मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
हेमन्तप्रकाश ओली ‘सुदर्शन’ काठमाडाैं
२०७६ भदौ ६ शुक्रबार ०८:५६:००
Read Time : > 4 मिनेट
दृष्टिकोण

‘मार्क्सवादी ’ प्राध्यापकको पुँजीवादी आत्मसमर्पण

‘सय वर्षको भ्रान्ति तोडौँ’ लेख्दा लेखक कतै पुँजीवादी मायावादमा फस्नुभएको त थिएन ?

Read Time : > 4 मिनेट
हेमन्तप्रकाश ओली ‘सुदर्शन’ काठमाडाैं
२०७६ भदौ ६ शुक्रबार ०८:५६:००

बहस पुँजीवादमा आत्मसमर्पण गरिसकेका, तर अझै समाजवादको खोल पनि नछाडेका विश्वविद्यालयका आर्चायहरूसँग गर्नुपरेको छ । प्राध्यापक चैतन्य मिश्रको ‘भ्रान्तिका सय वर्ष’‘नेपाल’साप्ताहिकको वर्ष १९, अंक ४५ मा पढ्न पाइयो । यो आलेख उहाँको प्रकाशनमा आउन लागेको पुस्तक ‘लोकतन्त्र र आजको माक्र्सवाद’को अंश रहेछ ।

नयाँ पुस्तक आउँदै गरेकोमा चैतन्य सरलाई बधाई छ । मानिसहरू तपाईंलाई चिन्तन पेटारो अर्थात् थिंकट्यांक भन्छन् । अझै पुगेन सर, ‘भ्रान्तिका दुई सय वर्ष’ भनेको भए टन्टै खलास हुन्थ्यो । तर, सर त बुद्धिजीवी हो, त्यसैले बुद्धि त पु-याउनैप-यो । लेनिनको टाउकोमाथि घन प्रहार गर्नुभयो र मार्क्सको ओत लागिहाल्नुभयो । 

आर्चायज्यूहरूले पूर्वएमाले र माओवादी केन्द्रलाई पहिले माओवाद छाड्न लगाउनुभयो, अहिले लेनिनवाद छोडाउँदै हुनुहुन्छ र भविष्यमा माक्र्सवाद छोडाउनुहुनेछ । महाशय ! यति सानो कुरा पनि यहाँहरूलाई सिकाएकोमा माफ गर्नुहोला । मार्क्सवादको विकास माओवादमा भएपछि संसारका साम्यवादी दलको मार्गदर्शक सिद्धान्त सिंगो मार्क्सवाद –लेनिनवाद–माओवाद (मालेमावाद) भएको हो ।

यही नै आजको मार्क्सवाद  हो । यसलाई अलग–अलग गरेर भनिए पनि मार्क्सदेखि माओसम्मको समग्र सैद्धान्तिक विकासलाई नै जनाउँछ । त्यसकारण मालेमावाद कसैको मनोगत इच्छाले टुक्र्याउन सकिँदैन । मनोगत इच्छाले टुक्र्याउनु भनेको घोर संशोधनवाद हो ।

दोस्रो, तपाईं आचार्यहरूले मालेमावादको मूल पाठ पढ्ने कष्ट कहिल्यै गर्नुभएको छैन । मार्क्सवादी  स्कुलका नाममा माक्र्सवादका विरुद्ध भ्रम फैलाउन र तत्कालीन सोभियत समाजवादी गणतन्त्र संघ भत्काउन खुलेका फ्रांकफर्ट स्कुल, अस्ट्रेलियाली स्कुल, उच्च आधुनिकतावादी डेरिडा स्कुल र नवउदारवादी फुकुयामा स्कुल पढिरहनुभएको छ ।

चैतन्य सर आफैँले भनेअनुसार फुकुयामाको ‘इतिहासको अन्त्य र अन्तिम मान्छे’को जवाफमा ‘नाशवान् पुँजीवादका विशेषताहरू’ शीर्षकको आलेख लेखेकोमा आज आएर पश्चात्ताप गरिरहनुभएको छ । 

