१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ १० मंगलबार ०८:०४:००
Read Time : > 1 मिनेट
सम्पादकीय

गैँडा गणनामा राष्ट्रवाद

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ १० मंगलबार ०८:०४:००

सरकारले पहिलोपटक दातृ निकायसँग पैसा या दानदातव्य नथापीकनै नेपालमा भएका गैँडाको संख्या गणना गर्ने भएछ । समाचार आएपछि हरेक घटनाको केही महत्व हुन्छ नै । यो समाचारको पनि विशेष महत्व छ ।

नेपाल अब वन्यजन्तुको रेखदेखमा केही आत्मनिर्भर हुन थालेछ भन्ने सन्देश बुझिएला । सन् १९५० सम्म हजारजति एकसिंगे गैँडा पाइने नेपालमा अहिले ६ सय ५० गैँडा रहेका छन्, यो गैँडा संरक्षणमा नेपालले गरेको ठूलै योगदान हो । मानिसमा भ्रम कति शक्तिशाली हुन्छ भने एकथरिलाई गैँडाको खागमा यौनवद्र्धक शक्ति हुन्छ भन्ने विश्वास लाग्छ ।

खाग होस् या खुर, त्यसमा पाइने तत्व उही हो भन्नेचाहिँ कसैले बुझाउन सकेको छैन । त्यसका लागि पैसा हुनेहरू सुनभन्दा बढी मूल्य तिर्न तयार हुन्छन् । अर्काथरि हुन्छन्, त्यही पैसाको नगण्य हिस्साका लागि ज्यान जोखिममा राखेर या जेल सजाय हुन सक्ने सम्भावना देख्दादेख्दै गैँडा मारेर खाग या सिङ बिक्री गर्न हिँडिरहन्छन् । त्यसले गैँडाको संख्या घटाउँदै लगेको छ ।

मानवीय कार्यकलाप र गैँडाका हितबीच स्वार्थ बाझिँदा मानिसको मारमा परेर सकिँदै गएको गैँडाको एकसिंगे प्रजाति नेपाल, भारत र इन्डोनेसियाको जाभामा मात्र पाइन्छ । नेपाल र भारतका गैँडा विनाभिसा यताउता ओहोरदोहोर पनि गरिरहेका हुन्छन् । यही गैँडा संरक्षणका लागि लामो समय नेपालले लगानी गरिरहेको छ ।

चितवन र बर्दिया राष्ट्रिय निकुञ्जलाई गैँडाको संरक्षण क्षेत्र बनाइएको छ । गैँडा हेर्न बर्सेनि हजारौँ विदेशी र लाखौँ नेपाली पर्यटक चितवन र बर्दिया पुग्ने गर्छन् । यसले पर्यटकीय गतिविधि र आय–आर्जनलाई सहयोग गरेको छ । 

गैँडाको नाम जेसुकै राखिए पनि यसले नेपालको पर्यटन विकासका लागि महत्वपूर्ण योगदान गरेको साँचो हो

केही वर्षअघि नेपालको संविधान जारी हुने वेलामा राष्ट्रिय जनावरका रूपमा एकसिंगे गैँडालाई स्वीकार गर्न प्रस्तावसमेत आएका थिए । तर, तिनले त्यस्तो गैँडा नेपालको मात्र पेवा होइन, भन्नेचाहिँ त्यतिवेला पनि बिर्सेजस्तो छ । र, यतिवेला प्रधानमन्त्रीले गैँडाको नाम ‘राइनो’ हुन सक्दैन, यसलाई गैँडा नै भनियोस् भनेर जोडदार माग गरेका छन् ।

सगरमाथा र गैँडालाई नामैका आधारमा नेपाली पहिचान दिने राष्ट्रवादी धारणा सलल बगेर आएपछि यसो भनिएको होला । ग्रिसेलीहरूले नाकमा सिंग भएको जनावर भनेर ‘राइनोसर’ नाम राखिदिएपछि विश्वले त्यसैलाई पछ्याएको र गैँडा नभनेको इतिहास छ ।

विश्वका अनेक प्रजातिका लोप हुन बाँकी ठूला जनावरमध्ये गैँडाको वासस्थानका रूपमा नेपालको तराईले गरिरहेको योगदानबाट हामी चाहिनेभन्दा बढी हौसिएको हुन सक्छ । केही वर्षयता चोरी सिकारी निकै कम भए पनि प्राकृतिक कारणले गत वर्ष मात्र ४५ वटा गैँडा चितवनमा मात्र मरेको पाइएको थियो । 

गैँडाको नाम जेसुकै राखियोस्, तर यसले नेपालको पर्यटन विकासका लागि महत्वपूर्ण योगदान गरेको साँचो हो । विश्वमा हाम्रो चिनारी र पर्यटक तान्ने वस्तुका रूपमा गैँडाले महत्व पाएको हो । यसको संरक्षण आफैँले गर्नु र जलवायु परिवर्तनका प्रभाव र मानव बस्तीसँगका द्वन्द्वबाट यसलाई बचाउनु हाम्रो कर्तव्य पनि हो । यसपालि १० करोड खर्च गरेर गैँडा गणना गर्न नेपालले देखाएको तत्परताले संरक्षणका क्षेत्रमा नेपालले गर्दै आएको योगदानको महत्व स्थापित हुँदै गरेकोतिर संकेत गरेको छ ।