मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७६ भदौ ६ शुक्रबार ०८:०४:००
Read Time : > 4 मिनेट
सेयर बजार

बजारसँगै सुस्त सेयर बजार

Read Time : > 4 मिनेट
२०७६ भदौ ६ शुक्रबार ०८:०४:००

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक शून्य दशमलव शून्य ८ अंक घटेर बन्द भएको छ । कारोबारको अधिकांश समय सकारात्मक रहेको नेप्से अन्तिम समयमा ओरालो लागेर बन्द भएको हो । लामो समयदेखि भारित औसत विधिबाट पुँजीगत लाभकर गणना गर्ने विवादले नेप्से ओरालो लाग्न दबाब सिर्जना गरिरहेको थियो । सो विवाद शीघ्र अन्त्य गर्न नेपाल धितोपत्र बोर्डले सिडिएस एन्ड क्लियरिङलाई निर्देशन दिएको थियो । तर, निर्देशन पाएको १२ दिन बितिसक्दा पनि सो समस्या समाधान नभएका कारण बोर्डले सिडिएससँग स्पष्टीकरण मागेको छ । अहिले बजार ओरालो लाग्नुमा मुख्य कारण नै सोही विवाद हो । सो विवाद अन्त्य भए बजारले गति लिने लगानीकर्ताले आशा गरेका छन् । सूचीकृत कम्पनीहरूले लाभांश घोषणा गर्न थालिसकेका छन् । नेप्से निरन्तर ओरालो लागेका कारण बजारमा कम्पनीहरूको सेयरमूल्य निकै सस्तो भइसकेको छ । सस्तो मूल्यमा सेयर खरिद गरी छोटो समयमा प्रतिफल पाउने यो ठूलो अवसर भएको एक लगानीकर्ताले बताए । तर, लगानी गर्नुअघि कम्पनीहरूको विश्लेषण गरेर मात्र लगानी गर्न उनले सुझाब दिएका छन् । 

बजार सारांश
नेप्से परिसूचक बिहीबार शून्य दशमलव ९९ अंक घटेर १ हजार २ सय १३ दशमलव शून्य ६ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन शून्य दशमलव २९ अंक बढेर २ सय ६३ दशमलव ७० बिन्दुमा पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स यस दिन शून्य दशमलव शून्य ७ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव १० अंक बढेर बन्द भएको छ । यस दिन १ सय ७२ कम्पनीको ६ हजार २ सय ७८ पटकको कारोबारमा २६ करोड १६ लाख ७० हजार २ सय ३ रुपैयाँबराबरको १० लाख ७७ हजार ७ सय २० कित्ता सेयर खरिद–बिक्री भएको छ । 

प्राविधिक विश्लेषण
आरएसआई : नेप्सेको १४ दिने आरएसआई यस दिन ३० दशमलव १४ स्केलमा पुगेको छ । बजार ओरालो लागे पनि आरएसआई न्युट्रल जोनमा रहनुले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ । 

एडी रेसियो : नेप्सेको एडी रेसियो यस दिन शून्य दशमलव ७२ रहेको छ । यसले बजार बियरिस प्रवृत्तिमा रहेको संकेत गर्छ । यस दिन कारोबारमा आएका १ सय ७२ कम्पनीमध्ये ६१ कम्पनीको सेयरमूल्य बढेको छ भने ८४ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी २७ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ । 

यस दिनको पिभट विश्लेषण गर्दा आगामी कारोबार दिन नेप्से ओरालो लागेर १ हजार २ सय ९ दशमलव ८२ बिन्दुमा पहिलो टेवा पाउने देखिन्छ । सो टेवा बिन्दुबाट पनि तल ओर्लिए नेप्सेले १ हजार २ सय ६ दशमलव ५७ बिन्दुमा टेवा पाउने देखिन्छ । त्यसैगरी, आगामी कारोबार दिन बजार उकालो लागे नेप्सेले १ हजार २ सय १८ दशमलव ६१ बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्नेछ । सो बिन्दुभन्दा माथि गए नेप्सेले १ हजार २ सय २४ दशमलव १५ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ ।

कमाउनेमा सबैको र सिभिल
यस दिन सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड, सिभिल लघुवित्त वित्तीय संस्था र दिव्यश्वरी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले अन्यको तुलनामा बढी कमाएका छन् । यसै दिनदेखि कारोबार सुरु गरेको सबैको लघुवित्तको सेयरमूल्य यस दिन ५ दशमलव ९६ प्रतिशत बढेको छ । सिभिल लघुवित्त र दिव्यश्वरीको सेयरमूल्य यस दिन ५ प्रतिशतभन्दा बढी बढेको छ । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य यस दिन ४ दशमलव ७६ प्रतिशत बढेको छ । सिर्जना फाइनान्स (वित्तीय संस्था)को सेयरमूल्य यस दिन ४ दशमलव ७४ प्रतिशत घटेको छ । त्यसैगरी, विशाल बजार कम्पनी, नेपाल इन्स्योरेन्स र लक्ष्मी भ्यालु फन्डको सेयरमूल्य यस दिन ३ प्रतिशतभन्दा बढी घटेको छ ।  