यस्तो चेतलाई रूपवादी र विखण्डनवादी चेत नभनेर के भन्ने ? चिन्तन पद्धतिका हिसाबले यो आदर्शवादी अधिभूतवाद हो । पुँजीवादलाई रूपमा प्रगति र विस्तार भएको देख्ने, तर संकटमा छटपटाइरहेको नदेखिने प्रवृत्ति नै रुढिवादी प्रवृत्ति हो । लेनिनवादलाई मार्क्सवादबाट अलग्याउनु विखण्डनवादी हो । पुँजीवादीले लेनिनवादलाई मार्क्सवादबाट खण्डित गर्छन् ।

अरू पुँजीवादीले झैँ  चैतन्य सरले पनि स्टालिनलाई देख्न सक्नुहुन्न, किनभने उहाँ मालेमावादको समालोचना होइन आलोचना बढी पढ्ने आलोचनावादी हुनुहुन्छ । मार्क्सवाद  आलोचनावाद होइन, बरु यो आलोचनात्मक र क्रान्तिकारी दुवै हुन्छ । स्टालिनमाथि आलोचना गर्ने आलोचनावादी ट्राटस्की, जिनोवेभ र कामेनेभ थिए । उनीहरू वास्तवमा जर्मनीका घुसपैठिया थिए । यी आलोचनावादीले लेनिन र स्टालिनको आलोचना गर्छन् र हिटलरको समर्थन गर्छन् ।

चीनको आर्थिक समृद्धिलाई बुझ्ने सरहरूको बुझाइ पनि अधिभूतवादी छ । यहाँहरूले १९४९ देखि १९७६ सम्मको चीनलाई माओकालीन जनताको जनवादी अधिनायकत्वअन्तर्गतको चीन र १९७८ पछि तेङकालीन चीनका रूपमा चिनिन्छ । माओकालीन चीनमा आर्थिक विकास हुन सकेन र तेङ आएपछि खुला बजार अर्थतन्त्रले खुबै समृद्धि भएको छ भन्ने बुझाइ छ ।

चैतन्यज्यूले पनि १९७८ पछिको चीन भन्नुभएको छ । चीनको आर्थिक समृद्धिबारे अहिलेका राष्ट्रपति सी जिनपिङलाई बोल्न दिऊँ न त । उहाँले माओको १२०औँ जन्मजयन्तीका अवसरमा भन्नुभएको छ– ‘हामीले हाम्रो समृद्धिको दार्शनिक आधार माओको तथ्यहरूबाट सत्य खोज्ने दर्शनलाई बनाएका छौँ ।’ उहाँले भन्नु भएको छ, ‘वस्तुगत रूपले अस्तित्वमा रहेका कुरा नै तथ्य हुन्, सत्य भनेको तिनको आन्तरिक सम्बन्ध हो ।

जुन नियमबाट सञ्चालित हुन्छ ।’ मार्क्सवादलाई लाक्षणिक रूपले धनुषवाणका रूपमा परिभाषित गरिएको छ र चिनियाँ क्रान्ति, यसको आधुनिकीकरण र सुधारलाई निशानाका रूपमा । उहाँले अझ अगाडि भन्नुभएको छ, ‘हामीले मार्क्सवादी धनुषवाणले चिनियाँ क्रान्ति, आधुनिकीकरण र सुधारको निशानामाथि हान्नुपर्छ ।’ 

त्यसकारण माओकै आधुनिकीकरण, सुधार र क्रान्तिको जगमा नै चीनले आजको वैभवशाली उचाइ प्राप्त गरेको हो । भलै सी जिनपिङहरूले यसलाई चिनियाँ विशेषतासहितको समाजवाद भनेका छन् । उनीहरूले उदारवादी प्रजातन्त्रको विरोध गर्छन् ।  तपाईंहरूले पुँजीवादसामु घुँडा टेकिसकेपछि त्यसको उच्चतम प्रणाली नवउदारवादको विरोध गर्ने कुरा भएन । 

