मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७६ भदौ १३ शुक्रबार ०९:१८:००
Read Time : > 4 मिनेट
सेयर बजार

लाभांश घोषणाले पनि बढेन बजार

Read Time : > 4 मिनेट
२०७६ भदौ १३ शुक्रबार ०९:१८:००

साताको अन्तिम दिन पनि नेप्से परिसूचक ओरालो लागेको छ । यस दिन नेप्से शून्य दशमलव ११ प्रतिशत घटेर बन्द भएको छ । नेप्सेसँगै यस  दिन कारोबार रकम पनि घटेको छ । सूचीकृत कम्पनीले गत आवको मुनाफाबाट लाभांश घोषणा गर्न थालिसकेका छन् । कम्पनीहरूले गत आवको तुलनामा आकर्षक लाभांश घोषणा गर्दा पनि लगानीकर्ता आकर्षित हुन सकेका छैनन् । बजारले ओरालो लाग्ने क्रमलाई निरन्तरता दिँदा लगानीकर्ता पनि घट्दै गएको एक ब्रोकरले बताए । पहिला दैनिक कारोबार गर्ने लगानीकर्ता पनि अहिलेको समयमा सेयरबजारबाट टाढिन थालेको उनको भनाइ छ । पुँजीबजार विस्तार तथा सुधारका कार्यमा भएको ढिलाइ अहिले बजार घट्नुको मुख्य कारण भएको एक लगानीकर्ताले बताए । पुँजीगत लाभकर विवादको अन्त्य नहुनु, बैंकलाई ब्रोकर लाइसेन्स दिने कार्यमा भएको ढिलाइ, ब्रोकरमार्फत मार्जिन कर्जा लिन मिल्ने व्यवस्थाको कार्यान्वयनम नहुँदा लगानीकर्ता निराश भएका उनको भनाइ छ ।

बजार सारांश 
नेप्से परिसूचक यस दिन १ दशमलव ३३ अंक घटेर १ हजार १ सय ९६ दशमलव ४१ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन शून्य दशमलव १६ अंक घटेर २ सय ६१ दशमलव २४ बिन्दुमा पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स यस दिन शून्य दशमलव शून्य ७ अंक घटेर ८८ दशमलव शून्य ६ बिन्दुमा पुगेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव शून्य ४ अंक घटेर ८३ दशमलव ३४ बिन्दुमा पुगेको छ । यस दिन १ सय ७२ कम्पनीको ५ हजार ६ सय ७७ पटकको कारोबारमा २७ करोड ७३ लाख ५९ हजार ६ सय ५९ रुपैयाँबराबरको ९ लाख ७५ हजार ८ सय ३४ कित्ता सेयर खरिद–बिक्री भएको छ ।

प्राविधिक विश्लेषण 
आरएसआई : नेप्सेको १४ दिने आरएसआई यस दिन २६ दशमलव ४१ स्केलमा पुगेको छ । ओभरसोल्ड जोनमा रहेको यस आरएसआईले बजारमा सेयर बिक्री चाप बढिरहेको संकेत गर्छ । 

एडी रेसियो : नेप्सेको एडी रेसियो यस दिन शून्य दशमलव ९२ रहेको छ । यसले बजार बियरिस प्रवृत्तिमा रहेको संकेत गर्छ । यस दिन कारोबारमा आएका १ सय ७० कम्पनीमध्ये ६४ कम्पनीको सेयरमूल्य बढेको छ भने ६९ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी ३७ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ । 

यस दिन नेप्सेको पिभट बिन्दु १ हजार १ सय ९७ दशमलव २७ रहेको छ । आगामी कारोबार दिन नेप्से ओरालो लागे १ हजार १ सय ९३ दशमलव २१ बिन्दुमा पहिलो र १ हजार १ सय ९० बिन्दुमा दोस्रो टेवा पाउने देखिन्छ । त्यसैगरी, बजार उकालो लागे १ हजार २ सय दशमलव ४८ बिन्दुमा पहिलो र १ हजार २ सय ४ दशमलव ५४ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ ।

 १० समूहको परिसूचक रातो
यस दिन कारोबारमा आएका १२ समूहमध्ये १० समूहको परिसूचक घटेर रातो भएको छ भने बाँकी २ समूहको परिसूचक बढेर हरियो भएको छ । विकास बैंक समूहको परिसूचक यस दिन शून्य दशमलव १८ प्रतिशत र वाणिज्य बैंक समूहको शून्य दशमलव शून्य ८ प्रतिशत बढेको छ । यस दिन उत्पादनमूलक समूहको परिसूचक सर्वाधिक १ दशमलव २६ प्रतिशत घटेको छ । त्यसैगरी, जीवन बिमा समूहको परिसूचक यस दिन शून्य दशमलव ९१ प्रतिशत, व्यापार समूहको शून्य दशमलव ८३ प्रतिशत, जलविद्युत् समूहको शून्य दशमलव ३ प्रतिशत, वित्त समूहको शून्य दशमलव २९ प्रतिशत र निर्जीवन बिमा समूहको शून्य दशमलव २३ प्रतिशत घटेको छ । म्युचुअल फन्ड समूहको परिसूचक यस दिन शून्य दशमलव १७ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव १२ प्रतिशत, अन्य समूहको शून्य दशमलव शून्य २ प्रतिशत र होटेल समूहको शून्य दशमलव शून्य ७ अंक घटेको छ ।

