१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ भदौ ६ शुक्रबार १०:१९:००
Read Time : > 1 मिनेट
खेलकुद

किर्गिस्तान र उज्वेकिस्तान उपाधिका लागि भिड्दै

एभिसी सेन्ट्रल जोन भलिबल

Read Time : > 1 मिनेट
२०७६ भदौ ६ शुक्रबार १०:१९:००

किर्गिस्तान र उज्वेकिस्तानले एसियाली भलिबल महासंघ सेन्ट्रल जोन (एभिसी) भलिबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । बिहीबार भएको सेमिफाइनलमा किर्गिस्तानले साबिक विजेता तुर्कमिनिस्तानलाई हराउँदै अन्तिम दुई स्थान पक्का गरेको थियो । उज्वेकिस्तानले माल्दिभ्सलाई सीधा सेटमा निराश पार्दै फाइनलयात्रा पक्का गरेको हो । 

किर्गिस्तानको रवाफ
प्रतियोगिताको सुरुदेखि नै उच्च लयमा देखिएको किर्गिस्तान समूह चरणमा नेपाल र माल्दिभ्सलाई सोझो सेटमा हराएर समूह एको विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेको थियो । समूह चरणमा नेपाललाई २५–२३ र २५–२२, २५–२२ ले हराएको किर्गिस्तान दोस्रो खेलमा माल्दिभ्समाथि २५–१५, २६–२४ र २५–१९ ले विजयी भएको थियो । सेमिफाइनलमा पनि आफ्नो उत्कृष्ट प्रदर्शन दोहोर्‍याउँदै किर्गिस्तान तुर्कमेनिस्तानलाई सहजै पाखा लगाउन सफल भयो ।

एकपक्षीय खेल
किर्गिस्तानले तुर्कमेनिस्तानविरुद्ध पहिलो सेटमा २५–१७ को फराकिलो अन्तरले जित निकाल्यो । किर्गिस्तान दोस्रो सेट २५–१८ ले आफ्नो पक्षमा पार्न सफल भयो । तेस्रो सेटमा केही सम्हालिने प्रयास गरे पनि तुर्कमेनिस्तानले किर्गिस्तानलाई २५–२२ ले खेल सुम्पियो । हारसँगै तुर्कमेनिस्तान उपाधिहोडबाट बाहिरियो । किर्गिस्तानले जारी प्रतियोगितामा माल्दिभ्सबाट मात्र एक सेटमा चुनौती पाएको थियो । 

नेपाल र अफगानिस्तान भिड्दै
समूह चरणबाटै बाहिरिएको आयोजक नेपालले शुक्रबार पाँचौँ स्थानका लागि अफगानिस्तानविरुद्ध प्रतिस्पर्धा गर्दै छ । समूह एमा तेस्रो स्थानमा रहेको नेपाल र समूह बीमा चौथो स्थानमा रहेको अफगानिस्तानले पाँचौँ स्थानका लागि प्रतिस्पर्धा गर्न लागेका हुन् । नेपाल र अफगानिस्तानबीच सेन्ट्रल जोनको वरीयताका लागि प्रतिस्पर्धा हुन लागेको हो । नेपालले यसअघि अफगानिस्तानसँग भएका दुई मैत्रीपूर्ण खेलमा नजिता आफ्नो पक्षमा पारेको थियो ।

उज्वेकिस्तानसँग निरीह माल्दिभ्स
नेपाललाई सोझो सेटमा पराजित गरेर समूह एको उपविजेता बन्दै सेमिफाइनल पुगेको माल्दिभ्स समूह बीमा अपराजित रहँदै अन्तिम चारमा पुगेको उज्वेकिस्तानसँग निरीह देखियो । उत्कृष्ट प्रदर्शन गरेको उज्वेकिस्तानले फाइनलमा स्थान बनाउनेक्रममा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पन्छायो । माल्दिभ्सविरुद्ध उज्वेकिस्तानले पहिलो सेट २५–२० ले आफ्नो पक्षमा राख्यो । उज्वेकिस्तानले दोस्रो सेट २५–१९ ले जित्यो । माल्दिभ्सका लागि खेलमा फर्कन तेस्रो सेट जित्नैपर्ने थियो । सो सेटमा उज्वेकिस्तान २५–२१ ले पराजित भएपछि माल्दिभ्सको फाइनल सपना अधुरै रह्यो ।