१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ भदौ ५ बिहीबार १५:३४:००
Read Time : > 1 मिनेट
समाचार

साढे पाँच करोड मूल्यबराबरको कोकिन बरामद

नाइजेरियाबाट कतारको दोहा हुँदै काठमाडौं ल्याई दिल्ली लैजाने योजना

Read Time : > 1 मिनेट
२०७६ भदौ ५ बिहीबार १५:३४:००

पश्चिम अफ्रिकी देश आइभोरी कोस्टका नागरिक साढे पाँच करोड मूल्यबराबरको लागुऔषध कोकिनसहित पक्राउ परेका छन् । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले बिहीबार मार्केल गुहीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले एक किलो ६ सय ग्राम तौलको कोकिन बरामद गरेको छ । अवैध बजारमा कोकिन प्रतिग्राम न्यूनतम ३५ हजार रुपैयाँमा बिक्छ । यस आधारमा बरामद कोकिनको कुल मूल्य पाँच करोड ६० लाख रुपैयाँ पर्ने प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार मार्केलले कोकिन नाइजेरियाबाट कतारको दोहा हुँदै काठमाडौं ल्याएका थिए । बरामद लागुऔषध कोकिनलाई भारतीय बजारमा लैजाने योजनामा उनी थिए । यसका लागि सुटकेसभित्र विशेष खालको फल्स बटन बनाई लुकाइएको थियो । बटनलाई भने विशेष खालको कार्बन पेपरले छोपिएको थियो । सोही कार्बनका कारण विमानस्थलमा राखिएको एक्सरे मेसिनले कोकिन राखिएको सुटकेसलाई पहिचान गर्न सकेन । सुटकेससहित सहजै विमानस्थलबाट बाहिरिएका उनलाई ब्युरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।

ब्युरोका एसएसपी वसन्त लामाले खानतलासी गर्दा कोकिन बरामद गरेको बताए । ‘यसले सुटकेसको फल्सबटनभित्र कार्बन पेपरले ढाकेर लागुऔषध लुकाएको रहेछ । जसले गर्दा विमानस्थलको एक्सरे मेसिनले पहिचान गर्न सकेन र सजिलै विमानस्थलबाट चेक आउट भयो । शंका लागेपछि नियन्त्रणमा लिएका हौँ,’ उनले भने । एसएसपी लामाले अवैध बजारमा कोकिनको मूल्य निकै महँगो पर्ने बताए । ‘कोकिन हार्ड ड्रग हो । यो अवैध बजारमा प्रतिग्राम ३५ हजार रुपैयाँमा बिक्ने गरेको पाइएको छ,’ उनले भने ।

वर्षकै सबैभन्दा ठूलो परिमाणको कोकिन जर्मनीमा बरामद 
न्युयोर्क पोस्टका अनुसार यस वर्षकै सबैभन्दा ठूलो परिमाणको कोकिन जर्मनीमा बरामद भएको छ । बरामद कोकिनको परिमाण ४.५ टन रहेको छ, जसको अवैध बजारमा बिक्री हुने मूल्य एक अर्ब १० करोड अमेरिकी डलर हुन्छ । गत २ अगस्टमा सो कोकिन उरुग्वेबाट पानीजहाज हुँदै जर्मनी ल्याइएको थयो । कोकिनलाई भटमासको पोकोभित्र लुकाइएको थियो । 

संयुक्त राष्ट्रसंघको ‘वल्र्ड ड्रग रिपोर्ट २०१९ अनुसार विगतको तुलनामा सन् ०१७ मा कोकिनको उत्पादन सबैभन्दा धेरै रह्यो । यस वर्ष विश्वमा १९७६ टन कोकिन उत्पादन भएको थियो । यो परिमाण विगतको भन्दा १३ प्रतिशतले धेरै हो । रिपोर्टअनुसार विश्वमा सबैभन्दा धेरै कोकिन उत्पादन गर्ने दक्षिण अमेरिकी मुलुक कोलम्बिया हो । विश्वमा तस्करी हुने कुल बजारको ७० प्रतिशत हिस्सा कोलम्बियामा उत्पादन हुने कोकिनले ओगट्छ । प्रतिवेदनअनुसार विश्वभर कोकिनका दुव्र्यसनी १८ लाख छन् । जसमध्ये अधिकांश अमेरिका, युरोप, जापान, अस्ट्रेलिया र चीनका नागरिक छन्  ।