मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ भदौ ९ सोमबार १२:३४:००
Read Time : > 1 मिनेट
प्रदेश

ठूलीभेरीले रुकुम पश्चिमको टोल नै बगायो 

Read Time : > 1 मिनेट
२०७६ भदौ ९ सोमबार १२:३४:००

ठुलीभेरीले धार परिवर्तन गरी गाउँतिर कटान सुरु गरेपछि आठबिसकोट नगरपालिका–६ मन्काबगरको एउटा टोल नै बगेको छ । 

मन्काबगर टोलमा १२ घरपरिवार थिए । ठूलीभेरीले १९ साउनमा तीन घर बगाएको थियो । त्यसपछि भदौ पहिलो साता अन्य नौ घर पनि बगाएको आठबिसकोट–६ का वडाध्यक्ष उत्तम चनेलले बताए । उनका अनुसार, पत्रे बोहरा, भीमबहादुर थापा, विष्णुकुमारी बुढा, कालीबहादुर बोहरा, वीरबहादुर बोहरा, गोर्खे बोहरा र जुनबहादुर बोहराको घर बगेको छ । त्यस्तै, दीपक बोहरा, नन्दराम बोहरा, धर्मे बोहरा, यज्ञराज बोहरा र कमल बोहराको घर पनि ठूलीभेरीले बगाएको हो । 

घर बगाउन थालेपछि स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो । उनीहरू आफन्तको घरमा बसिरहेका छन् । घरजग्गा सबै बगेपछि नातेदारको घरमा बसिरहेको कालीबहादुर बोहराले बताए । ‘घर, बारी केही रहेन । सबै भेरीले बगायो,’ कालिबहादुरले भने । घरखेत बगाएको उनले अहिलेसम्म कसैले केही सहयोग नगरेको बताए ।

ठूलीभेरीले टोल नै बगाएपछि लाखौँको क्षति भएको छ । १२ घर बग्दा ८२ लाख ५० हजार क्षति भएको प्रहरीले मुचुल्का तयार पारेको छ । प्रतिपरिवार चारदेखि १० लाखसम्म क्षति भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुमित खड्काले बताए । जोखिममा रहेका घर पहिले नै खाली गरेकाले मानवीय क्षतिबाट जोगिएको उनको भनाइ छ । 

अर्को टोल पनि जोखिममा 
भेरीले बगाएको टोलसँगैको अर्को टोल पनि जोखिममा परेको छ । मन्काबगरकै अर्को टोल उच्च जोखिममा रहेको वडाध्यक्ष चनेलले बताए । अर्को टोलमा १५ घर र एउटा विद्यालय रहेको छ । अर्को टोल ५० देखि ६० मिटर दूरीमा रहेको उनले बताए ।

जोखिममा रहेको टोलका बासिन्दालाई पनि खाली गरिएको छ । उनीहरू छिमेकी मन्का टोलमा गएर बसेका छन् । नदीले जतिवेला पनि बगाउन सक्ने भएकाले टोल नै खाली गरिएको उनले बताए । त्यहाँ रहेको कालिका आधारभूत विद्यालय भने जोखिम मोलेरै सञ्चालन भइरहेको छ ।

क्षतिको विवरण संकलन गरिँदै
आठबिसकोट नगरपालिकाले क्षतिको विवरण संकलन भइरहेको जनाएको छ । बाढी, पहिरो, नदी कटानले ठूलो क्षति पु¥याएको मेयर गोर्खबहादुर केसीले बताए । क्षतिको विवरण आएपछि नगर विपद् व्यवस्थापन समितिको बैठक बसेर निर्णय गरिने उनको भनाइ छ । ‘नगरपालिकाले कति राहत दिन सक्छ, त्यो दिन्छौँ । बाँकी राहतका लागि जिल्ला विपद् व्यवस्थापन समितिलाई आग्रह गर्छौँ,’ मेयर केसीले भने ।