मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ भदौ ४ बुधबार १७:०१:००
Read Time : < 1 मिनेट
ब्लग

महानगर प्रमुखलाई पत्र

Read Time : < 1 मिनेट
२०७६ भदौ ४ बुधबार १७:०१:००

हामी संस्कृत माध्यमिक विद्यालय रानीपोखरीको कक्षा ८ मा अध्ययन गर्ने विद्यार्थी हौँ । ०७२ सालको विनाशकारी भूकम्पले हाम्रो विद्यालयलाई पनि दुःख दियो । 

हामीले धेरै समय भत्केको भवनको आँगनमा अस्थायी टहरामा बसेर पढ्यौँ । ०७५ असारदेखि रानीपोखरीस्थित पुरानो भवन भत्काएर चीन सरकारले बनाइदिन थालेपछि हामी हाल वाल्मीकि विद्यापीठको चौरमा बनाइएका अस्थायी टहरामा छौँ । हामी पहिल्यैदेखि एउटै भवनमा दुइटा स्कुल भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालयका विद्यार्थी पढ्दै आइरहेका छौँ । नयाँ ठाउँमा सरेपछि हामीलाई बिहानको समयमा पढाइन्छ भने भानु माध्यमिक विद्यालयको दिउँसो पढाइ हुन्छ ।

हामी नयाँ ठाउँमा बसेर पढ्ने कोठा प्रदर्शनीमार्गको सडकसँगै जोडिएको छ । हाम्रो कक्षाकोठा र सडकबीच मात्र एउटा सानो पर्खाल छ । हामीले कक्षाकोठाको झ्याल खोल्दा सडकको फोहोर गनाएर बसिनसक्नु हुन्छ । झ्याल लगाएर बस्दा गर्मी भएर कक्षामा झुपुझुपु निद्रा लाग्छ । हाम्रो विद्यालयको कक्षा बिहान ६ बजेदेखि सञ्चालन हुन्छ । हामी विद्यालय पुग्दा कक्षाअगाडि फोहोरको पर्वत नै हुन्छ । सात बजेतिर त्यही फोहोरलाई उठाउन थाल्दा हामीलाई बसिनसक्नु हुन्छ । वेला–वेलामा ह्वास्स–ह्वास्स गन्ध आइरहन्छ । हामीले यो समस्याबारे प्रधानाध्यापकमार्फत महानगरपालिकालाई पनि अवगत गराइसकेका छौँ । तैपनि, यहाँ फोहोर थुपार्न रोकिएको छैन । त्यसैले हामीले सम्बन्धित निकायको ध्यानाकर्षण गराई समस्या समाधान होस् भनेर यो पत्र लेखेका छौँ ।

विद्यालयका हामीजस्ता बालबालिकाको अधिकारबारे संविधानमा पनि लेखिएको छ । तर, हामीले फोहोरको गन्धबाट मुक्त भएर पढ्ने वातावरण पाएनौँ । त्यसैले, महानगर–प्रमुखज्यू, एकपटक बिहानको समयमा हाम्रो विद्यालयलाई परेको समस्या बुझ्न फुर्सद मिलाएर पैदलै आइदिनुहुन्थ्यो कि ? 

रमेश अधिकारी, निशान्त प्याकु-याल र कक्षा ८ का सम्पूर्ण विद्यार्थी
संस्कृत मावि, रानीपोखरी हाल : वाल्मीकि विद्यापीठ प्रदर्शनीमार्ग