१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मधुकुमार मरासिनी काठमाडाैं
२०७६ भदौ १५ आइतबार ०८:१०:००
Read Time : > 5 मिनेट
दृष्टिकोण

युद्ध, प्रेम र व्यापार घाटा

Read Time : > 5 मिनेट
मधुकुमार मरासिनी काठमाडाैं
२०७६ भदौ १५ आइतबार ०८:१०:००

विश्वका दुई शक्तिशाली अर्थतन्त्र आपसमा लड्दा विश्वको समग्र आर्थिक वृद्धिमा समेत नकारात्मक असर पर्ने निश्चित छ 

भनिन्छ, प्रेम र युद्धमा जे पनि जायज हुन्छन् । अहिले विश्वका घटनाक्रम हेरिरहँदा मलाई भने लागिरहेछ, यो भनाइमा अर्को एउटा विषय पनि थपिनुपर्ने हो । र, त्यो हो– व्यापार ! अर्थात प्रेम, युद्ध, र व्यापारमा जे पनि जायज हुन्छन् ।

केही साताअगाडिको कुरा हो, कार्यालयबाट घर फर्केपछि टिभीमा आँखा डुलाउँदै थिएँ, झ्याप्प आँखा पर्‍यो अल जजिरामा, जहाँ ह्वाइटहाउसबाट प्रत्यक्ष प्रसारण भइरहेको थियो । दृश्यले अलिकति चकित पनि पार्‍यो । राष्ट्रपति डोनाल्ड ट्रम्प कतारका अमिर सेख तमिम बिन अल थानीलाई ओभल अफिसमा स्वागत गर्दै थिए । आफ्नो घनिष्ठ मित्र साउदी अरेबियाले नाकाबन्दी लगाइरहेको र आफूले पनि कर्के आँखाले नै हेरिरहेको मुलुकका अमिरलाई यसरी स्वागत गरिरहेकोमा म मात्र चकित थिइनँ, टिभी प्रस्तोताले पनि त्यही सन्दर्भ निकालेर भन्दै थिए– राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्बन्धमा केही हेर्दैनन्, सिवाय, ब्यालेन्स सिट । अर्थात, जुन सम्बन्धले अमेरिकाको ब्यालेन्स सिटमा आम्दानी देखाउँछ, उनका लागि ती सबै सम्बन्ध जायज हुन्छन् । नभन्दै त्यही वेलाको पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्प भन्दै थिए— कतारसँग हामीले एक सय ८५ अर्ब अमेरिकी डलरको व्यापारिक सम्झौता गर्‍यौँ, कतारले अमेरिकाबाट बोइङलगायत सामान किन्नेछ । फेरि पनि दिमागमा उही भनाइ सलबलायो– प्रेम, युद्ध र व्यापारमा हरकुरा जायज हुने रहेछन् ।

अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचित भएपछि सायद धेरै उचालिएकोमध्येको प्रमुख विषय व्यापार घाटा नै होला । र, त्यसको एउटा प्रमुख परिणाम अमेरिका र चीनबीचको जारी व्यापार युद्ध हो, जसको आगो अन्य मुलुकतिर पनि फैलिइसकेको छ । विगतमा पश्चिमा मुलुकले व्यापार घाटाको निहुँमा भौतिक रूपमै पनि युद्ध छेडेको पाइन्छ । बेलायतले चीनसँगको बढ्दो व्यापार घाटालाई निहुँ बनाएर सन् १८३९–४२, र १८५६–६० गरी २–२ पटक अफिम युद्ध नै छेडेको थियो, परिणामतः चीनले हङकङ सय वर्षका लागि गुमाएन मात्र, चीनका धेरै मानिसलाई अफिम अम्मली र समग्र चीनलाई कमजोर अर्थतन्त्र बनाइदिएको थियो । प्रसिद्ध बेलायती अर्थशास्त्री अंगस मेडिसनअनुसार पहिलो अफिम युद्धअघिसम्म चीन संसारकै सबैभन्दा ठूलो अर्थतन्त्र थियो । अहिलेको व्यापार घाटाले निम्त्याएको व्यापार युद्धले मान्छे त मर्नेछैनन्, यो हतियार लिएर पनि लडिनेछैन, तर यसबाट रोजगारी मर्ने, उत्पादन र आम्दानी घट्ने एवं समग्र विश्वकै आर्थिक वृद्धि घट्न जाने आकलन अर्थशास्त्रीले गरिरहेका छन् जसबारे केही चर्चा पछिल्लो खण्डमा गरिएको छ । 

