मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ भदौ १७ मंगलबार ०८:४२:००
Read Time : > 1 मिनेट
अर्थ

व्यापार घाटा १४%ले घट्यो

Read Time : > 1 मिनेट
२०७६ भदौ १७ मंगलबार ०८:४२:००

आर्थिक वर्षको पहिलो महिना साउनमा आयात ११ प्रतिशतले घट्यो, निर्यात भने २७ प्रतिशतले बढ्यो


चालू आर्थिक वर्ष ०७६/७७ मा नेपालको व्यापारले सुखद सुरुवात गरेको छ । निरन्तर उकालो लाग्दै आएको व्यापार घाटा चालू आवको पहिलो महिनामा केही सुधार देखिएको छ । 

चालू आर्थिक वर्षको पहिलो महिना (साउन)मा नेपालले ९७ अर्ब ८८ करोड रुपैयाँ व्यापार घाटा व्यहोरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १३ दशमलव ९० प्रतिशतले कमी हो । अघिल्लो आवको साउनमा नेपालले १ खर्ब १३ अर्ब ६८ करोड रुपैयाँ व्यापार घाटा व्यहोरेको थियो । 

साउनमा ८ अर्ब ८३ करोड रुपैयाँबराबरको निर्यात भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा २७ दशमलव ८६ प्रतिशतले बढी हो । आयातमा भने ११.५१ प्रतिशतको गिरावट आएको छ । साउनमा १ खर्ब ६ अर्ब ७२ करोड रुपैयाँबराबरको आयात भएको विभागको तथ्यांक छ । आवको सुरुमै आयात केही कमी हुने प्रवृत्ति भएकै कारण व्यापार घाटा कम देखिएको हुन सक्ने पूर्वअर्थसचिव रामेश्वर खनाल बताउँछन् । 

अब असोज–कात्तिक र माघ–फागुनमा आयात उच्च हुने भएकाले त्यसवेला घाटा बढ्न सक्ने उनले बताए । व्यापार घाटा भयावह बन्दै गएकाले सरकारले निर्माणाधीन जलविद्युत् परियोजना छिट्टै सकेर विद्युत् आयात रोक्नुका साथै आयात विस्थापनका तत्कालीन र दीर्घकालीन समाधान अपनाउनुपर्ने उनको भनाइ छ । 

सरकारले आयात विस्थापन तथा निर्यात प्रवर्द्धनको प्रयास गरिरहेको छ । तीन महिनाअघि सरकारले ‘व्यापार घाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजना’ बनाएर कार्यन्वयनमा ल्याइसकेको छ । यसअन्तर्गत मुख्य गरी उत्पादन वृद्धि, आयात विस्थापन र निर्यात प्रवर्द्धनका कार्यक्रम छन् । वर्षको सुरुवातमै निर्यात उच्चदरमा बढेको छ । आयात दोहोरो अंकले घटेको छ । यसले व्यापार घाटा न्यूनीकरणमा सरकारको कार्ययोजनाले प्रभावकारिता देखिएको छ ।

निर्यात–आयात अनुपातमा व्यापक सुधार
गत आवमा नेपालको निर्यात–आयात अनुपात १:१४.६ रहेको थियो । अर्थात्, नेपालले १ रुपैयाँको निर्यात गर्दा १४ रुपैयाँ ६० पैसाको आयात गरिरहेको थियो । चालू आवको पहिलो महिनामा निर्यात–आयात अनुपातमा व्यापक सुधार भएको छ । अहिले निर्यात–व्यापार अनुपात १:१२.१ रहेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३०.७१ प्रतिशतले कमी हो । ‘व्यापार घाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजना’ले निर्यात–आयातको अनुपात १:१०.५मा झार्ने लक्ष्य लिएको छ ।