मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ भदौ ११ बुधबार ०६:३९:००
Read Time : > 1 मिनेट
प्रदेश

दोलखाका १६ बस्ती पहिरोको उच्च जोखिममा

Read Time : > 1 मिनेट
२०७६ भदौ ११ बुधबार ०६:३९:००

दोलखाका डेढ दर्जन गाउँ पहिरोको उच्च जोखिममा परेका छन् । कतिपय गाउँ पहिरोले क्षतविक्षत बनेका छन् । पहिरोमा परी सयौँ परिवार विस्थापित भएका छन् । पहिरोमा परी एक महिनाअघि नै बेपत्ता तीनजना अझै फेला नपरेका जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । 

जिल्लामा यस वर्ष सबैभन्दा पहिले २१ असारमा गौरीशंकर गाउँपालिका ८ स्थित छेसाखारेमा पहिरो गएको थियो । त्यसयता करिब डेढ दर्जन गाउँमा पहिरो गइसकेको छ । पहिरोका कारण करिब पाँच करोडबराबरको क्षति भएको प्रहरी तथ्यांक छ । पहिरोले ३१ घर बगाएको दोलखाका प्रहरी प्रमुख डिएसपी मानबहादुर राईले जानकारी दिए । 

‘पहिरोमा परी तीनजना बेपत्ता र ६ जना घाइते भएका छन्,’ राईले भने, ‘पहिरोले करोडौँको क्षति भएको छ ।’ गौरीशंकर गाउँपालिका २ जुँगुमा गएको पहिरोमा परी बेपत्ता भएका तीनजना अझै भेटिएका छैनन् ।

  राहत नपाएको  पीडितको गुनासो

पहिरो पीडितले राज्यको तर्फबाट उचित राहत नपाएको गुनासो गरेका छन् । दैवी प्रकोप उद्धार समितिले सामान्य राहत दिनेबाहेक अन्य सुविधा उपलब्ध नगराएको उनीहरूको गुनासो छ । तर, प्रजिअ रिजालले संघीयता कार्यान्वयनमा आएपछि जिल्लामा भन्दा स्थानीय तहमा आर्थिक स्रोत हुने भएकाले स्थानीय तहले नै पीडितलाई थप राहत दिनुपर्ने बताए । ‘धेरैजसो अधिकार स्थानीय तहमा गएको छ, आर्थिक स्रोत पनि उतै केन्द्रित छ,’ प्रजिअ रिजालले भने, ‘फेरि पनि स्थानीय तहका जनप्रतिनिधिले उल्टै पीडितलाई राहतका लागि भन्दै हामीकहाँ पठाइरहनुभएको छ । हामीसँग कुनै स्रोत छैन । हामी पीडितलाई खाली हाल पठाउन बाध्य छौँ ।’ 

  पहिरो रोक्न तारजालीको माग
कतिपय पीडितले पहिरो रोकथामका लागि तारजालीको माग गरेका छन् । तर, जिल्लामा बाढी पहिरो रोकथामका क्षेत्रमा काम गर्ने भूसंरक्षण कार्यालय खारेज भएपछि पीडितले एक थान तार जालीसमेत नपाउने अवस्था सिर्जना भएको दोलखा उद्योग वाणिज्य संघका उपाध्यक्ष सनद थापाले बताए ।

संघीयता कार्यान्वयन भएसँगै दोलखाबाट हटेको भूसंरक्षण कार्यालय अहिले प्रदेश सरकारअन्तर्गत सिन्धुपाल्चोकमा सञ्चालित छ । कार्यालयले पाँच जिल्लामा काम गर्ने कार्यादेश पाएको छ । तर, दोलखामा बाढीपहिरोको ठूलो विपत् पर्दा पनि कार्यालयले त्यसको रोकथामका लागि कुनै पहल भीमेश्वर नगरपालिका–३ का वडाध्यक्ष हरिशरण शिवाकोटीले बताए ।

‘संघीयताका नाममा सदरमुकाममा भएको कार्यालय अर्को जिल्ला लगेर नागरिकलाई सास्ती दिने काम भएको छ,’ वडाध्यक्ष शिवाकोटीले भने, ‘तत्काल सदरमुकाममा कार्यालय स्थापना गरेर नागरिकलाई सेवा नदिए प्रदेश सरकारविरुद्ध आन्दोलन चर्काउनेछौँ ।’

यी हुन् पहिरो प्रभावित गाउँ
सबैभन्दा पहिला २१ असारमा गौरीशंकर– ८ को छेसाखारेमा पहिरो गयो । त्यसपछि २७ असारमा भीमेश्वर ३ को तामाकोसी रोड, कालिञ्चोक गाउँपालिका ४ लापिलाङ, सोही गाउँपालिकाको लामिडाँडा, गौरीशंकर गाउँपालिकाको शुसिङटार, गुरुङटोल, मार्बु र गर्जेलगायतका ठाउँमा पहिरोले क्षति पु-यायो । 

त्यस्तै, शैलुङ गाउँपालिकाको दुधपोखरी, शैलुङ–८ को एक्लेसल्ला, बिगु गाउँपालिकाको लादुक, लामाबगर कालिञ्चोकको बाबरे, जिरी नगरपालिकाको सल्ले, तामाकोसी गाउँपालिकाको हर्रेटार र मेलुङ गाउँपालिकामा पहिरोले क्षति पु-याएको जिल्ला दैविप्रकोप उद्धार समितिले जनाएको छ । 

समितिका संयोजक एवं दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जिल्लाका अन्य धेरै ठाउँमा सानातिना पहिरो गएका र सबै तथ्यांक आइनसकेको बताए । ‘केही दिनयता दिनभर घाम लाग्ने र राति ठूलो वर्षा हुँदा पहिरो खस्ने क्रम बढेको छ,’ रिजालले भने ।