कुमारीको सर्वाधिक कारोबार
यस दिन पनि कारोबार रकम र सेयर संख्याका आधारमा कुमारी बैंक लिमिटेड अगाडि रहेको छ । सो वाणिज्य बैंकको यस दिन १ सय ७८ पटकको कारोबारमा १ करोड ६२ लाख ४४ हजार रुपैयाँबराबरको ८० हजार २ सय १४ कित्ता सेयर खरिद–बिक्री भएको छ । बैंकले गत आवको मुनाफाबाट १० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेसँगै लगानीकर्ताहरू सोतर्फ आकर्षित भएका हुन् । बैंकले घोषणा गरेको बोनस अघिल्लो आवको तुलनामा १ दशमलव ५ प्रतिशत बिन्दु बढी हो । आर्थिक वर्ष ०७४÷७५ मा बैंकले ८ दशमलव ५ प्रतिशत बोनस वितरण गरेको थियो । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एनआइसी एसिया बैंक, प्रभु बैंक, माछापुच्छ«े बैंक र छिमेक लघुवित्त विकास बैंकको संस्थापक सेयरको कारोबार रकम १ करोड नाघेको छ । कारोबार संख्याका आधारमा यस दिन पनि अगाडि रहेको सान्जेन जलविद्युत् कम्पनीको ५ सय ८६ पटक सेयर कारोबार भएको छ ।

सबैको सेयरमूल्यमा सकारात्मक सर्किट
सबैको लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा यस दिन पनि सकारात्मक सर्किट लागेको छ । यस दिन सो कम्पनीको सेयरमूल्य १० प्रतिशत अर्थात् ४० रुपैयाँ बढेर ४ सय ४१ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस कम्पनीले गत आवको मसान्तसम्ममा ३ करोड १२ लाख नाफा आर्जन गरेको वित्तीय विवरण प्रकाशित गरेको थियो । यस कम्पनीको सेयर कारोबार गत बिहीबारदेखि नेप्सेमा सुरु भएको थियो । अन्य कम्पनीको सेयरमूल्य वृद्धिदर ४ प्रतिशतभन्दा कम रहेको छ । कारोबारमा आएको युनाइटेड फाइनान्सको सेयरमूल्य यसदिन ६ दशमलव ४१ प्रतिशत घटेको छ ।

 एनआइसी एसियाको लाभांश
एनआइसी एसिया बैंक लिमिटेडले २१ दशमलव शून्य ५२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । भदौ ११ गते सम्पन्न बैंकको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट कुल चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ११ दशमलव शून्य ५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ३ करोड ४२ लाख २ हजार रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारणसभाबाट पारित भएपश्चात् सो लाभांश वितरण गरिनेछ ।

 मुक्तिनाथको हकप्रद निष्कासन तथा बिक्री खुला
मुक्तिनाथ विकास बैंक लिमिटेडले भदौ १२ गतेदेखि १० बराबर २ अनुपातमा हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ६१ लाख २९ हजार ५ सय २० दशमलव २५ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । सो हकप्रद सेयरमा साउन ३१ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम साबिक सेयरधनीले आवेदन दिन सक्नेछन् । निष्कासन बन्द असोज १५ गते हुनेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक भिबोर क्यापिटल लिमिटेड रहेको छ । सेयरधनीले भिबोर क्यापिटल, मुक्तिनाथ विकास बैंकको केन्द्रीय तथा शाखा कार्यालय र सि–आस्बा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरूबाट सि–आस्बा प्रणालीमार्फत सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् । हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ६ करोड ४७ लाख ६० हजार १ सय २३ रहेको छ । हकप्रद सेयर निष्कासन तथा बाँडफाँडपश्चात् कम्पनीको चुक्ता पुँजी ३ अर्ब ६७ करोड ७७ लाख १२ हजार १ सय ४८ पुग्नेछ ।

 माछापुच्छ्रेको लाभांश
माछापुच्छ्रे बैंक लिमिटेडले १६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । भदौ ११ गते सम्पन्न बैंकको सञ्चालक समितिको बैठकले गत आवको सञ्चित मुनाफाबाट कुल चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ११ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारणसभाबाट पारित भएपश्चात् सो लाभांश वितरण गरिनेछ ।

 कुमारीको लाभांश
कुमारी बैंक लिमिटेडले १० दशमलव ५२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । भदौ ११ गते सम्पन्न बैंकको सञ्चालक समितिको बैठकले गत आवको सञ्चित मुनाफाबाट कुल चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ६८ करोड ५५ लाख ७३ हजार रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारणसभाबाट पारित भएपश्चात् सो लाभांश वितरण गरिनेछ ।