Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रञ्जन भण्डारी महोत्तरी
२०७६ भदौ ६ शुक्रबार १६:२२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

पैसा हत्याउने लाेभमा सुपारी दिएर श्रीमानकाे हत्या

Read Time : > 1 मिनेट
रञ्जन भण्डारी महोत्तरी
२०७६ भदौ ६ शुक्रबार १६:२२:००

महाेत्तरीकाे बर्दिवास नगरपालिका-३ गौरीडाँडाका ३६ वर्षीय सरोज भन्ने श्रवण कुमार थापा सडकमा घाइते फेला परे । प्रहरीले उनलाई स्थानीय शुभ स्वस्तिक अस्पतालमा लगे । तर, उनलाई अस्पतालमा पुर्याएकाे केही समयपछि मृत्यु भयाे ।

सडक दुर्घटना भएकाे जस्ताे देखिने थापाको मृत्यु दुर्घटना नभई उनकै श्रीमती, सासु र सालीको योजनामा हत्या भएकाे प्रहरीले जनाएकाे छ । उनीहरूले पेशेवर हत्यारालाई पाँच लाखमा सुपारी दिएर थापाकाे हत्या गरिएको भएकाे प्रहरीले जानकारी दिएकाे हाे । प्रहरीले हत्या गरेकाे आशंकामा चार जना पेशेवर हत्यारालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएकाे छ । पत्रकार सम्मेलनमा एसपी श्याम कृष्ण अधिकारीले पैसाकाे लागि श्रीमानको हत्या गरिएकाे देखिएको बताए ।

हाल पेशेवर हत्यारामध्ये एक जनासहित मृतककी श्रीमती, सासु र पाँच जना साली फरार रहेका छन् । उनीहरूकाे खाेजी कार्य रहेकाे एसपी अधिकारीले जानकारी दिए । उनले भने, 'पेशेवर हत्यारासँग पाँच लाखमा कुरा भए पनि हालसम्म साढे दुई लाख मात्र दिएका रहेछन् ।'

फरार आरोपीहरुको नाम प्रहरीले गाेप्य राखेकाे जनाएकाे छ । हत्यामा संलग्न भएकाहरूमा सर्लाही धनकौल गाउँपालिका-३ हरकटवा बस्ने वर्ष २७ का प्रमोद सिंह, सोही ठाउँका वडा नं. २ बस्ने वर्ष २७ को मुकेश साह, रौतहटको गढीमाई नगरपालिका ६ बखरी टोल बस्ने वर्ष ३३ का जिला भन्ने श्रीनारायण महरा र वर्ष ४६ का टिआई सहनी रहेका छन् ।

यसरी भयाे घटना

एसपी अधिकारीले पत्रकार सम्मेलनमा भनेअनुसार गत असार ३१ गते राति साढे १० बजे बर्दिवास नगरपालिका-३ स्थित स्मृति पार्क नजिकै विपी राजमार्गको सडक छेउमा एक स्कुटर लडेको अवस्थामा फेला पर्यो । उक्त स्कुटर चालक गम्भीर घाइते भई लडेको अवस्थामा प्रहरीले तत्काल उनलाई अस्पताल लगेकाे थियाे ।

सामान्य सडक दुर्घटना जस्ताे देखिए पनि पोष्टमार्टमको रिपोर्टले प्रहरीलाई घटनाबारे सोच्न विवश गर्यो । मृतकको टाउकोपछाडि गहिरो चोट थियो । जुन दुर्घटनामा ठाेकिएकाे भाग परेकाे थिएन । यसै चोटले अनुसन्धान सुक्ष्म तरिकाले गर्न पर्ने गरी प्रहरीकाे ध्यान तानेकाे थियाे ।

मृतक थापाकाे श्रीमतीसँग राम्राे सम्बन्ध नरहेको तर बेचिएको जग्गाको पैसा उनैसँग रहेकाले श्रीमातीले हत्या गर्ने योजना बनाएकाे प्रहरीले जनाएकाे छ । थापाकाे श्रीमतीले बहिनीकाे साथी प्रमोद सिंहकाे माध्यमबाट श्रीमानलाई मार्ने मान्छे खाेज्न आग्रह गरिन् । सिंहले तत्काल मुकेश साहसँग सम्पर्क गरे । मुकेशकै माध्यमबाट तीन जना पेशेवर हत्याराले पाँच लाखमा थापाकाे हत्या गर्ने याेजना बनाएका थिए ।