड ६१ हजार सूचीकृत सेयरमा लगानी गरेको छ । यस योजनाको बैंक मौज्दात १८ करोड ४ लाख ३२ हजार रहेको छ ।

एनएमबि हाइब्रिड फन्ड एल–१ को एनएभी घट्यो
असार मसान्तको तुलनामा साउन मसान्तमा एनएमबि हाइब्रिड फन्ड एल–१ को प्रतिइकाइ खुद सम्पत्ति मूल्य (एनएभी) शून्य दशमलव ९७ रुपैयाँ घटेको छ । असार महिनामा ११ दशमलव शून्य १ रुपैयाँ रहेको यस योजनाको एनएभी साउन महिनामा घटेर १० दशमलव शून्य ४ रुपैयाँमा सीमित भएको छ । एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित यस योजनाको कुल आय सो अवधिमा ३३ लाख २ हजार रुपैयाँ रहेको छ । साउन मसान्तसम्ममा योजनाको प्राप्त नभइसकेको आम्दानी ६ लाख ७० हजार ऋणात्मक रहेको छ भने प्राप्त भइसकेको आम्दानी ३ लाख ७६ हजार रहेको छ । सो अवधिसम्म यस योजनाले ३५ करोड १६ लाख ६ हजार सूचीकृत सेयरमा लगानी गरेको छ । यस योजनाको बैंक मौज्दात ५० करोड ३१ लाख ६० हजार रहेको छ ।