पुँजीवादी उदय भएको चार सय वर्षपछि मात्र माक्र्स र एंगेल्सको जन्म भएको हो । पुँजीवादको चिहान खन्ने सर्वहारावर्ग हो र पुँजीवादको विकल्प वैज्ञानिक समाजवाद हो भनेर लेख्ने पहिलो व्यक्ति कार्ल माक्र्स नै हुन् । माक्र्सको पालामा एसिया, अफ्रिका र दक्षिण अमेरिकामा पुँजीवादी क्रान्ति आवश्यक थियो । रुसको १९१७ को फेबु्रअरी क्रान्ति र चीनमा १९२४ देखि १९४९ सम्म भएका क्रान्ति पनि पुँजीवादी क्रान्ति नै थिए । ती दुवै क्रान्तिको नेतृत्व पुँजीपति वर्गले गरेका थिएनन्, बरु सर्वहारा वर्गले गरेको थियो ।

अझ किसान, मजदुर, सिपाहीहरूको अग्रदस्ता कम्युनिस्ट पार्टीले गरेको थियो । यसो हुनुको कारण सन् १९०० पछि पुँजीवादी साम्राज्यवादमा पतन भयो । उसले आफ्नो प्रगतिशील भूमिका गुमायो । अनि मार्क्सले कहिले ‘पुँजीवादलाई एक क्रान्तिकारी पद्दति’ भन्नुभयो ? पेरिस कम्युनपछि नै पुँजीवादले आफ्नो बचेखुचेको प्रगतिशील भूमिका गुमाइसकेको थियो ।

चैतन्य सर, अहिलेसम्म नेपालमा मालेमावाद पढेका विद्वान् त हजारौँ पक्कै छन् ।तपाईंले नै बरु पढ्नुभएको छैन कि भन्ने डर लागेको छ । पक्कै पनि तपाईंले संशोधनवादी आलोचनावाद पढ्नुभएको छ । त्यसकारण तपाईंले अन्तर्राष्ट्रिय रूपमा पुँजीवादको चरम रूप निगम पुँजीवाद र नेपालमा दलाल पुँजीवादसमक्ष आत्मसमर्पण गर्नुभएको छ । यसमा नआत्तिनुहोला, दलाल पुँजीवादी संसदीय व्यवस्थाको वर्तमान शासक डबल नेकपाको नेतृत्व गण पनि तपाईंकै पछुवा भएको छ । बरु हौसला बुलन्द गरेर पुँजीवादको वकालत गर्नुहोस् ।

 तेस्रो, संशोधनबारे पार्टी र त्यसका विद्वान्को काम भनेको कार्यनीतिका लागि रणनीतिको बलिदान गर्नु हो । उदाहरणका लागि चैतन्य सरको सोही लेखलाई नै लिन सकिन्छ । अहिले पुँजीवादमा आत्मसमर्पण गरे पनि पुँजीवादमा उहाँको विश्वास छैन । उहाँ के निष्कर्षमा पुग्नुभएको छ भने अब केही पुस्ताका लागि पुँजीवाद  ढल्नेवाला पनि छैन ।

यसविरुद्ध अहिले लड्ने भन्ने कुरा मनको बाघ मार्ने कुरा हो । आज भयंकर नारा दिनुभयो, ‘सय वर्षको भ्रान्ति तोडौँ’ । के रुसको अक्टोबर क्रान्तिलगायत मंगोलिया, पूर्वी जर्मनी, युगोस्लोभिया, चेकस्लोभाकिया, बुल्गेरिया, रूमानिया, पोल्यान्ड, चीन, उत्तर कोरिया, क्युबा, भियतनाम, कम्बोडियामा भएका सफल समाजवादी क्रान्ति भ्रान्ति नै थिए ? के पछि भारत, श्रीलंका, बर्मा, टर्की, फिलिपिन्स, चिली, इन्डोनेसिया,  निकारागुवा, पेरू र हाम्रै नेपालमा भएका विजयको सन्निकट पुगेर पनि असफल क्रान्तिहरू पनि भ्रान्ति नै थिए त ?

