मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ भदौ १२ बिहीबार ०६:२९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

कंगोमा इबोलाको महामारी : नेपाल पनि  उच्च जोखिममा

साउनमा मात्रै ९३२ नेपाली कंगोबाट फर्किए

Read Time : > 1 मिनेट
२०७६ भदौ १२ बिहीबार ०६:२९:००

राष्ट्रसंघीय शान्ति मिसनका लागि नेपाली सुरक्षाकर्मीलगायत अधिकारीको आउजाउ भइरहेको प्रजातान्त्रिक गणतन्त्र कंगोमा अहिले इबोलाको महामारी छ । पछिल्लो एक वर्षमा एक हजार नौ सय ९४ व्यक्तिले ज्यान गुमाएका छन् । विश्व स्वास्थ्य संगठनले कंगोमा संकटकाल नै घोषणा गरेको छ । १७ जुलाईमा यसलाई विश्वव्यापी समस्यासमेत घोषणा गरेको थियो । 

तर, इबोलाको उच्च जोखिममा रहेको नेपालमा भने महामारी रोक्न सरकारले कुनै तयारी गरेको छैन । बरु, विदेशबाट आउनेको स्वास्थ्य अवस्था जानकारी लिन त्रिभुवन विमानस्थलमा स्थापना गरिएको हेल्थ–डेस्क नै रित्तो हुने अवस्थामा पुगेको छ । हेल्थ–डेस्कमा खटाइएका अधिकांश स्वास्थ्यकर्मीलाई स्थानीय तहले फिर्ता लगेका छन् । आफ्ना कर्मचारी खटाएको भन्दै स्थानीय तहले फिर्ता लगेपछि हाल दुई–तीनजना मात्रै रहेको हेल्थ–डेस्क संयोजक गोपाल पाण्डेले बताए । कंगोबाट साउनमा मात्रै नौ सय ३२ नेपाली स्वदेश फर्किएको तथ्यांक छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेक लाल इबोला संक्रमण देखिए रोकथामको कुनै तयारी नभएको बताउँछन् । कुनै व्यक्तिमा इबोलाको आशंका मात्रै भए पनि स्वास्थ्यकर्मी उपचार गर्न तयार नरहेको उनले बताए । स्वास्थ्यकर्मी सुरक्षित रहने व्यवस्था नै नभएकाले यस्तो अवस्था भएको उनको भनाइ छ । नेपालसँग इबोला परीक्षण गर्ने ल्याब पनि नभएको लालले बताए । 

‘हाल अमेरिकादेखि युरोपका विभिन्न देशमा पनि इबोलाको संक्रमण पुगिसकेको छ । नेपाल पनि सीधा हवाई सम्पर्कमा भएका कारण इबोला एकै दिनमा भित्रिन सक्छ । तर, आपत्कालीन अवस्थामा सेवा प्रवाह गर्ने संरचना नहुँदा समस्या छ । हेल्थ–डेक्समा सूचना लिनेभन्दा अन्य काम गर्न सक्ने अवस्था सरकारसँग छैन,’ डा. लालले भने, ‘नेपालमा कुनै व्यक्तिलाई इबोलाको आशंका भए परीक्षण गर्न अमेरिका पठाउनुपर्छ । त्यसको रिपोर्ट आउन महिना दिन लाग्छ । यसबीचमा कैयौँ व्यक्तिको मृत्यु भइसक्छ ।’ 

विश्व स्वास्थ्य संगठनका अनुसार विगतमा इबोलाको मृत्युदर ९० प्रतिशत थियो । अफ्रिकी देशहरूमा खोप सुरु भएकाले अहिले ५० प्रतिशतमा झरेको छ । तर, नेपालजस्ता देशमा इबोला भित्रिए मृत्युदर ९० या ५० प्रतिशत रहन्छ भन्ने अधिकारीहरूले यकिन गर्न सकेका छैनन् । 

यस्तो हुन्छ लक्षण 
इबोला भाइरस संक्रमण भएको व्यक्तिलाई सुरुमा अकस्मात ज्वरो आउँछ र शरीर दुर्बल हुन्छ । मांसपेशीमा पीडा हुन्छ र घाँटी दुख्न थाल्छ । बिस्तारै बान्ता र पखाला पनि लाग्न थाल्छ । आन्तरिक तथा बाह्य रक्तस्राव पनि हुन्छ । रोगग्रस्त मानिसको छाला, मुख, नाक, रगत, बान्ता, दिसा वा शरीरबाट उत्पन्न हुने अन्य तरल पदार्थ सोझै छुँदा इबोला भाइरस सर्ने सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए । शरीरबाट पानी र नुनको मात्रा घट्दै जाँदा धेरै अंगले एकैपटक काम गर्न छाड्ने र बिरामीको ज्यानै जाने हुन्छ । 

कसरी गरिन्छ उपचार ?
इबोलाको शंका लागेपछि सम्बन्धित व्यक्तिलाई विशेष एकल वार्डमा राखेर उपचार प्रक्रिया सुरु गर्नुपर्छ । यसको विशेष औषधि भने हुँदैन । लक्षण र जटिलताका आधारमा उपचार गरिन्छ । शरीरमा लवण, पानी र अक्सिजनको मात्रा सन्तुलनमा राखिन्छ । यो अवस्थामा कुनै ब्याक्टेरियल संक्रमण थपिए एन्टिबायोटिकको प्रयोग गर्नुपर्छ । उपचार गर्ने स्वस्थाकर्मीले विशेष प्रकारको कवच लगाउनुपर्छ । इबोलाग्रस्त क्षेत्रमा हालै खोपको प्रयोग भए पनि नेपालजस्ता देशमा आइसकेको छैन । 

विश्वका राष्ट्रलाई विश्व स्वास्थ्य संगठनको सुझाब 

कुनै पनि राष्ट्रले उसको सिमाना अथवा देशभित्र यात्रा र व्यापारमा कुनै प्रकारको प्रतिबन्ध लगाउनुहुँदैन । विज्ञानले यसलाई सही ठह¥याएको छैन । प्रतिबन्ध लगाउँदा मानिसको आवतजावत र मालसामान ओसारपसारमा बाधा पार्छ । तर, यो अवस्थामा इबोला फैलिने सम्भावना भने बढी हुन्छ । त्यसैले विमानस्थल वा अन्य प्रवेश बिन्दुमा प्रवेश गर्दा कडा खालको स्वास्थ्य जाँच गर्नेतर्फ सबै राष्ट्र गम्भीर हुनुपर्छ ।