१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ भदौ १३ शुक्रबार ०७:४८:००
Read Time : > 1 मिनेट
समाचार

शिक्षिकाले धकेल्दा  विद्यार्थीको टाउकोमा गम्भीर चोट

Read Time : > 1 मिनेट
२०७६ भदौ १३ शुक्रबार ०७:४८:००

परिवारले दियो प्रहरीमा उजुरी

काठमाडौंको एक निजी विद्यालयमा अध्ययनरत विद्यार्थी शिक्षिकाकै कारण गम्भीर घाइते भएका छन् । चक्रपथस्थित पेनउड एकेडेमीका शिक्षिकाले २ कक्षामा अध्ययनरत विद्यार्थी कुशाग्र फुँयाललाई हातपात गर्दा उनको टाउकोमा गम्भीर चोट लागेको छ । आफ्नो छोरालाई कुटपिट गरेको भन्दै कुशाग्रको परिवारले घटना अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त महाराजगन्जमा जाहेरी दिएको छ । 

कुशाग्रकी आमा इन्दिराले शिक्षिका विनिता रञ्जितले धकेल्दा निधारमा चोट लागेको जानकारी दिइन् । खानेपानीको धारा खोलेको निहुँमा पछाडिबाट धकेल्दा कुशाग्रको निधार टुटीमा ठोक्किएको उनको भनाइ छ । ‘मंगलबार दिउँसो टिफिन ब्रेकमा अन्य विद्यार्थीसँगै कुशाग्र पनि पानी खान धारामा गएछ । पानी खाएपछि बन्द गर्न लाग्दा धारा ठूलो खोलेको भन्दै शिक्षिकाले टाउकामा समातेर धकेलिछिन् । बाबुको टाउको धाराको टुटीमा गएर ठोक्किएछ । गहिरो चोट लगेको छ,’ उनले भनिन् ।

टाउकोको दुखाइ बढ्दै गएपछि अभिभावकले उपचार गर्न कुशाग्रलाई महाराजगन्जस्थित शिक्षण अस्पताल लगेका थिए । अस्पतालका न्युरो चिकित्सक प्रा.डा. मोहनराज शर्माले उनको स्वास्थ्य परीक्षण गरेका थिए । परीक्षणपछि चिकित्सकबाट जारी रिपोर्टमा उनको टाउकोमा चोट लगेको उल्लेख छ । ‘हेड इन्जुरी । रिफर टु न्युरो सर्जरी,’ रिपोर्टमा भनिएको छ ।

विद्यालयका प्रधानाध्यापकले विद्यार्थी कुट्ने गरेको आरोप
इन्दिराका अनुसार कुशाग्र कक्षा १ देखि विद्यालयमा अध्ययनरत छन् । आफ्नो छोरालाई यसअघि पनि एकेडेमीका प्रधानाध्यापक रोहित अख्तरले टाउकोमा पिट्ने गरेको उनले आरोप लगाइन् । ‘बाबुलाई यसअघि पनि कुटपिट हुन्थ्यो । हामीले धेरैपटक कम्प्लेन पनि गर्‍यौँ । तर, उनीहरूको व्यवहार कहिल्यै सुधार भएन । सर्टको बटम खुस्किएको निहुँमा समेत कुटपिट हुन्थ्यो । कहिले गाला त कहिले टाउकोमा कुट्ने गरेको बाबुले हामीसँग भनेको छ,’ इन्दिराले भनिन् ।

विद्यालयको दाबी, विद्यार्थी आफैँ चिप्लिएर लडेका हुन्
एकेडेमीका संयोजक सुविन केसीले भने कुशाग्रलाई शिक्षिकाले धकेलेको नभई पानी खाने क्रममा आफैँ चिप्लिएर लडेको बताए । ‘कुशाग्रलाई कसैले कुटपिट गरेजस्तो लाग्दैन । उनका अभिभावक हामीकहाँ आएर गुनासो पनि गरेका छन् । घटना सम्बन्धमा बुझ्दा पानी खाने क्रममा उनी आफैँ चिप्लिएर लडेको जानकारी आयो । यद्यपि, हामी यस सम्बन्धमा आन्तरिक अध्ययन गर्दै छौँ,’ उनले भने । महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रमुख डिएसपी उमेश लम्सालले भने पेनउड एकेडेमीविरुद्ध जाहेरी नआएको बताए । ‘विद्यार्थी कुटपिट सम्बन्धमा अनुसन्धान गर्न कुनै जाहेरी परेजस्तो लाग्दैन,’ उनले भने ।