Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नवीन अर्याल
२०७५ पौष २२ आइतबार ११:१५:००
Read Time : > 3 मिनेट
फिचर

विदेशी पुस्तक बेच्ने पहिलो पसलको कथा

Read Time : > 3 मिनेट
नवीन अर्याल
२०७५ पौष २२ आइतबार ११:१५:००

अहिले काठमाडौंका फुटपाथमा पनि पुस्तक किन्न पाइन्छ । कतिपय जुत्ता र इलेक्ट्रोनिक्स पसलमा पनि निश्चित लेखकका पुस्तक राखेर ‘यहाँ पाइन्छ’ सूचना झुन्डाइएको छ । तर, आधा शताब्दीअघि पुस्तक पसल औँलामा गन्न सकिने मात्र थिए । 

नेपालको पुरानो पुस्तक पसलमा पर्छ, एडुकेसनल इन्टरप्राइज प्रालि । ५७ वर्ष पुरानो यो पसल अहिले काठमाडौंको महांकालमा छ । निरंकुश पञ्चायती व्यवस्था भर्खर सुरु भएको थियो । पुस्तक लेख्नेहरू कमै थिए । प्रायः प्राध्यापन पेसामा रहेकाहरू पुस्तक लेख्थे, छापिदिने संस्था भने थिएन । विसं २०१८ मा ६ जनाको संयुक्त प्रयासमा खुल्यो एडुकेसनल इन्टरप्राइज । यो इन्टरप्राइजेजले पुस्तक छाप्ने र बिक्री गरिदिने दुवै काम गर्न थाल्यो । लेखकलाई रोयल्टी पनि दिन थाल्यो । 

त्यतिवेला पुस्तक पसल ज्यादै कम थिए । एडुकेसनलमा प्राध्यापक र विद्यार्थीको भिड लाग्थ्यो । पाठकले खोजेका विदेशी लेखकका पुस्तक बाहिरबाट मगाउने गरेको थियो । अहिले एडुकेसनल इन्टरप्राइज स्थापना गर्ने कोही पनि यसमा संलग्न छैनन् । माेहन बहादुर श्रेष्ठ यो पसलका एक्ला हकदार हुन् । श्रेष्ठ ६७ पुगिसके । पसलमै बस्न थालेको ५० वर्ष पुगिसक्यो । उनी गर्वसाथ सुनाउँछन्, ‘नेपालमा पुस्तक व्यवसायको जग हामीले बसाल्यौँ ।’ एडुकेसनल इन्टरप्राइज खुल्नुअघि रत्नपुस्तक भण्डार, हरेक पुस्तक भण्डार खुलिसकेका थिए । त्यस समय पाठक पनि कम थिए, लेखक पनि । पुस्तक बिक्री गर्ने पसल भेटिँदैनथे । हजार किताब पनि छाप्न नसकिने अवस्था थियो । 

 प्राध्यापकहरूले सुरु गरेको पसल
विश्वविद्यालयमा नेपाली भाषाका पुस्तकको अभाव थियो । अंग्रेजी वा हिन्दी भाषामा लेखिएका किताब पढाउनुपथ्र्यो । श्रेष्ठका भिनाजु स्व. युवराजसिंह प्रधान अंग्रेजी पढाउँथे । पुस्तक पनि लेख्थे । पुस्तक लेखे पनि छाप्ने र बेच्ने मान्छे थिएनन् । अरू प्राध्यापकको पनि समस्या उही । युवराजसिंह प्रधानले अन्य प्राध्यापकसँग मिलेर पब्लिकेसन र पुस्तक पसल खोल्ने निधो गरे । प्रधानले ससुरा स्व. आनन्दबहादुर श्रेष्ठको पनि सहयोग लिए । आनन्दबहादुर श्रेष्ठका ठूलोबुबा हुन् । विश्वविद्यालयमा पढाउने प्रध्यापकहरू गोपालमान श्रेष्ठ, डा. रामप्रसाद राजवाहक, चन्द्रधर उप्रेती, शरणहरि श्रेष्ठ, युवराजसिंह प्रधान, आनन्दबहादुर श्रेष्ठलगायतले एडुकेसनल इन्टरप्राइज खोले । त्यतिवेला पब्लिकेसन हाउस र पसल सुरु गर्ने शरणहरि मात्र जीवित छन् ।

व्यवसायमा पनि संलग्न भएका सबै प्राध्यापक आ–आफ्नो विषयमा लेख्थे । ‘त्यसताका भिनाजु युवराज सिंहले लेखेको नेपाली भाषाको अर्थशास्त्र परिचय निकै चर्चित भयो । श्रेष्ठ भन्छन्, ‘अर्का प्रोफेसरले लेखेको व्यावसायिक पद्धति पनि धेरै नै बिक्री भयो ।’ युवराज सिंहकै ‘एसएलसी ग्रामर’ किताब पनि धेरै बिक्री भएको थियो ।


 