अमेरिका र चीनको हालको व्यापार घाटाको अन्तर्य नियाल्दा अमेरिकाले सन् १९८५ देखि नै चीनसँगको वस्तु व्यापारमा घाटा व्यहोरिरहेको देखिन्छ, जुन घाटा सन् २०१८ मा मात्र अमेरिकी डलर चार सय २० अर्ब पुगेको छ । जम्मा अमेरिकी डलर पाँच सय ४० अर्बबराबरको वस्तु व्यापारमा, अमेरिकाको चीनमा निर्यात भने केवल अमेरिकी डलर एक सय २० अर्बबराबर मात्र रहेको छ । यसरी चीनसँग ठूलो व्यापार घाटा हुनुमा राष्ट्रपति ट्रम्पले चीनको नाजायज व्यापार नीति जिम्मेवार रहेको भन्दै आएका छन् । अमेरिकी व्यापार संरक्षणका लागि चीनसँगको व्यापार घाटा न्यूनीकरण गर्ने नाममा सुरुमा दुई सय ५० अर्ब अमेरिकी डलरबराबरको आयातमा २५ प्रतिशतसम्म महसुल थपेको अमेरिकाले फेरि तीन सय अर्बबराबरको आयातमा १० प्रतिशत महसुल लगाउने घोषणा गरेको छ । यता, चीन पनि के कम, प्रत्युत्तरमा पहिला अमेरिकाबाट आयात हुने एक सय १० अर्ब डलरबराबरका सामानमा अतिरिक्त महसुल लगाउने घोषणा गर्‍यो भने पछिल्लो अमेरिकी घोषणाको जवाफ उसले आफ्नो मुद्रा नै सात प्रतिशतले अवमूल्यन गरेर दियो । यसै त चीनले आफ्नो मुद्रा रेनिम्बीको विनिमय दर न्यून राखेको आरोप लगाइरहेको अमेरिकाले अहिले त चीनलाई मुद्रा विचलनकारीको आरोपसमेत लगाइरहेको छ ।

यही शुक्रबारबाट यो युद्ध फेरि नयाँ संस्करणमा प्रवेश गरेको छ । चीनले ७५ अर्ब अमेरिकी डलरबराबरका अमेरिकी वस्तुमा अतिरिक्त शुल्क लगाउने घोषणा मात्र के गरेको थियो, राष्ट्रपति ट्रम्पले ट्विट ठोकिसके कि पहिले २५ प्रतिशतले महशुल बढाएका वस्तुमा अब अक्टोबर १ देखि ३० प्रतिशत लाग्नेछ र पछिल्लोपटक १० प्रतिशतले महसुल बढाउने घोषणा गरिएका तीन सय अर्बबराबरका वस्तुमा अब १० बाट बढाएर १५ प्रतिशत महसुल लगाइनेछ । 

जसरी दुईवटा हात्ती आपसमा लड्दा सबैभन्दा विनाशचाहिँ दुबोको हुन्छ, अहिले सबैतिर चिन्ता के छ भने विश्वका दुई शक्तिशाली अर्थतन्त्र आपसमा लड्दा विश्वको समग्र आर्थिक वृद्धिमा समेत नकारात्मक असर पर्न जानेछ । अन्तर्राष्ट्रिय मुद्रा कोषले आफैँले आकलन गरेको यस वर्षको आर्थिक वृद्धिदर ३.९ प्रतिशतलाई अब घटाएर ३.२ प्रतिशत हुनेगरी संशोधन गरिसकेको छ । हालै मात्र न्युयोर्क टाइम्समा रुचिर शर्माले बढ्दो व्यापार युद्धका कारण विश्वका ठूला अर्थतन्त्र, जर्मनी, चीन र अमेरिकासमेतको आर्थिक वृद्धिमा नकारात्मक असर पर्ने बताएका छन् ।

यो व्यापार युद्धको बाछिटा नेपालमा कुन रूपमा आइपुग्ला, त्यसको रूप देख्न केही समय लाग्ला, तैपनि बर्सेनि बढ्दो व्यापार घाटा भने हाम्रो अर्थतन्त्रको प्रमुख चुनौतीका रूपमा रहेको छ । हुन पनि आर्थिक वर्ष ०७५/७६ मा जम्मा रु. १५१५.६७ अर्बको वस्तु व्यापारमा हामीले आयात मात्र रु. १४१८.५६ बराबरको गरेका छौँ भने निर्यात केवल रु. ९७.११ अर्बबराबरको । निर्यात–आयात अनुपात हेर्दा १:१४.६ देखिन्छ ।