४ समूहको परिसूचक बढ्यो
यस दिन कारोबारमा आएका १२ समूहमध्ये ४ समूहको परिसूचक बढेको छ भने ८ समूहको परिसूचक घटेको छ । होटेल समूहको परिसूचक यस दिन शून्य दशमलव ५६ प्रतिशत बढेको छ । अन्य समूहको परिसूचक यस दिन शून्य दशमलव ३३ प्रतिशत, जीवन बिमा समूहको शून्य दशमलव ११ प्रतिशत र लघुवित्त समूहको शून्य दशमलव शून्य ८ प्रतिशत बढेको छ । 

व्यापार समूहको परिसूचक यस दिन सर्वाधिक १ दशमलव ७ अंक घटेको छ । त्यसैगरी, निर्जीवन बिमा समूहको परिसूचक शून्य दशमलव ८७ प्रतिशत, वित्त समूहको शून्य दशमलव ६४ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव ३२ प्रतिशत, जलविद्युत् समूहको शून्य दशमलव २७ प्रतिशत, उत्पादनमूलक समूहको शून्य दशमलव २० प्रतिशत, म्युचुअल फन्ड समूहको शून्य दशमलव १४ प्रतिशत र वाणिज्य बैंक समूहको शून्य दशमलव शून्य ६ प्रतिशत घटेको छ ।

सर्वाधिक कारोबार हुनेमा एनआइसी
यस दिन कारोबार रकमका आधारमा एनआइसी एसिया बैंक लिमिटेड अगाडि रहेको छ । सो वाणिज्य बैंकको यस दिन १ सय ३६ पटकको कारोबारमा १ करोड ९१ लाख ४० हजार रुपैयाँबराबरको ४२ हजार १ सय ५३ कित्ता सेयर खरिद–बिक्री भएको छ । सेयरसंख्याका आधारमा यस दिन देवः विकास बैंक अगाडि रहेको छ भने कारोबार संख्याका आधारमा रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड अगाडि रहेको छ । देवःको यस दिन १ लाख ३१ हजार ४ सय ९८ कित्ता सेयर किनबेच भएको छ भने रसुवागढीको ८ सय १२ पटक सेयर कारोबार भएको छ । प्रभु बैंक र कृषि विकास बैंकको कारोबार रकम यस दिन १ करोड नाघेको छ ।

सबैको लघुवित्तको कारोबार सुरु
सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको कारोबार बिहीबारदेखि नेप्सेमा सुरु भएको छ । पहिलो कारोबारका लागि नेप्सेले १ सय दशमलव ८८ रुपैयाँदेखि ३ सय २ दशमलव ६४ रुपैयाँसम्मको मूल्य रेन्ज तोकेको थियो । कम्पनीको स्टक सिम्बोल एसएबिएसएल तोकिएको छ । सो कम्पनीको सेयरमूल्य यस दिन १८ रुपैयाँ बढेर ३ सय २० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

जनता क्यापिटलको साधारणसभा
जनता क्यापिटल लिमिटेडले भदौ २६ गते जनता बैंक लिमिटेड, थापाथलीमा प्रथम वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । सभामा ८ प्रतिशत नगद लाभांश वितरण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने र वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव रहेको छ ।

गणपतिको लाभांश
गणपति माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडले ७ दशमलव ३६८४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । भदौ ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवको सञ्चित मुनाफाबाट ७ प्रतिशत बोनस सेयर र शून्य दशमलव ३६८४ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात् आगामी वार्षिक साधारणसभाबाट पारित गरी सो लाभांश वितरण गरिनेछ ।

सिद्धार्थ बैंकको ऋणपत्र निष्कासन तथा बिक्री खुला
सिद्धार्थ बैंक लिमिटेडले भदौ ५ गतेदेखि ‘१० दशमलव २५ प्रतिशत एसबिएल डिबेन्चर २०८३’ निष्कासन तथा बिक्री खुला गरेको छ । बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँका दरले २५ लाख कित्तामध्ये १० लाख कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको हो । बाँकी १५ लाख कित्ता परिपत्र विधिबाट बिक्री गरिनेछ । सर्वसाधारणका लागि निष्कासन गरिने कुल ऋणपत्रमध्ये ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ । निष्कासन बन्द छिटोमा भदौ ९ गते हुनेछ भने ढिलोमा असोज ५ गते हुनेछ । 

लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । यस ऋणपत्रको अवधि ७ वर्ष रहेको छ । ऋणपत्रको वार्षिक ब्याजदर १० दशमलव २५ प्रतिशत हुनेछ । ऋणपत्रमा आर्जित ब्याज रकममा आयकर ऐनअनुसार कर लाग्नेछ । आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र द्वितीय अर्धवार्षिक समाप्त भएपश्चात् भुक्तानी गरिनेछ । सो ऋणपत्रलाई इक्रा नेपालले इक्राएनपी एलए माइनस रेटिङ प्रदान गरेको छ । यसले कर्जा जोखिम न्यून रहेको संकेत गर्छ । बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।