दिल्ली र बनारसबाट आउँथे पुस्तक
त्यतिवेला नेपाली पुस्तक रत्न पुस्तक भण्डार र साझाबाट ल्याएर बेच्थे । अंग्रेजी पुस्तक दिल्ली र बनारसबाट ल्याउँथे । तर, विदेशबाट किताब झिकाउन गाह्रो थियो । एडुकेसनल इन्टरप्राइजेजका सञ्चालक दिल्ली र बनारस पुगेर पाठकले चाहेको पुस्तक खोजेरै ल्याउँथे । ‘हामी तखताभरि पेन्गुइन पब्लिकेसनका किताब लहरै राख्थ्यौँ,’ पसलको एउटा भागलाई देखाउँदै उनले भने, ‘पेन्गुइनका प्रतिनिधि नेपाल आउँदा आफ्नो प्रकाशनका त्यति धेरै पुस्तक देखेर छक्क पर्थे ।’

अक्सफोर्ड, म्याकमिलनलगायत ब्रिटिस पब्लिसर्सका इन्डियामा रहेका एजेन्सीमार्फत नेपालमा किताब ल्याउने गरेको उनी बताउँछन्  । ‘नेपालमा विदेशी किताब बिक्री गर्न हामीले नै सुरु गरेका हौँ,’ उनी दाबी गर्दै भन्छन्, ‘हामीले पुस्तक ल्याउँदा विदेशी एजेन्टहरू पनि छक्क पर्थे, नेपालीले विदेशी किताब पढ्छन् र ? भनेर सोध्थे ।’

उनी आफैं पनि किताब ल्याउनकै लागि वर्षमा दुईदेखि तीनपटक भारत पुगेका हुन्थे । अहिले पनि वर्षमा दुईपटक जति जान्छन् । सुरुवाततिर विदेश गएर फर्किने साथीभाइ र आफन्तले पनि किताब बोकेर ल्याइदिएको उनलाई सम्झना छ । विदेशमा हुने पुस्तक प्रर्दशनीमा पनि भाग लिन्थे । 

 यसरी स-यो बिरासत
एजुकेसन इन्टरप्राइजेजको हर्ताकर्ता ठूलोबुबा आनन्दबहादुर श्रेष्ठ नै थिए । श्रेष्ठको पनि पुस्तक व्यवसायमा रुचि थियो । त्यही रुचि देखेर ठूलोबुबाले व्यवसायको जिम्मेवारी उनैलाई सुम्पिए । पछि उनका दुई भाइले पनि पुस्तक व्यवसायमै रुचि देखाए । श्रेष्ठले महांकालको पुरानो पुस्तक पसल सम्हाले । माइलो भाइले प्रकाशन कम्पनी सम्हाले । कान्छोले जमलमा एडुकेशनल बुक हाउस खोले । 

पसल भएको भवन गुठीको हो । सुरुमा भाडा पनि सस्तो थियो । तर, अहिले एक लाख २० हजार पुगिसकेको छ । भाडाकै लागि दैनिक चार हजार छुट्याउनुपर्छ । 

उनको पसल सहरकै केन्द्रबिन्दुमा छ । तर, ठाउँ नै अस्तव्यस्त छ । पार्किङको सुविधा छैन । पुस्तक पसल पुग्न पनि असुविधा छ । सहरका चोक र गल्लीमा पुस्तक पसल खुलिसकेका छन् । स्कुल र कलेजअगाडि नै पुस्तक भेटिन्छन् । अब पाठकहरू पुस्तक खोज्दै महांकाल धाउँदैनन् । त्यसैले चर्को भाडा तिरेर पुस्तक पसल चलाइराख्न समस्या हुन थालेको उनी बताउँछन् ।

 पाठक बढाउन प्रदर्शनी
पहिला न किताब पाइन्थ्यो, न पाठक । पाठक बढाउन पुस्तक प्रदर्शनीले महत्वपूर्ण भूमिका खेलिरहेको छ । नेपालमा आफूहरूले नै पुस्तक प्रदर्शनी सुरु गरेको श्रेष्ठको दाबी छ । करिब ३० वर्षअघि पेन्गुइनका पुस्तक ल्याएर कान्तिपथको ब्रिटिस काउन्सिलको लाइब्रेरीमा हप्ता दिनसम्म प्रदर्शनी गरेको उनलाई अझै सम्झना छ । काठमाडौंका पुस्तकप्रेमी प्रर्दशनीस्थल धाएरै किताब किन्थे । एडुकेसनल इन्टरप्राइजले झन्डै १२ वर्षसम्म हरेक वर्ष नेपाल–भारत सांस्कृतिक केन्द्रमा पनि प्रर्दशनी ग-यो ।

‘त्यो वेला दिल्ली गएर किताब छानेर ल्याई प्रर्दशनीमा राख्ने गरेको श्रेष्ठ बताउँछन् ।  विगत २५ वर्षदेखि भइरहेको पुस्तक मेलाको कहानी भने अर्कै छ । तत्कालीन समयका प्रमुख किताब प्रकाशक तथा विक्रेता मिलेर ‘नेपाल बुक सेलर्स एन्ड पब्लिसर्स एसोसियसन’ गठन भयो । संघका संस्थापकमा एडुकेसनल इन्टरप्राइज, रत्नपुस्तक भण्डार, मन्डला बुक प्वाइन्ट, एकता बुक्सलगायत थिए । त्यही संस्थाले २५ वर्षदेखि पुस्तक मेला आयोजना गरिरहेको छ । वर्षको एकपटक काठमाडौंको भृकुटीमण्डपमा पुस्तकको कुम्भमेला नै लाग्छ ।