कतारसँग अमेरिकाले गरेको एक सय ८५ अर्ब अमेरिकी डलरको व्यापारिक सम्झौता हेर्दा लाग्छ, प्रेम, युद्ध र व्यापारमा जे पनि जायज हुने रहेछन् 
 

पछिल्ला तथ्यांक केलाउँदा २० वर्षअघि रु. ४९.५६ अर्ब रहेको निर्यात माथि नै भनिएझैँ बल्ल रु. ९७.११ अर्ब पुगेको छ भने रु. १ सय १३ अर्ब रहेको आयात भने हाल रु. १४१४ अर्बभन्दा बढी भइसकेको छ । उतिवेला नेपाली रुपैयाँको विनिमय दर १ अमेरिकी डलरबराबर रु. ५८ रहेकोमा आज रु. १ सय १५ छुन लागिसकेको छ । अमेरिकी डलरसँगको मुद्रा अवमूल्यन एवं मुद्रास्फीति केलाउने हो भने त निर्यात व्यापारमा नकारात्मक वृद्धि भएको देखिन्छ । निर्यात–आयातको यस्तो खाडल पछिल्लो १० वर्षमा झन् धेरै अन्तरले बढेको पाइन्छ । आ.व. ०६५/६६ मा १:४.२ रहेको निर्यात–आयात अनुपात माथि भनिएझैँ आ.व. ०७५/७६ मा १:१४.६ पुगिसकेको छ । सँगसँगै हाम्रो वैदेशिक व्यापार अत्यधिक रूपमा छिमेकी राष्ट्र भारतकेन्द्रित हुन पुगेको छ । सन् १९८७/८८ मा भारत–नेपाल व्यापार ३५ प्रतिशत र नेपालको बाँकी विश्वसँगको व्यापार ६५ प्रतिशत रहेकोमा हाल भारतसँगको व्यापार ६५ प्रतिशत र बाँकी विश्वसँगको व्यापार ३५ प्रतिशतमा सीमित हुन पुगेको अवस्था छ । एउटै मुलुकसँग मात्रै व्यापारको भारी मात्रा केन्द्रित हुँदै जानु र व्यापार विविधीकरणमा कमी आउनु हाम्रो अन्तर्राष्ट्रिय व्यापारका लागि चुनौतीपूर्ण अवस्था हो । 

हुन त हाम्रो जस्तो विकासोन्मुख मुलुकका लागि व्यापार घाटा आफैँमा नकारात्मक विषय मात्र होइन । विकासमा फड्को मार्नका लागि हामीले औद्योगिक कच्चा पदार्थ, मिल, मेसिनरी र विभिन्न उपकरण, इन्धन तथा निर्माण सामग्रीको बढ्दो माग परिपूर्ति गर्न सामथ्र्य राख्दैनौँ र आयातबाट परिपूर्ति गर्नुपर्ने हुन्छ । तर, सर्त के हो भने बढ्दो आयात सँगसँगै आन्तरिक उत्पादन बढेको हुनुपर्छ, सँगै निर्यात व्यापार बढेको र रोजगारी पनि बढेको हुनुपर्छ, जुन हामी कहाँ हुन सकिरहेको छैन र खास समस्याको गाँठो पनि यहीँनिर परेको देखिन्छ । अबको लगानी र ऊर्जा यही गाँठो फुकाउनेतिर खर्च हुनुपर्छ । 

