मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
तीर्थराज बस्नेत काठमाडौं
२०७६ भदौ ७ शनिबार ०९:३२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

मिसिएको फोहोर महानगरले नउठाउने

कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने

Read Time : > 1 मिनेट
तीर्थराज बस्नेत काठमाडौं
२०७६ भदौ ७ शनिबार ०९:३२:००

कुहिने र नकुहिने दुवै मिसिएको फोहोर काठमाडौं महानगरपालिकाले नउठाउने भएको छ । अब घरमै कुहिने र नकुहिने फोहोर छुट्याउन पनि महानगरको वातावरण विभागले आग्रह गरेको छ । ल्यान्डफिल साइटसम्म पुग्ने फोहोरको मात्रा कम गराउन हाउसहोल्ड फोहोर संकलन प्रणाली लागू गर्न लागिएको विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए ।

‘हाम्रोमा सबै किसिमका फोहोर मिसाएर फाल्न ल्याइने प्रचलन छ,’ उनले भने, ‘त्यसैले फोहोर छुट्याएर मात्रै संकलन गर्ने नीति लिएका छौँ ।’ हाउस होल्ड प्रणाली पहिलो चरणमा आइतबारदेखि काठमाडौं महानगरका १२, १८ र २१ वडामा लागू हुने विभागले जनाएको छ ।
 
 फरक–फरक दिन संकलन गरिने
विभागका अनुसार कुहिने र नकुहिने फोहोर फरक–फरक बार उठाइनेछ । पहिलो चरणमा हाउस होल्ड प्रणाली लागू भएका वडामा कुहिने फोहोर आइतबार, मंगलबार, बिहीबार र शनिबार उठाइने छ । सोमबार र बुधबार भने नकुहिने फोहोर मात्र संकलन गरिने श्रेष्ठको भनाइ छ । ‘फोहोर घरमै छुट्याउनुपर्नेछ । नकुहिने फोहोर कवाडीमा बेच्ने र कुहिनेलाई कम्पोस्ट मल बनाउने योजना छ,’ उनले भने, ‘नकुहिने फोहोर कवाडी सामान किन्नेहरूलाई नै संकलन गर्न पठाउने योजना बनाएका छौँ । फोहारवालाले सीधै बेच्न सक्छन् ।’ 

कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्लान्टसमेत बनाउने योजना रहेको श्रेष्ठले जानकारी दिए । ‘निजी क्षेत्रलाईसमेत यही प्रणालीमा फाहोर संकलन गर्न भनेका छौँ,’ उनले भने ।  यसरी उठाइएको फोहोरको ६० प्रतिशतबाट कम्पोस्ट मल बनाउने, ३० प्रतिशत  कवाडीमा जाने र १० प्रतिशत मात्रै ल्यान्डफिल साइटमा पुग्ने दाबी विभागको छ । यो प्रणाली चालू आर्थिक वर्षभित्र सबै वडामा लागू गरिने विभागले जनाएको छ । काठमाडौं महानगरभित्र दैनिक आठ सय ५३ टन फोहोर उत्पादन हुँदै आएको छ । 

 सडकमा फोहोर फाल्ने २५ लाई कारबाही
विभागले चालू आर्थिक वर्षको एक महिनामा सडकमा फोहोर फाल्ने २५ जनालाई कारबाही गरेको छ । राति सडक र नदी किनारमा फोहोर फाल्नेलाई कारबाही गरिएको हो । कारबाहीमा परेका सबैलाई जनही पाँच हजार जरिवाना गरेको श्रेष्ठले सुनाए ।

‘पहिलोपटक कारबाहीमा पर्नेलाई पाँच हजार जरिवाना लिने गरेका छौँ । हालसम्म करिब एक लाख रुपैयाँ जरिवानामार्फत संकलन भएको छ,’ उनले भने, ‘एकपटकभन्दा बढी फोहोर फाल्नेलाई अधिकतम २५ हजारसम्म जरिवाना गर्ने हाम्रो नीति छ ।’ विभागका अनुसार बागमती, विष्णुमती किनार, टेकु, बानेश्वर क्षेत्रमा बढी फोहोर फाल्ने गरिन्छ ।

‘फोहोर फालिरहेको भेट्दा पनि कारबाही गरेका छौँ, फोहोरको पोकामा फालिएका कागजातबाटसमेत पत्ता लगाएर कारबाही गरिएको छ,’ श्रेष्ठले भने, ‘अब प्रहरीसँग मिलेर हामीले चोक र गल्ली सिसी क्यामरा राख्दै छौँ । त्यसपछि फोहोर फाल्नेमाथिको कारबाही थप प्रभावकारी हुनेछ ।’