मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
२०७६ भदौ ११ बुधबार १९:१५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

ढुक्क भएर काम गर्न जनप्रतिनिधिलाई मुख्यमन्त्री पोख्रेलको आग्रह

Read Time : > 1 मिनेट
२०७६ भदौ ११ बुधबार १९:१५:००

प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोख्रेलले जनप्रतिनिधीलाई आफूले नबिराउन र नडराउन आग्रह गरे । जिल्ला समन्वय समितिको हलमा स्थानीय तहका प्रमुख÷उपप्रमुखसँग कुरा गर्दै पोख्रेलले समाजमा लगाइने सबै आरोप गल्ती नभएकाले ढुक्क भएर काम गर्न जनप्रतिनिधीलाई आग्रह गरे ।

‘काम गर्ने मान्छेका पक्ष र बिपक्ष दुवै हुन्छन्, अरोपले अतालिनु पर्दैन,’ उनले भने, ‘आरोप प्रमाणित भए नैतिकताका आधारमा सजाय भोग्नुको विकल्प छैन ।’ उनले स्थानीय तहले आफ्नो क्षेत्रको नागरिकलाई फाइदा हुने गरि संचालन भएको विकास आयोजनालाई प्रदेश र केन्द्रको नभनेर अनुगमन तथा सुझाव दिनुपर्नेमा जोड दिए । उनले समायोजन सकिएपछि करारको बाटो पनि खुल्ने र लोक सेवा आयोग मार्फत अब छिट्टै कर्मचारी व्यावस्थापन गरिने बताए ।

प्रदेशका योजना अलपत्र
रुरु गाउँपालिकाका प्रमुख निलकण्ठ गौतमले प्रदेशका योजना संचालन हुँदा स्थानीय तहसँग कुनै समन्वय नहुने गरेको बताए । ‘प्रदेशबाट परेका गाउँका बाटा अलपत्र छन्, ठेकेदार पैसा लिएर बेपत्ता छ,’ उनले भने, ‘गाउँपालिकालाई कुनै भूमिका दिइएको छैन ।’ साथै धेरै थरिका सडक र तिनीहरुका कार्यालय भएकाले नागरिक र उपभोक्ता अलमलमा पर्ने स्थिती रहेको बताए ।

त्यस्तै प्रदेश सरकारले संचालन गरेका योजनाहरुको पनि प्रभावकारी अनुगमन नभएको सत्यवति गाउँपालिका प्रमुख पारिश्वर ढकालले बताए । उनले सत्यवति गाउँपालिकाका विभिन्न महत्वपूर्ण सडकहरु ठेकेदारले अलपत्र बनाएको देखे पनि केहि गर्न सक्ने अवस्था नरहेको बताए । जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले प्रदेशमा योजनाका बिषयमा समन्वय गर्ने र अपनत्व लिनेमा दुवै तहको समस्या भएकाले मिलेर विकास निर्माणमा अगाडी बढ्नुपर्नेमा जोड दिए ।

कर्मचारी समस्या झेल्दै
गुल्मीका स्थानीय तहले कर्मचारीको नहुँदा निकै समस्या परेको गुनासो गरेका छन् । मुसिकोट नगरपालिकाको उपमेयर कमला शर्माले प्रशासकीय प्रमुखले मात्रै कार्यालय संचालन गर्नुपर्ने अवस्थाले नागरिकमैत्री सेवा बिस्तारमा समस्या रहेको बताइन् । उनले स्थानीय तह गठन भएको थुप्रै समयसम्म पनि आवश्यक कर्मचारी नहुँदा लक्ष्य हासिल गर्न मुस्किल परेको गुनासो गरिन् । त्यस्तै चन्द्रकोट गाउँपालिका प्रमुख द्रोण बहादुर खत्रीले वडा सचिवविहीन गाउँपालिकामा एक जना अधिकृत र दुई÷तीन जना खरिदार सुब्बाको भरमा अहिले बजेट ल्याएको बिडम्बना सुनाए । 
‘सातै प्रदेशमध्ये अब्बल छौं’

प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोख्रेलले आफुहरु सातै प्रदेशमा अब्बल देखिएको बताए । उनले कानुन निर्माण र विकास खर्च र आर्थिक बृद्धिदरको हिसावले सात प्रदेशभन्दा अगाडी भएको दाबी गरे ।  उनले प्रदेशको संरचना निर्माण र कर्मचारीको व्यावस्थापनका चुनौतिकाबीच ६ महिना मात्रै काम गरेपछि राम्रो उपलब्धि प्राप्त गरेको बताए । मुख्यमन्त्री पोख्रेलले प्रदेशले संघियता कार्यान्वयन, कानुन निर्माण, आवधिक योजना तर्जुमासंगै सम्पादन गरेका कामहरु उत्कृष्ट भएकाले दाबी गरे । 

साथै तीन वर्षभित्र सवै जिल्लाका नागरिकमा आधारभुत खानेपानी सुविधा र साना ठुला सडक निर्माणको सवै काम सम्पन्न गर्ने जानकारी गराए । पोख्रेलले यो वर्ष प्रदेशको नाम र राजधानी टुङ्गो लगाउने बताएका छन् । राजनैतिक नभएर प्राविधिक परीक्षणका आधारमा राजधानी टुङ्गो लाग्ने उनको भनाइ छ । नेपाल पत्रकार महासंघ गुल्मीले आयोजना गरेको पत्रकार भेटघाटमा मुख्यमन्त्री पोख्रेलले राजनैतिक हिसाबले धेरैका आफ्नै तर्क र चाहाना भएकाले प्राविधिक मुल्यांकलन थालिएको बताए ।