तथ्यबाट सत्य पत्ता लगाउनुभन्दा तथ्यलाई भ्रान्ति र भ्रान्तिलाई तथ्य भन्न सिकाएको पनि वृद्ध पुँजीवादले नै होला, होइन र महाशय ? अनि हाम्रो अगाडिको बाघ कुन हो त ? हाम्रैअगाडि त नेपालमा दलाल पुँजीवादी छ । अन्तर्राष्ट्रिय रूपमा अतिकेन्द्रित र अति एकाधिकारवादी निगम पुँजीवाद छ । हाम्रो जीवनमा ठोकिएर यही आएको छ, तपाईं कुन बाघकोे कुरा गर्दै हुनुहुन्छ ?

यो आलेख रचना गर्दा कतै पुँजीवादी मायावादमा फस्नुभएको त थिएन ? अहिले दलाल पुँजीवादी र साम्राज्यवादका विरुद्ध सिन्को पनि तयार नपारौँ, कालान्तरमा यो आफैँ विघटन हुन्छ भन्नु त स्वतस्फूर्तवाद हो । अति एकाधिकारवादी पुँजीवादले हिन्द–प्रशान्त रणनीति ल्याएर घाँटी निमोठ्न थालिसकेको होइन ? यसरी चिन्तनको पेटारो रित्तै राखेर चिन्तन गर्नेसँग कसरी छलफल गर्ने ? 

तपाईंले भन्न खोज्नुभएझैँ अहिले पुँजीवाद नै मानौँ । वैज्ञानिक  समाजवादका कुरापछि गरौँला होइन र ? म सरलाई माओको ‘पहाड पन्छाउने मूर्ख बुढो’ पढ्न सिफारिस गर्छु । उसले घाम छेक्ने पहाड पन्छाउन आफैँबाट सुरु ग-यो र छोरा नातिसम्मको रणनीति बनायो । मार्क्सवाद पढेको भए सरलाई थाहै होला, कार्यनीतिले रणनीतिको सेवा गर्नुपर्छ । तपाईंको साँच्चै नै सगरमाथा चढ्ने लक्ष्य हो भने बंगालको खाडीतिर किन दौडिरहनुभएको छ ? भ्रान्तिमा हामी होइन महाशय, तपाईं हुनुहुन्छ । 

मार्क्सवाद –लेनिनवादकै जगमा टेकेर माओले सर्वहारा सांस्कृतिक क्रान्तिअन्तर्गत निरन्तर क्रान्तिको विकास गर्नुभयो । यो माक्र्सकै स्थायी क्रान्ति विकास हो । आज हामीले घोषणा गरेका छौँ कि अब सर्वहारा अधिनायकत्व मानेर मात्र कोही पनि साम्यवादी हुन सक्दैन, जसले सर्वहारा अधिनायकत्वअन्तर्गत निरन्तर क्रान्ति मान्छ, त्यही मात्र कम्युनिस्ट हुन सक्छ । निरन्तर क्रान्ति भनेको पुरानो आदतको सत्ताका विरुद्ध सांस्कृतिक क्रान्ति हो । यही नै मार्क्सवादको तेस्रो, नयाँ र श्रेष्ठ आविष्कार माओवाद हो । 

पुँजीवादी दलदल नै तपाईंको गन्तव्य हो भने माक्र्सवाद सही र लेनिनवाद गलत भन्ने ठाउँ नै छैन । आल्थुजर, दुर्खाइम, डेरिडा र फुकुयामावादको कुरा गर्नुहोस् र जेफ विजोस, विल गेट्स वारेन बफेटको पूजा गर्नुहोस् । मालेमावादी दर्शन भ्रम र मिथ्या, पाँच सय वर्ष पुरानो पुँजीवादी कुहिएको दर्शनचाहिँ सत्य ?