१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ भदौ १२ बिहीबार १२:२७:००
Read Time : > 1 मिनेट
नयाँCity

एउटा च्यानलले डुबायो अर्कोले उकास्यो

Read Time : > 1 मिनेट
२०७६ भदौ १२ बिहीबार १२:२७:००

हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’ डिप्रेसनबाट गुज्रिएका बेला सन् २०१२ मा खोलेको युट्युब च्यानल ‘माग्ने बुढो’ले उनलाई त्यस मनोदशाबाट बाहिर निस्किन भरथेग गर्ने आशा थियो । तर, त्यस च्यानलबाट उल्टै घाटा व्यहोर्नुपरेपछि उनले १९ अक्टोबर २०१४ देखि ‘आमा अग्निकुमारी मिडिया’ नामक अर्को युट्युब च्यानल सञ्चालनमा ल्याए । यो च्यानलका सात लाख ३२ हजार ५०२ सब्स्क्राइबर पुगिसकेका छन् । युट्युब च्यानल नै चलाउनुपर्ने परिस्थिति के थियो भन्नेबारे उनले नयाँ पत्रिकासँग अनुभव साटेका छन् :

टेलिभिजनमा हाम्रा प्रहसन चले पनि म सन्तुष्ट थिइनँ । कारण– हामी सिरियल बनाएर दिन्थ्यौँ, तर भनेको समयमा पैसा पाइँदैनथ्यो । हाम्रो आम्दानीको स्रोत भनेकै ‘स्टेज सो’ र टेलिभिजन शृंखला हुन् । जब टेलिभिजनबाट दुःख पाउन थालियो तब विकल्प सुझ्यो, युट्युब च्यानल चलाउने ।

आफ्ना कमेडी शृंखला विश्वबजारमा पुर्‍याउने राम्रो उपाय पनि थियो, यो । विश्वबजारको कुरा गर्दा नेपाली भाषाका दर्शक कम हुने नै भए । त्यसैले सबैले बुझ्न सक्ने गरी कमेडी भिडियो बनाउन सकिन्छ कि भन्ने सोचेँ । अनि ‘आमा अग्निकुमारी मिडिया’ नाम राखेर युट्युब च्यानल खोलेँ ।

पहिलो च्यानल डुब्यो
‘आमा अग्निकुमारी मिडिया’ सञ्चालनमा ल्याउनुअघि मैले ‘माग्ने बुढो’ नाममा युट्युब च्यानल खोलेको थिएँ । त्यसका लागि एक लाख ५६ हजार रुपैयाँ खर्चिएँ । र, कमेडी भिडियोहरू पनि पोस्ट गरेँ । तर, जम्मा दुई डलर आम्दानी भयो । विदेशमा बस्ने केही साथीसँग मिलेर त्यो च्यानल खोलेको थिएँ । तर, साथीहरूले समय दिन सकेनन् । जसोतसो आफैँ चलाउँछु भनेर कस्सिँदा घाटा बेहोर्नुपयो । त्यसपछि आमाको नामबाट ‘आमा अग्निकुमारी मिडिया’ खोलेको हुँ ।

‘माग्ने बुढो’ नाममा युट्युब च्यानल खोलेको थिएँ । त्यसका लागि एक लाख ५६ हजार रुपैयाँ खर्चिएँ । र, कमेडी भिडियोहरू पनि पोस्ट गरेँ । तर, जम्मा दुई डलर आम्दानी भयो ।

कमेडी नै प्राथमिकतामा
‘आमा अग्निकुमारी मिडिया’ सुरुमा कसरी चलाउने होला भन्ने पीर पनि थियो । त्यसलाई दर्शकमाझ पुर्‍याउन उत्कृष्ट भिडियो बनाएर हाल्नु थियो । त्यसका लागि प्राविधिक स्रोत र साधन पनि महँगै प्रयोग गर्नुपर्‍यो । मैले मुन्द्रेको ‘कमेडी नाइट’ किनेरै हाल्ने गरेको छु । अन्य भिडियोहरू पनि हाल्दै आएको छु । केही भिडियो आफैँले पनि बनाएको छु । यस च्यानलमा कमेडी भिडियोलाई नै बढी प्राथमिकता दिएको छु । त्यसैले होला, दर्शकले मन पराइदिनुभएको छ ।

युट्युबर बन्यो भन्छन्
पछिल्लो समय युट्युब च्यानलका लागि बढी समय दिइरहेकाले अरू काम छुटेका छन् । त्यसैले साथीहरूले मलाई युट्युबर बन्यो भन्ने गर्छन् । म, श्रीमती, छोरो र छोरी गरी चारजनाले यो च्यानल चलाइरहेका छौँ । त्यसैबाट दैनिक जीवन चलाउन सहज भएको छ । सोचेजस्तो आम्दानी नभए पनि खर्च उठेको छ ।

युट्युब सञ्चालक इमानदार हुनुपर्छ
युट्युब पनि सञ्चारकै एक विधा हो । हामी पनि कमेडीमार्फत समाजमा घटित घटनाहरूमाथि नै दर्शकको ध्यानाकर्षण गराउँछौँ । युट्युब सञ्चालकहरू अनुशासित र इमानदार हुनुपर्छ । समाजमा नकारात्मक प्रभाव पर्ने गरी भिडियो बनाएर हाल्दिनँ । नक्कली भिडियोबाट टाढा छु । युट्युब प्रभावकारी छ, तर इमानदारिता भएन भने यसले समाजमा क्षति पुर्‍याउँछ । त्यसबाट बच्नु आवश्यक छ, युट्युबप्रतिको विश्वसनीयता गिराउने काम गर्नुहुँदैन ।