बितेका दुई दशक नेपाली इतिहासमा उथलपुथल र राजनीतिक संक्रमणका दशक हुन् । तर, यसै अवधिमा हामीले खुला व्यापार र आर्थिक सुधारका कार्यक्रम पनि ल्याएकै हौँ । हामी विश्व व्यापार संगठनका सदस्य भयौँ र हाम्रो वैदेशिक व्यापारलाई अन्तर्राष्ट्रिय बजारसँग एकीकृत पनि गर्‍यौँ । अति कम विकसित राष्ट्रको हैसियतले पाइने अतिरिक्त सुविधा, दक्षिण एसिया स्वतन्त्र व्यापार सम्झौता र अन्य द्विपक्षीय तथा क्षेत्रीय सम्झौताले दिने सहुलियतपूर्ण व्यापार सुविधा पनि उपलब्ध भएकै हुन् । कुनै वेला नेपालको तयारी पोसाक, कार्पेट, पस्मिना आदि अमेरिका र युरोपियन बजारमा लोकप्रिय पनि थिए । तर, यी दिगो हुन सकेनन् र हामी निर्यात व्यापारमा कमजोर नै रह्यौँ । जसले गर्दा अहिले व्यापारघाटा अर्थतन्त्रको एक प्रमुख चुनौतीका रूपमा रहेको छ । उत्पादनको एक प्रमुख साधन मानवशक्ति देशमा रोजगारीको अभावमा बिदेसिनुपरिरहेको र उनीहरूले नै पठाएको विप्रेषणबाट चालू खाताको र भुक्तानी सन्तुलनको घाटा परिपूर्ति गर्नुपरेको छ, जुन दिगो समाधान होइन । 

तर, अब के गर्ने त ? हामीसँग राष्ट्रपति ट्रम्पले झैँ आफूले अत्यधिक वस्तु आयात गर्ने मुलुक भारत वा चीनबाट आयात हुने वस्तुमा महसुल बढाउने वा संरक्षणवादी नीति लिने क्षमता छैन, न त हाम्रा लागि त्यो उत्तम विकल्प नै हो । हामीसँग कतारले जस्तो साउदी अरबलगायत छिमेकीले लगाएको नाकाबन्दीको मेखै मार्ने गरी हजारौँ गाई आयात गरेर भए पनि आफैँ दूध उत्पादन गरी दूधको आन्तरिक माग पूरा गर्ने क्षमता पनि छैन । भूपरिवेष्टित भौगोलिक अवस्था, भौतिक पूर्वाधारको कमी र पारवहनजन्य असुविधाले पनि हामीलाई व्यापारमा अतिरिक्त भार थपेका छन् । संयुक्त राष्ट्रसंघकै एक अध्ययनले नेपालजस्ता अतिकम विकसित भूपरिवेष्टित राष्ट्रको व्यापार लागत अन्य उस्तै हैसियतका राष्ट्रको तुलनामा २० प्रतिशत बढी हुने देखाएको छ । 

सर्सर्ती हेर्दा हामीले प्राथमिकता दिनुपर्ने दुईवटा क्षेत्र छन् भन्ने देखिन्छ । पहिलो, तुलनात्मक लाभका क्षेत्रको सही निक्र्योल र दोस्रो हो, नेपालको कथा बेच्ने । हुन त यी क्षेत्रको छुट्टै एवं विशद व्याख्या आवश्यक पर्छ, यद्यपि जलविद्युत्, पर्यटन, कृषि, उच्च मूल्य र कम तौल हुने वस्तु एवं घरेलु तथा साना उद्यम हाम्रा तुलनात्मक लाभका क्षेत्र हुन सक्छन् । यी क्षेत्रमा हुने उत्पादन वृद्धिले आन्तरिक खपत परिपूर्ति गरी आयात व्यवस्थापनमा सहयोग पुर्‍याउने, रोजगारी सिर्जना गर्न र निर्यात प्रवद्र्धनमा योगदान दिन सक्ने देखिन्छ । यस्तै, नेपालको प्राकृतिक सुन्दरता र लोकप्रियतालाई ब्रान्डिङ गरी भौगोलिक संकेतसहित उच्च मूल्य, तर कम तौलका वस्तु अन्तर्राष्ट्रिय बजारमा बेच्न सकिन्छ । यो भनेको नेपालको आफ्नो कथा बेच्ने हो, जसको तुलनात्मक लाभ पनि हामीसँग मात्रै हुन्छ । हामीले आफ्नो सामथ्र्य बढाउन आफ्नै नाभिमा भएको बिना चिन्नु मात्र पर्नेछ, हाम्रो निर्यात व्यापार बढाउन, व्यापार घाटा कम गर्न र सोचेअनुरूप समृद्ध नेपाल र सुखी नेपाली निर्माण गर्न सकिन्छ । खाँचो ग्लास आधा भरिएको भाग हेर्नु हो, न कि सधैँ आधा खाली भाग । 
(मरासिनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव हुन्)
लेखमा प्रस्तुत विषय लेखकका निजी विचार हुन्