Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ भदौ ४ बुधबार ०९:५७:००
Read Time : > 2 मिनेट
अर्थ

नेपाल वायुसेवा निगमको ओसाका उडान १२ भदौदेखि

Read Time : > 2 मिनेट
२०७६ भदौ ४ बुधबार ०९:५७:००

नेपाल वायुसेवा निगमले भदौ १२ गतेदेखि जापानको ओसाका नियमित उडान गर्ने भएको छ । निगमले मंगलबार एक कार्यक्रमको आयोजना गरी उडानका लागि आवश्यक सम्पूर्ण प्राविधिक तयारी पूरा भएको जानकारी दिएको हो । निगमले एयर बस ३३० ठूलो जहाज ओसाका उडानका लागि तयारी गरेको छ । २७४ सिट क्षमता भएको उक्त जहाज हप्तामा तीनवटा उडान गर्ने गरी फ्लाइट सेड्युल तयारी गरिएको निगमका कार्यकारी अध्यक्ष मदन खरेलले बताए । निगमले जापानको नारितामा समेत उडानका लागि प्रक्रिया अगाडि बढाएको छ । तत्कालका लागि भने ओसाकाबाट उडान सुरु गरिने कार्यकारी अध्यक्ष खरेलले बताए । ‘ओसाकामा अपरेसनल चाँडो पाइने भएकाले हामीले पहिला ओसाको प्रक्रिया सुरु गरेका हौँ,’ उनले भने, ‘आगामी जनवरीदेखि नारितामा पनि उडान सुरु गर्ने लक्ष्य लिएका छौँ ।’ निगमले ओसाको दुईतर्फी भाडा औसत १ लाख रुपैयाँ हुने बताएको छ । तर, प्रवद्र्धनका लागि सेप्टेम्बर महिनासम्मका लागि ७२ हजार रुपैयाँ तोकेको छ । 

एक वर्षभित्रमा ८० प्रतिशत सिट बुकिङ हुने
नेपाल वायुसेवा निगमका अध्यक्ष खरेलले आगामी एक वर्षभित्र ओसाका उडानमा ८० प्रतिशत सिट अकुपाई हुने दाबी गरेका छन् । कुनै पनि मुलुकको कुनै पनि एयरलाइन्सले पहिलो उडानमा नै पूरै बुकिङ नपाउने बताउँदै निगमले पहिलो उडानमा ५० प्रतिशत यात्रु पाउनुलाई पनि सफलता मान्नुपर्ने उनले बताए । तर, निगमको छवि बिग्रिएका कारण आगामी १२ गतेको उडानलाई समेत शंका गरिएको उनले बताए । यद्यपि, कुनै पनि हालतमा निगमले उडान सुरुवात गर्ने उनले दाबी गरे । ‘हामीले ट्राभल एजेन्सीसँग कुरा गरेका छौँ,’ उनले भने, ‘आगामी एक महिनाभित्र कुनै न कुनै उपाय निकालेर टिकट बिक्री बढाउनेछौँ ।’ निगम गत जुलाईदेखि नै उडान सुरु गर्ने तयारी गरेपछि यात्रु चाप कम भएपछि उडान सुरु मिति सारेको थियो । 

२५ जना मिश्रित पाइलट टोलीले उडाउनेछन् जहाज
निगमले एयर बस ३३० जहाज ओसाका उडानका २५ जना मिश्रित पाइलट तयार पारेको छ । निगमका अनुसार १० जना नेपाली र १५ जना विदेशी पाइलट रहनेछन्, जसमा १२३ जना क्याबिन क्रु हुनेछ । निगमले क्याबिन क्रुलाई अगस्ट २२ देखि २४ सम्म सिंगापुरमा तालिमका लागि पठाउने भएको छ । दक्ष कामदार निर्माणका लागि निगमले क्रु सदस्यलाई जापानी संस्कृति र भाषाका विषयमा तालिम दिने भएको छ । 

निगमले ओसाकामा जेटएक्स भन्ने कम्पनीसँग फ्युल एजेरमेन्टका लागि सम्झौता गरेको छ । मर्मतका लागि सिंगापुर एयरलाइन्सको जापानको एसआइए कम्पनीसँग सम्झौता गरेको छ । ग्राउन्ड ह्यान्डलिङका लागि सिकेएस कम्पनीसँग सम्झौता भएको छ । नारितामा भने वल्र्ड भ्यू सर्भिसेज कम्पनीसँग सम्झौता भएको निगमले जानकारी दिएको छ । मर्मतका लागि एसआइए र ग्राउडेन्डका लागि जापान एयरलाइन्ससँग सम्झौता भएको छ । 

निगमले नागरिक उड्डयन प्राधिकरणबाट एयर अपरेटिङ परमिट पाइसकेको छ भने रुट एनालाइसिसको प्रक्रिया पनि पूरा गरेको छ । निगमले चीनको गोन्जाओ रियात र जापानको नारितामा पनि उडानका लागि आवेदन प्रक्रिया अगाडि बढाएको छ । त्यस्तै, बेइजिङ, सांघाई, बंगलादेश, म्यानमार, भियतनाम र कोलम्बोको समेत बजार अध्ययन गरिरहेको छ । उपयुक्त र नाफामुखी देखिएका उडान सुरु गर्ने निगमले बताएको छ ।

१२ वर्षपछि ओसाका पुनः उडान सुरु
नेपाल वायुसेवा निगमले १२ वर्षपछि जापानको ओसाकामा पुनः उडान सुरु गर्न लागेको हो । निगमले १९९४ अक्टोबर ३० बाट काठमाडौं–सांघाई–ओसाका उडान सुरु गरेको थियो । तत्कालीन समयमा निगमले काठमाडौं–सांघाई–ओसाका उडान भर्दै आएको थियो । तर, प्राविधिक उपकरणको कमी तथा अप्रत्यक्ष उडानका कारण निगमले २००७ देखि ओसाका उडान सस्पेन्ड गरेको थियो । सोही उडानलाई निरन्तरता दिन निगम भदौदेखि ओसाका सीधा उडान गर्ने भएको छ । त्यतिवेला निगमले २ लाख ३५ हजार २४२ यात्रु उडाएको थियो भने २१ सय ६५ टन कार्गो बोकेको थियो ।