१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
प्रकाश दाहाल सहसचिव
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ ४ बुधबार १०:५९:००
Read Time : > 1 मिनेट
लोकसेवा

पाठकको जिज्ञासा विज्ञको जवाफ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ ४ बुधबार १०:५९:००

 प्रकाश भट्टराईको जिज्ञासा 
पाठ्यक्रमको अन्त्यतिर विभिन्न ऐन छन्, जस्तै– स्थानीय सरकार ऐन– ०७४ । यस ऐनमा धेरै लामो र सबै कुरा उल्लेख गरेको छ, के यो सबै अनिवार्य पढ्नुपर्छ ? यसलाई कसरी पढ्दा उपयुक्त र सहज होला ? 
ऐनहरू पढ्दा त्यसका उद्देश्य, विशेषता र प्रमुख व्यवस्था बनाएर पढ्नुपर्छ । यसका लागि एकपटक ऐन राम्रोसँग पढ्नुपर्छ र सोका आधारमा उद्देश्य, सिद्धान्त, विशेषता र प्रमुख व्यवस्था बनाउनुपर्छ । उद्देश्य र सिद्धान्त प्रस्तावनाका आधारमा बनाउन सकिन्छ भने विशेषताहरू प्रस्तावना र ऐनका व्यवस्थाका आधारमा बनाउन सकिन्छ । ऐनका प्रमुख व्यवस्था ऐनमा उल्लिखित दफाका टाइटलका आधारमा थाहा पाउन सकिन्छ ।

 पदम अधिकारीको जिज्ञासा 
स्थानीय तहको राजस्व परिचालन भन्नाले संकलित राजस्वको सदुपयोग तथा खर्चका क्षेत्रहरू हुन् भन्ने बुझाइ भेटियो । के यो ठिक हो ?
राजस्व परिचालन भनेको विभिन्न स्रोतहरूबाट राजस्व संकलन गर्ने कार्य हो । स्थानीय तहको राजस्व परिचालनमा स्थानीय तहले कुन–कुन क्षेत्रमा कर लगाउने र राजस्व संकलन गर्ने भन्ने विषयहरू पर्छन् । स्थानीय तहको राजस्व परिचालनका मूलतः आन्तरिक स्रोत र बाह्य स्रोत गरी दुई स्रोत हुन्छन् । आन्तरिक स्रोतमा कर राजस्व र गैरकर राजस्व पर्छन् भने बाह्य स्रोतमा अन्तर–सरकारी वित्तीय हस्तान्तरण र स्थानीय ऋण पर्छन् । अन्तरसरकारी वित्तीय हस्तान्तरणमा संघ र प्रदेशले हस्तान्तरण गर्ने समानीकरण अनुदान, ससर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान पर्छन् । स्थानीय तहको राजस्व परिचालनमा यिनै विषयको अध्ययन गरिन्छ । 

 हेमराज न्यौपाने ‘नवीन’को जिज्ञासा 
राजस्व र करमा के फरक छ ? प्रस्ट पार्नुहोस् । 

सरकारलाई प्राप्त हुने सबैखाले आम्दानी राजस्व हो भने कर भन्नाले व्यक्तिको आम्दानी वा व्यवसायको मुनाफा वा कुनै वस्तु, सेवा वा कारोबारमा भएको मूल्य अभिवृद्धिबापत राज्यलाई अनिवार्य रूपमा तिर्नुपर्ने तिरो हो । त्यसैले राजस्व सरकारको समग्र आय हो भने कर राजस्वको प्रमुख स्रोत हो । 

 राजु रानाको जिज्ञासा 
कानुन–निर्मित निकायहरू भन्‍नाले कुन–कुन निकायलाई जनाउँछ ?

कानुन निर्मित निकायहरू भनेका कुनै खास एवं विशिष्ट प्रकृतिको कार्य व्यावसायिक एवं स्वायत्त तवरले सम्पादन गर्न कानुनद्वारा स्थापित स्वायत्त निकाय हुन् । यिनीहरूको गठन, काम, कर्तव्य र अधिकार एवं कार्यविधि कानुनले नै तोकेको हुन्छ । प्राधिकरणहरू, विकास समितिहरू, सार्वजनिक संस्थानहरू, बोर्डहरू आदि यस्ता कानुन निर्मित निकायका उदाहरण हुन् । 
जनताको कर्तव्य र जिम्मेवारीबीच के फरक छ ?
कर्तव्य र जिम्मेवारी फरक–फरक कुरा होइनन् । त्यसैले जनताका कर्तव्य र जिम्मेवारीको एउटै अर्थ लाग्छ । 

 समृद्धि कुमालको जिज्ञासा 
आन्तरिक नियन्त्रण र आन्तरिक लेख‍ापरीक्षण एकै हुन् वा यी दुईबीच केही भिन्नता छ ?

आन्तरिक नियन्त्रण भन्नाले कुनै संगठन वा व्यवसायमा प्रक्रिया, स्रोत–साधन, नतिजा र गुणस्तरको सुनिश्चितताका लागि व्यवस्थापनले संगठनभित्रैबाट विभिन्न विधिको प्रयोग गरी गर्ने नियन्त्रणलाई बुझिन्छ । आन्तरिक लेखापरीक्षण यस्तो आन्तरिक नियन्त्रणअन्तर्गत वित्तीय नियन्त्रण कायम गर्ने 
विधि हो । 

 राजन आचार्यको जिज्ञासा 
नेपालमा कानुन निर्माणको प्रक्रियाबारे उल्लेख गर्नुहोस् । यस प्रश्नको उत्तर लेख्दा विधायिकाबाहेकका निकायको सक्रियतामा कानुन निर्माण गर्ने प्रक्रिया लेख्ने वा विधायिकाको आफ्नै सक्रियतामा कानुन निर्माण प्रक्रिया उल्लेख गर्ने ?

कानुन निर्माण प्रक्रिया लेख्दा विषयगत मन्त्रालय हुँदै मन्त्रिपरिषद्बाट स्वीकृत भएको विधेयकलाई संसद्मा दर्ता गरेपछि संसदीय प्रक्रियाबाट विधेयकमा छलफल, संशोधन र स्वीकृतिसम्मका सम्पूर्ण प्रक्रिया लेख्नुपर्छ । यदि सांसदले निजी विधेयक संसद्मा दर्ता गर्छन् भने त्यस्ता विधेयकको हकमा कानुन निर्माण प्रक्रियामा संसद्भित्र हुने क्रियाकलाप मात्र समेटिन्छन् ।
 
 नरेशराज जोशीको जिज्ञासा 
समावेशी आर्थिक वृद्धि भन्नाले के बुझिन्छ ?

समावेशी आर्थिक वृद्धि भन्नाले आर्थिक वृद्धिका प्रक्रियामा सबै वर्ग, समुदाय, लिंग, जाति, क्षेत्र र उमेरका मानिसको संलग्नता हुने गरी र वृद्धिका लाभहरूको यस्ता सबै समूहबीच समान वितरण हुने गरी गरिने आर्थिक वृद्धिलाई बुझिन्छ ।